समाचार

दमक ।
कवि चन्द्र सम्बाहाम्फेको कविता कृति ‘पहाडको पैताला’ माथि विमोचन तथा चर्चा–परिचर्चा सम्पन्न भएको छ । कार्यक्रम श्रष्टा पब्लिकेसन्स दमकको प्रायोजन तथा युट्युब च्यानलको सह–प्रायोजनमा आयोजना गरिएको हो ।
श्रष्टा पब्लिकेसन्सका अध्यक्ष सुन्दर कुरुपको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि आख्यानकार कृष्ण बराल, विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सभा सदस्य सुमित्रा चेली, तथा अतिथी कवि प्रकाश बुढाथोकी र उर्लाबारीका स्वास्थ्यविद् एवं कवि डा. बालचन्द्र सुब्बा रहनुभएको थियो । सभाको सञ्चालन राजकुमार सुब्बाले गर्नुभएको थियो ।
परिचर्चामा कवि देवान किराँती, उपन्यासकार कुमार भट्टराई र कवि सुजिता बस्यालले सहभागिता जनाउनुभएको थियो भने डा. बालचन्द्र सुब्बाले कृतिप्रति शुभकामना व्यक्त गर्नुभएको थियो । ‘पहाडको पैताला’ बाट आधा दर्जन कविहरूले कविता वाचन गर्दै कविलाई हौसला प्रकट गर्नुभएको थियो । वाचनमा सहभागीहरूमा साङ्सेन पन्धाकले ‘चौधरी बजु’, विवेक दुलाल क्षेत्री (दमक) ले शीर्षक कविता ‘पहाडको पैताला’, मिश्र गुरुङले ‘ढुङ्गा’, निहाङ किरातीले ‘अस्पताल’, जय मोक्तानले ‘पण्डित बाजेले नसुनाएका कथाहरू’ र रचना लावतीले ‘माङ्गधाने कान्छी’ प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा झन्डै चार दर्जन साहित्यकार, पत्रकार तथा पाठकहरूको उपस्थितिले माहोल उत्साहपूर्ण बनेको थियो। सहभागीहरूमा दिलिप राई ‘सगर’, कृष्ण उदासी, हेम अधिकारी, रामकुमार उपाध्याय, अम्बिका सापकोटा, याम थुलुङ, अज्ञात दधी, गोपाल दहाल, शाश्वत ढुंगाना, रुमानी कुलुङ, केशब आचार्य, अशोक बर्देवा अबिरल, हिमाल लिम्बू गुराँस, युग बोधी राई, एन.बी. दहाल नवीन, सुजन सिरेङ चङ्बाङ, किशोर खनाल, बिनोद थापा, कुमारी थाम्सुहाङ, जेनी राई, देवी राई र एलिसा राई रहनुभएको थियो । साहित्य र सिर्जनाप्रतिको प्रेमले भरिएको यो कार्यक्रममा विमोचित ‘पहाडको पैताला’ लाई समकालीन नेपाली कविता यात्रामा महत्वपूर्ण योगदान गर्ने कृति भनेर सराहना गरिएको छ ।