९ वैशाख, २०७९
निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको ‘याकजी’ निबन्ध संग्रहको विमोचन भएको छ । प्राज्ञ तथा प्रसिद्ध नाटककार अशेष मल्लले विमोचन गरेको उक्त नियात्रा कृतिमा तल्लो र माथिल्लो डोल्पाको भूगोल, संस्कृति, जनजीवन र विकटताको वर्णन छ । विमोचनपछि नाटककार मल्लले भने– ‘डोल्पाली समाजको असाध्यै सुक्ष्म वर्णन गरिएको यो कृतिकला र शिल्पको हिसाबले महत्वपूर्ण छ । यो कृतियात्रा मात्रै नभएर सामाजिक रूपमा गहिरो अध्ययन गरिएको विशेष ग्रन्थ हो ।’
समालोचक महेश पौडेलले भने– ‘याकजी उपल्लो डोल्पाको समग्र अध्ययन र साहित्यिक स्वाद दिनको लागि सक्षम भएको छ । विवरण भन्दा अध्ययन र अनुसन्धानले भरिभराउ यो कृतियात्रा लेखनको एक मानक ग्रन्थ बन्न सकेको छ ।’
उनले भने– ‘नयाँघरे शैली यहाँ पनि हामी मज्जाले भेट्न सक्छौं ।’
याकजी नेपाली यात्रा साहित्यमा एक अमूल्य कृतिका रूपमा आएको बताउँदै कला, शिल्प र शैलीको एक विशेष र चमत्कारिक अनुहार पुस्तकमा भेट्न सकिने बताए । उनले निबन्धकार नयाँघरले डोल्पाली समाजलाई अत्यन्तै सूक्ष्म र विशेष कलाकारिताका साथ प्रस्तुत गर्न सफल भएको बताए । कला, शिल्प र शैलीको एक विशेष र चमत्कारिक स्वाद हामी यहाँ भेट्न सक्छौँ । नयाँघरेको मौलिक भाषिक प्रयोग र ठेट नेपालीपनलाई यहाँ पनि आत्मसात् गरिएको अनुभव गर्न सकिन्छ । डोल्पाली समाजलाई अत्यन्तै सुक्ष्म र विशेष कलाकारिता प्रस्तुत गरी लेख्नमा नयाँघरे सफल छन् ।’
यस्तै समालोचक तथा प्रा.डा. सिर्जना शर्मा उप्रेतीले ‘नयाँघरेको लेखनबाट आफू प्रभावित भएको र ‘याकजी’ पढ्न पढ्दा हिमाली सभ्यता, संस्कृति र रहन सहन थाहा पाउन सकिने बताइन । याकजीका लेखक युवराज नयाँघरेले आफ्ना लेखकीय अनुभव बताउँदै कर्णालीको विकट क्षेत्रको यात्राबाट आफूले जीवनकै गहिरो दर्शन प्राप्त गरेको धारणा प्रस्तुत गरे ।
नयाँघरेले भने ‘डोल्पा नेपालको एउटा विशेष प्रतिबिम्व हो । विकटता भित्र रहेको सरलता र शान्तिको एक विशेष अनुभूतिका लागि हामीले यी भूभागहरू घुम्नु पर्छ । यो यात्राबाट मैले समाज र सरकारलाई हेर्ने एउटा फरक भावना हुर्काएको छु । देश चिन्नका लागि डोल्पा एक विशेष स्थान हो । हरेक व्यक्तिले समय, समाज र संस्कृतिको समग्र अवस्था अध्ययनका लागि डोल्पा जस्ता विकट र कष्टकर भूभाग एक पटक भ्रमण गर्नुपर्छ ।’
नयाँघरेको यो कृतिमा तल्लो र माथिल्लो डोल्पाको भूगोल, संस्कृति, जनजीवन र विकटताको वर्णन गरिएको छ । नियात्राकार नयाँघरेको यो १८औंँ कृति हो । रत्न पुस्तक भण्डारबाट प्रकाशित यो कृति लगायत उनका आठ वटा नियात्राका कृति प्रकाशित छन् । मदन पुरस्कारलगायत विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित एवं पुरस्कृत नयाँघरे नेपाली निबन्ध र नियात्रा साहित्यका प्रतिनिधि लेखक मानिन्छन् ।