कहानी-भोजपुरी

(स्वरसम्राट नारायणगोपाल यस संसारबाट बिदा भएको ३१ वर्ष भएछ । तर पनि उनको गायन र स्वभावको चर्चा आजसर्यन्त चलि नै रहेको छ । उनी जति महान् गायक थिए, त्यति नै मुडी पनि थिए । नारायणगोपालसँग व्यक्तिगत र सिर्जनात्मकरूपमा लामो सङ्गत गरेका वरिष्ठ गीतकार चेतना कार्कीको यो विशेष संस्मरणलेख पाठकका लागि निश्चय नै रोचकसामग्री होला भन्ने अपेक्षाका साथ उनको ३१ पुण्यतिथिका अवसरमा प्रस्तुत गरिएको छ । यो लेख नारायणगोपाल सङ्गीतकोषद्वारा प्रकाशित ‘बागीना– नारायणगोपाल स्मृतिअङ्क’ बाट साभार गरिएको हो ।)
अर्थशास्त्रमा ‘धन’ को जुन परिभाषा दिइएको छ, त्यस परिभाषासित सम्भवतः मेरो सोचाइ मेल नखाला, कारण ‘उपयोगिता’ लाई म सूक्ष्म रूपले पनि लिन्छु, स्थूल रूपले मात्र हैन । आजको भौतिक युगमा कलात्मक सोचाइ विसङ्गतिपूर्ण ठहर्छ भने म के गरूँ ? त्यसैले जब विश्वबैङ्कको प्रतिवेदनमा नेपाललाई विश्वका सबैभन्दा गरिब मुलुकहरूको तालिकामा पनि सबैभन्दा तल देखाइन्छ, मेरो मन मान्दैन । कुन्नि के मापदण्ड राखेका छन् अर्थशास्त्रीहरूले, धनी र गरिब छुट्याउने ?
प्राकृतिक सौन्दर्यको धनी नेपाल, स्वाभिमानको धनी नेपाल, बीरत्वको गौरवले धनी नेपाल, आज निर्धनताको तालिकामा सबैभन्दा तल ??? अनेकतामा एकताको अनुपम उदाहरण रहेको नेपाल, विश्वको सबैभन्दा शान्त देश नेपाल, विभिन्न संस्कृतिहरूको साझा र रम्य क्रीडाभूमि नेपाल, अपरिमित जलस्रोतको धनी देश नेपाल आज गरिब रे !!!
यदि अर्थशास्त्रीहरूको कुरा साँचो हो भने, यस गरिब देशको निर्धनतामाथि अर्को कुठाराघात गरेको छ निर्मम नियतिले । अरू जम्मै गुमेका धनहरूलाई त फर्काएर पनि ल्याउन सकिएला तर के दैवले असमयमै चुँडेर लगेको, वर्तमान नेपाली सुगम सङ्गीतको अनुपम धन फर्काएर ल्याउन सकिएला ?
अतिशयोक्ति लाग्नसक्छ मेरो भनाइ कसैकसैलाई । आ-आफ्नै किसिमको वैचारिक स्वतन्त्रता सबैलाई छ तर यस सत्यलाई नकार्न जुनसुकैलाई पनि गाह्रै पर्ला कि विगत तीन दशकदेखि, धुवताराझैँ जगमगाइरहेको, एउटा विलक्षण स्वरको अवसानले, नेपाली सुगम सङ्गीतको आकाशमा जुन रिक्तता व्याप्त भएको छ, त्यसको क्षतिपूर्ति असम्भव नभए पनि सहज छैन ।
देशको राजनीतक अखडामा कुस्ती लड्ने पहलवानहरूका लागि, यो क्षति साधारण हुनसक्ला र समवेदनाका दुई चारौटा औपचारिक शब्दहरू भन्दैमा उनीहरूको कर्तव्यको इतिश्री हुनसक्ला, कलाका क्षेत्रमा राजनीति गर्नेहरूका लागि पनि यो क्षति सस्तो लोकप्रियता हासिल गर्ने एउटा माध्यम बन्नसक्ला, तर लाखौँलाख सङ्गीतप्रेमी नेपालीहरूलाई भने, यस क्षतिले स्तब्ध बनाएको छ, मर्माहत तुल्याएको छ, स्व. नारायणगोपालका रूपमा एउटा बहुमूल्य कला-धन गुमाएको छ, गरिब नेपालले ।
कस्तो विडम्बना छ भाग्यको । बाँचुन्जेल सदैव विवादका विषय रहेका स्व. नारायणगोपाल, यस नश्वर संसारबाट टाढा गएपछि अनश्वर हुन पुगेका छन् ।
विवाद पनि अरू कारणले हैन । उनको एकहोरोपनले गर्दा, उनमा व्यावहारिकताको अभावले गर्दा, स्वभावको जुन खरोपनलाई ‘अहं’ र ‘घमण्ड’ को विशेषण दिइएको थियो । कसैका सामु झुक्न नसक्ने उनको विशेषता ‘घमण्ड’ बन्न पुगेको थियो भने उनको कलालाई निहित स्वार्थका लागि कसैले उपयोग गर्न खोज्दा, उनले खरो भाषा प्रयोग गरे भने त्यसलाई ‘अहङ्कार’ को संज्ञा दिइएको थियो ।
यस सत्यलाई म पनि नकार्न चाहन्न कि ‘फलेको हाँगो नुहुन्छ’ भन्ने उक्ति उनीमाथि चरितार्थ हुँदैनथ्यो तर तथ्य कुरै नबुझी, सुनेको भरमा मात्र, म स्व. नारायणगोपाल त के, कसैका उपर लगाइने आरोपसित पनि सहमत हुन सक्दिनँ ।
कुनै पनि क्रियाको समान र विपरीत प्रतिक्रिया हुन्छ भन्ने न्यूटनको गति-सिद्धान्तसित सहमत नहोला ? स्व. नारायणगोपाल ख्यातिको जुन विन्दुमा पुगेका थिए, त्यहाँ पुगेको कुनै पनि व्यक्तिले सुहाउँदो सम्मानको अपेक्षा राख्नुलाई के घमण्ड भन्न मिल्छ ? उनको नाउँको प्रचार गरेर ‘शो’ को टिकट बिक्री गर्नेहरूले, त्यस ‘शो’ बाट उठेको धन, परोपकारका नाउँमा ‘हाम’ पर्न खोज्दा, यदि उनले आफ्नो समुचित अंश असुल गर्न खोजे भने त्यसलाई अनुचित भन्न मिल्ला ? एउटा उदीयमान कलाकारले आफ्नो कलाको प्रदर्शन गर्न, ख्याति आर्जन गर्न खोज्दा, आयोजकहरूसित कुनै सर्त राख्न मिल्दैन होला, त्यो व्यावहारिक पनि ठहर्दैन होला, तर स्व. नारायणगोपालले त ख्यातिको चरम-विन्दु छोइसकेका थिए, उनलाई आफ्नो प्रचारको के लोभ ?
के कलाकार ‘वाह वाह’ को भरमा मात्र बाँच्न सक्छ ? आफूप्रति, आफ्नो परिवारप्रतिको उसको उत्तरदायित्व, ‘वाह वाह’ ले मात्रै पूरा हुन्छ ? गायनबाहेक, अर्थोपार्जनको उनको अर्को कुनै स्रोत थिएन, न कुनै व्यापार थियो उनको, न पैतृक सम्पदाको प्रचुर भण्डार, रेकर्डबाट, क्यासेटबाट र मञ्च वा चलचित्र गायनबाट उनी पारिश्रमिक र ‘रोयल्टी’ माग गर्थे भने, त्यसका लागि उनीमाथि धनलोलुपताको आरोप किन ? ‘कला-कलाको लागि’ मात्र भनेर हिँड्ने कलाकार भोकै मर्छ तर ‘कला-जीवनका लागि’ भन्ने कलाकार बाँच्छ पनि, लामो समयसम्म कलाको सेवा पनि गर्न सक्छ ।
झट्ट हेर्दा स्व. नारायणगोपालको व्यवहार असह्रानीय हुन्थ्यो तर विचारेर विश्लेषण गर्दा त्यसलाई अनुचित भन्न मिल्दैन्थ्यो- लेखकको, नारायणगोपालसित लामो व्यक्तिगत सम्पर्क रहेको छ । अभिन्नता थियो भन्दिनँ तर हामी दुवैबीच औपचारिकता थिएन । सधैँ ठोकबाजी चलिरहन्थ्यो । एक अर्कालाई जिस्काउँथ्यौँ पनि । वि.सं. २०१८ देखि नै म सान्बाबुको (निकट परिचितले उनलाई यसै नामले बोलाउँथे) स्वरको प्रशंसक थिएँ । यद्यपि ‘परिवर्तन’ चलचित्रको निर्माण हुने वेला (२०२५ सालमा) मात्र उनी र मेरोबीच गीतकार र गायकको सम्बन्ध कायम हुन आयो तर परिचय र प्रगाढता त्योभन्दा धेरै अघिदेखि थियो । म यदाकदा भन्ने गर्थें- ‘जस्तो स्वर तिमीलाई भगवानले दिएको छ त्यस्तै बानी बेहोर पनि दिएको भए’ उनी ‘हेँ हैँ हैँ’ गर्दै हाँसेर जवाफ दिन्थे- ‘तिमीलाई पनि त भगवानले मीठो स्वर दिनुपर्ने हुन्थ्यो कि त ?’ मेरो टर्रो स्वरप्रति उनको टिप्पणी हुन्थ्यो ।
‘परिवर्तन’ को गीत रेकर्डिङ्का लागि हामीहरू कलकत्ता गएका थियौँ । सङ्गीत निर्देशक थिए ह्वी. बलसारा । रेकर्डिङ्भन्दा करिब एक साता अगाडि नारायणगोपाल, तारादेवी र मीरा (हाल मीरा राणा) आइपुगेका थिए । चलचित्र निर्देशक स्व. हीरासिंह खत्री, म र तीर्थ शेरचन त्यसभन्दा दुईतीन दिनअघि पुगिसकेका थियौँ । गायक-गायिकाहरू आइपुगेपछि अभ्यासका लागि प्रत्येक साँझ ह्वी. बलसराको निवासमा जाने गरिएको थियो । नारायणगोपालका भागमा मोन्टाज गीत र तीनोटा लोकगीतहरूमा मुख्य स्वर दिने थियो तर तारादेवी र मीराका भागमा एकुन्टा एकल गीत पनि थिए । रेकडिङ् भोलि जसो, आज बिहान नौ बजेतिर चलचित्रका निर्देशक स्व. श्री हीरासिंह खत्री आएर मलाई भन्नु भो-‘अरे यार । तिम्रो त्यो नारायणगोपाल त कस्तो मान्छे रहेछ । म गाउँदिन, काठमाडौँ जान्छु, भन्छ ।’ म छक्क परेँ । त्यो त नभन्नुपर्ने, मैले कोठामा गएर नारायणगोपालसित सोधेँ । उनले ठुस्केर भने- ‘त्यो नयाँ केटीले (मीराले पहिलोपटक, ‘परिवर्तन’ बाट चलचित्र गायनमा प्रवेश गरेकी हुन्) समेत ‘सोलो’ गीत गाउने, मैले ‘कोरस’ मा मात्र ?’ मलाई पनि झोँक चल्यो, भनेँ-‘यो कुरा त तिमीलाई काठमाडौँमै थाहा थियो, त्यति वेला किन नभनेको त ? अहिले आएर, यत्तिका दिन रिहर्सलमा समेत भाग लिएर, भोलिको रेकर्डिङ्, आज गाउँदिन भन्ने ?’
नारायणगोपालले जवाफ दिएनन्, मैले होटलको गेटनेर कारमा बसिरहनु भएका हीरासिंह काकालाई उनको गुनासो सुनाइदिएँ । एकछिन मौन रहेर उहाँले भन्नु भो- ‘त्यसो भा एउटा ‘सोलो’ लेखेर तुरून्त बलसाराकोमा पुर्याईदेऊ ! मैले झिजिएर भनेँ- ‘कुन सिचुएसनलाई लेख्ने ? कहाँ राख्ने ? पटकथामा मिल्नु परेन ?’ ‘अरे यार ! एउटा प्रेममा ‘सिकायत उकाएत’ गरेको लेखिदेऊ, सिचुएसन पछि मिलाउँला ।’ आदेशको अवहेलना गर्ने कुरा भएन, मैले मेरो ‘रूममेट’ श्री तीर्थ शेरचनलाई वस्तुस्थिति सम्झाएर गीत लेख्न बसेँ । त्यसै दिन १२ बजेतिर बलसाराकहाँ पुर्याई पनि दिएँ- त्यस दिन साँझ अभ्यासका लागि उनकोमा सबै पुग्यौँ, उनले हाँस्दै भने-‘नारायणजी ! आपके लिए एक बढिया चीज छुपाकर रखी है, आइए, रिहर्सल करते हैँ !’
बलसाराले प्रिल्युड बजाए पियानोमा अनि स्थायी गुनगुनाएर सुनाए, गम्भीर बसिरहेका नारायणगोपाल आह्लादले उफ्रे- ‘वाहा दादा वाह ! बहुत अच्छा है ।’ सुविज्ञ पाठक । त्यो गीत थियो ‘बुझ्नै सकिनौ तिमीले, आँखाको भाखा मेरो, हजार अर्थ अरूले लाएर के गरूँ !’
लेखकका अन्य रचनाहरू पनि गाएका छन् नारायणगोपालले । त्यति मात्र हैन सम्भवतः लोकगीत र लोकलयमा आधारित गीत सर्वप्रथम नारायणगोपालबाट गाउन लगाउने श्रेय पनि लेखकलाई नै छ, तर उपरोक्त ‘सोलो’ गीतभन्दा मधुर आफ्ना रचनामध्येका कुनै गीत पनि लेखकलाई (नारायणगोपालद्वारा गाइएका मध्ये) लाग्दैन ।
आज सोच्छु, उनले कोरस मात्रै गाउँदा आफ्नो मर्यादा कम भएको अनुभव गर्नु सम्भवतः गलत थिएन । अर्को एउटा घटना- ‘कान्छी’ चलचित्रका लागि गीत रेकर्ड गर्न कलकत्ता गएका थियौँ । सङ्गीतकार गोपाल योञ्जनद्वारा रचित ‘हिमालसरि अग्लिइरहेछु’ गीतको अभ्यास चल्दैथियो होटलको कोठाभित्र । अरूणा लामाले आफूले गाउनुपर्ने अंश ठीकै टिपिसकेकी थिइन्, नारायणगोपालको ध्यान चुस्कीमा बढी भएको हो कि, गोपालले एक ठाउँमा ‘मिलेन मीज्जू (मीतज्यू)’ भने । नारायणगोपालले ‘यहाँनेर धुन (लय) अलिकति गाह्रो छ’ भने । ‘त्यसैले त अलिकति ध्यान दिनुपर्यो’ भनेर गोपालले के भनेका थिए, नारायणगोपाल सन्की हाले- ‘ए ! मैले गाउन सक्दिनँ भन्ठानेको ? ल त म गाउँदिनँ, म गएँ ।’ उनी जुरूक्क उठेर हिँडिहाले । हामीले रोक्न खोज्यौँ तर केही लागेन । मैले गोपाललाई हप्काएँ- ‘किन जिस्काउन परेको त्यो एकहोरो मान्छेलाई !’
गोपालले जवाफ दिएनन्, मुसुमुसु हाँसिरहे, हारमोनियम बजाउँदै रहे र अरूणालाई ‘ल गाऊँ तिमी’ भनेर अभ्यास गराउँदै रहे ।
केही समय उपरान्त नारायणगोपाल कोठामा फर्के र आफ्नो सूटकेस बोकेर बाहिर निस्के । मैले उनलाई त रोकिनँ (रिस उठेको थियो) तर गोपाललाई भनेँ- ‘अब भोलि तिमीले आफैँ गाउनपर्छ ।’
गोपालले हाँस्दै भने-‘दाइले किन फिकर गरेको ? सब ठीक हुन्छ ।’
म मुरमुरिएँ, रातभर मन अशान्त रह्यो, भोलिपल्ट बिहान ब्रेकफास्ट खाएर स्टुडियो जाने सुरसारमा थियौँ । होटलको एउटा बेयराले आएर मेरो कानमा साउती गर्यो- ‘साहेब ! वो जो आपका आदमी कल होटल छोड के गया, वो गया नही है । नीचे …नम्बर के कमरे में है ।’
‘क्या कर रहा है ?’ मैले सोधेँ ।
‘बोतल खोल के बैठा है, हम को सोडा लानेको बोला है ।’
म बेयराले भनेको कोठा अगाडि पुगेर ढोका ढकढकाएँ ! ‘कम इन’ नारायणगोपालको स्वर आयो, म भित्र पसेँ, ‘हे हे हे’ मलाई देखेर नारायणगोपाल हाँसे । हामी भेट्दा जैल्हे पनि नारायणगोपाल त्यसै गरी हाँस्थे अनि मात्र भलाकुसारी हुन्थ्यो । ‘यो के चाला हो एका बिहानै ?’ साइड टेबुलमा राखेको स्कचको बोतलतिर इङ्गित गर्दै मैले प्रश्न गरेँ ।
‘रेकर्डिङ्को लागि मूड बनाएको, हैँ हैँ हैँ’ उनको जवाफ थियो । ‘ल ल छिटो गर, हिँड्ने वेला भयो’ भनेर म बाहिर निस्केर माथि उक्लेर गोपाल योञ्जनलाई उनको मीज्यूको चर्तिकला सुनाएँ, कसरी एअरकुलर फिट भएको, कार्पेटयुक्त डबल रूममा उनी मस्त छन् । गोपाल हाँसे-‘मैले दाइलाई फिकर नगर्नुस् भनेकै हुँ ।’
कान्छीको त्यो गीत मलाई फिल्मभरिमा सबैभन्दा मनपर्ने गीत हो । नारायणगोपाल एकहोरो भए पनि आफ्नो कत्र्तव्यप्रति असावधान थिएनन् । म भने रातभरि आकुल रहेँ, त्यो अर्कै कुरा हो ।
त्यस्तै अर्को एउटा संस्मरण-
म ‘विश्वास’ को निर्देशन गर्दै थिएँ । अरूअरू गीतहरूमा नारायणगोपालको स्वर नभए पनि फरक पर्ने थिएन तर शास्त्रीय सङ्गीतमा आधारित एउटा गीत थियो ‘अङ्गअङ्गमा तरङ्ग, उठ्छ आज झननननन ।’ त्यसका लागि मैले नारायणगोपालसित विशेष अनुरोध गरेको थिएँ । तिनताका उनी ‘म्यूजिक नेपाल’ मा आफ्नो ‘गीतियात्रा’ क्यासेटका लागि रेकर्डिङ्मा व्यस्त थिए तर मेरो गीतको रिहर्सलमा पनि आउँछु भनेर वचन दिए । दसैँ बिदा सुरू हुन २० दिनजति थियो । टीकाको भोलिपल्ट कलकत्ता उड्ने सारा तयारी भैसकेको थियो । अरू जम्मै गायक-गायिकाहरूले आफ्नो अभ्यास सिध्याइसकेका थिए । १५ दिनसम्म बाटो हेर्दा पनि उनी आएनन् । सोही दिनमा म घर गएँ उनले भोलिपल्ट अवश्य आउने आश्वासन दिए तर भोलिपल्ट पनि प्रतीक्षा व्यर्थ भयो । सत्रौँ दिनमा बलजफ्ती गोपाल योञ्जनकोमा पुर्याएँ । साँझको वेला, रिहर्सलभन्दा चुस्की बढी चल्यो दुईजना मिज्जूको । अठारौँ दिनमा पनि त्यही क्रम रह्यो । उन्नाइसौँ दिनमा बिहान १०.३० बजे नारायणगोपाल लगनस्थित प्रगति फिल्म्सको कार्यालयमा मलाई भेट्न आए । ‘चेतन ! मेरो स्वास्थ्य अलि ठीक छैन भाइ (म उनीभन्दा एक वर्ष जेठो तर बोलीचालीमा ‘भाइ’ भन्ने उनको थेगो थियो) तिम्रो गीतको रेकर्डिङ्मा म कलकत्ता जान सक्दिनँ होला यार ?’
मलाई बडो नरमाइलो लाग्यो । धेरै कुराहरू मनमा खेल्न थाले । अन्ततः भनेँ मैले- ‘टप क्लासको गीतमा, टप क्लास म्युजिक डाइरेक्टरले बनाएको धुनमा, मलाई टप क्लास स्वर चाहिएकोले नै म पटकपटक तिमीकहाँ आएको थिएँ सान्बाबु ! नत्र म कसैकोमा पनि त्यसरी धाउँदिनँ । भोलिदेखि फूलपातीको बिदा छ । अरू अरू गायकहरू पनि लाखापाखा लागिसके होलान् । टीकाको भोलिपल्ट कलकत्ता जानुपर्ने, त्यस्तै थियो भने तिमीले मलाई पैल्है भनिदिएको भा हुन्थ्यो ।’
उनी बोलेनन् । मैले फेरि भनेँ- ‘तिम्रो स्वास्थ्यले नै दिन्न भने मैले कसरी कर लाउने ? तर मलाई धोका चाहिँ ठूलो भो सान्बाबु ।’
मैले वीरगञ्ज हिँड्न ठिक्क परेका प्रकाश श्रेष्ठलाई छोप्न पुगेँ, उनीले त्यस चलचित्रमा अरू गीतहरू पनि गाउँदै थिए, त्यसैले उनीलाई नै लिएर गोपाल योञ्जन कहाँ पुगेँ । त्यस गीतको लय क्यासेटमा भर्न लगाएर उनलाई अभ्यास गर्न दिएँ । संयोगले रेकर्डिङ्डेट पर सार्न सफल भएँ । रेकर्डिङ्को वेला प्रकाश श्रेष्ठले एकै टेकमा त्यो गीत ओ.के. गरे पनि । अति राम्रो गाए । जे होस् मलाई मात्र हैन, गोपाललाई पनि चित्त बुझ्यो, तर आजसम्म पनि ‘त्यो गीत नारायणगोपालको स्वरमा रेकर्ड गर्न पाएको भए’ भन्ने तुस मनमा छदैछ ।
त्यतिवेला म ज्यादै खिन्न भएँ तर नारायणगोपालले कलकत्ता जान अस्वीकार गरेर मलाई नै झमेलाबाट बचाएका पो थिए कि ?
पूर्वाञ्चलमा भूकम्प जाँदा, भूकम्प पीडितहरूका लागि अर्थ सङ्कलन गर्ने क्रममा कलाकारहरू काठमाडाँै र ललितपुर नगर पञ्चायतको बजारक्षेत्रमा चन्दा माग्दै हिँडे, प्रदर्शन फुटबल म्याच खेले र एउटा रमाइलो साँझको पनि आयोजना गरे । त्यस कार्यक्रममा कतिपय वरिष्ठ गायकहरूले भाग नलिने हल्ला पनि सस्तो लोकप्रियता हासिल गर्न खोज्ने कसैकसैले चलाए । नारायणगोपाललाई उचालेर ‘कामना’ का पुष्करजीलाई थेचार्ने कुचक्र पनि चलाइयो । तर भाग लिदैनन् भनेका अधिकांश वरिष्ठ गायकहरूले त्यसमा भाग लिए । नारायणगोपालले त झन् आफ्नो स्वभाव विपरीत एउटा गीत गाइसकेपछि आफैँले श्रोताहरूलाई सम्बोधन गरे- ‘मेरो स्वास्थ्य ठीक छैन तर यहाँहरूबाट पाएको स्नेह र मायाले गर्दा मलाई अर्को एउटा गीत पनि गाऊँ गाऊँ लागेर आएको छ……..?’
उनको वाक्य पूरा नहुँदै प्रज्ञाभवनको प्रेक्षागृह करतल ध्वनिले गुञ्जायमान भएको थियो । उनले पनि दोस्रो गीतमा आफ्नो स्वरको सम्पूर्ण माधुर्य पोखिदिएका थिए।
वास्तवमा त्यस दिन श्रोताहरूले पनि कलाकारहरूको मन जितेका थिए । बडो शिष्ट र मर्यादित व्यवहार थियो श्रोताहरूको, कुनै किसिमको हुटिङ् वा अभद्र व्यवहार गरेनन् उनीहरूले ।
कलाकार स्वभावले नै संवेदनशील हुन्छ । श्रोता, दर्शकहरूबाट माया र स्नेह पाएको खण्डमा प्रेरित भएर आफ्नो सर्वस्व अर्पण गर्न तत्पर हुन्छ, तर लेस मात्र पनि अवहेलना भए ऊ कुण्ठित हुन्छ । त्यस दिनको श्रोता समूहको सद्व्यवहारले गर्दा नै नारायणगोपाललाई गाऊँगाऊँ लाग्यो होला नत्र कुनैकुनै कार्यक्रममा मञ्चबाटै बाउला सुर्काएर श्रोताहरूलाई चुनौती दिन्थे भन्ने कुरा पनि नसुनिएको हैन ।
यस सन्दर्भमा मलाई एउटा कविको कथन याद आउँछ-
अरासंकेषु कवित्व निवेदनं शिरासं मा लिख, मा लिख, मा लिख (हे चतुर्भुज ब्रह्मा ! मेरो भाग्यमा जन्मै दुःख लेख्नु तर …… अरासं व्यक्तिका सामु कविता पाठ गर्ने (काम) मेरो भाग्यमा (बिन्ती छ) कदापि नलेख्नु, नलेख्नु, नलेख्नु ।
काव्य र सङ्गीतजस्ता कोमल विषयहरूका लागि रसिक र अनुशासित संवेदनशील श्रोताहरू भएनन् भने कलाकारका लागि त्यो भन्दा ठूलो पीडा क्यै पनि हुँदैन ।
स्व. नारायणगोपालबारे मेरा व्यक्तिगत अनुभवका केही संस्मरणहरूबाट मेरो अभिप्राय न त व्यक्ति पूजा नै हो न उनी अलौकिक थिए भनेर प्रमाणित गर्न खोज्नु नै हो । असाधारण त उनी थिए नै आज उनी यस नश्वर संसारमा छैनन् । उनको गुण गान गरेर मैले कुनै स्वार्थसिद्ध गर्न खोजेको पनि हैन । मेरो आशय मात्र यत्ति हो कि कुनै पनि कलाकार अकारण टर्रो बन्दैन । आवश्यकता छ यस कुराको विश्लेषणको कि अमुक व्यक्तिले अमुक आचरण किन गर्यो ?
पूर्ण (Prefect) यस संसारमा को नै छ र ? मानवोचित दुर्बलताहरू स्व. नारायणगोपालमा पनि थिए होलान् तर के आज उनका ती दुर्बलताहरूलाई केलाएर, कला जगतलाई उनले दिएको देन र दिलाएको गौरव कम हुनसक्छ ?
समाज र राष्ट्रले नै कलाकारहरूप्रति जुन् उपेक्षा र अवहेलनाको व्यवहार राख्दै आएको थियो के त्यस उपेक्षा र अवहेलनालाई मर्यादित तुल्याएर गएनन् स्व. नारायणगोपालले ? के समस्त कलाका पुजारीहरूको शिर गर्वले ठाडो गराएर गएनन् स्व. नारायणगोपालले ?
परिवर्तिनि संसारे मृतः को वा न जायते
सः जातो येन जातेन याति वंशः समुन्नितम् ।
‘यस परिवर्तनशील संसारमा मर्नका लागि को जन्मिन्न ? तर जन्म लिनु उसैलाई सार्थक छ जसले जन्मेर आफ्नो कुलको नाउँ उन्नत गराउँछ ।’
स्व. नारायणगोपालले त आफ्नो कुलको मात्र हैन समस्त नेपाली कला-कुललाई नै सम्मानित गराएर गए ।
घन्टाघर र रामशाह पथ दुवैतिरबाट दोहोरोतेहरो लाममा उभिएर, प्रज्ञाप्रतिष्ठानको पोर्टिकोमा राखिएको उनको पार्थिव शरीरको अन्तिम दर्शन गर्न आएका उनका प्रशंसकहरूको कैल्हे नटुट्ने ताँती देखेर, उनको शवयात्रासाथ शोकाकुल हिँडिरहेका त्यस अपार जनसमूहलाई देखेर र उनको आत्माको चिर- शान्तिको कामना गर्न, पशुपति आर्यघाटमा उर्लेको त्यस मानव- सागरलाई देखेर- ‘राजद्वारे श्मशाने त यस्तिष्ठति स बान्धवः’ (राजद्वार र श्मशानमा समेत जसले साथ दिन्छ त्यो नै वास्तवमा बन्धु हो) भन्ने उक्ति सम्झेको थिएँ मैले । नारायणगोपाललाई माया गर्ने, उनको कलाका प्रशंसक कति रहेछन् त !! कलाकारले, यस देशमा त्यत्रो सम्मान पाउला भन्ने कल्पना पनि गरेको थिइनँ मैले । त्यसैले प्रज्ञाप्रतिष्ठानबाट, शाही नेपाल चलचित्र संस्थानका महाप्रबन्धकलाई फोन गरी, त्यस ऐतिहासिक र अभिलेखमा राखिने योग्य घटनालाई क्यमेरामा कैद गरिराख्ने सल्लाह दिएको थिएँ । त्यसको केही अंश भए पनि सुरक्षित हुन सकेको छ ।
कुनै राजपुरूषको दाह संस्कारमा उपस्थिति दिन, नुनको सोझो गर्ने बाध्यता हुनसक्ला, कुनै राजनेताको शवयात्रामा सम्मिलित हुँदा, पार्टीप्रतिको आस्था देखाउने वा विरोधीलाई पनि सम्मान दिनुपर्छ भन्ने औपचारिकतालाई हुनसक्ला तर नारायणगोपालको अन्तिम संस्कारमा भेला हुने जनसमुदायलाई कुन भावनाले डोर्याएको थियो त ? त्यहाँ त मात्र स्नेह थियो, माया थियो, श्रद्धा थियो र थियो वेदना- आफ्नो एउटा परम- आत्मीयसित चिर बिछोडको वेदना ।
मेचीदेखि महाकालीसम्म, भोटदेखि मधेससम्म दार्जिलिङ, आसाम र मेघालयसम्म अझै कति प्रशंसकहरू त अन्तिम दर्शनको सौभाग्य नपाएकोमा व्यथित भए होलान् ।
आफ्नो गीतियात्राका क्रममा जे जति गीतकार, सङ्गीतकार र गायकहरूका साथ उनको नाता जोडियो होला ती सबैको हृदयको अवसादको लेखाजोखा कोसित छ ?
उनका अन्तिम क्षणहरूमा सञ्चार- माध्यमहरूले उनीप्रति देखाएको सम्मान स्तुत्य मान्नुपर्छ, ढिलो चाँडो सबै जाने बाटो त्यै हो, यस संसारमा अजम्बरी कोही पनि छैन, तर पनि क्षतिको पीडा त हुन्छ नै । लासमाथि राजनीतिक गरिएकोलाई भने कुनै हालतमा स्वीकार गर्न सकिँदैन ।
आज उनका स्मृतिमा शोकसभाहरू गरिन्छन्, नाना कार्यक्रमहरूको आयोजना गरेर, दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्ने वा श्रद्धाञ्जली अर्पण गर्ने लोकाचार देखाइन्छ, जुन व्यक्तिले आजीवन स्व. नारायणगोपालसित निमिष मात्र पनि उठबस गरेन वा जसलाई कला भनेपछि सिङ र पुच्छर छुट्याउने क्षमता छैन त्यस्ता नेतालाई सभामुख बनाई कार्यक्रम सञ्चालन गरेर औपचारिकताको निर्वाह गरिनु कदापि त्यस आत्माप्रति न्याय मान्न सकिँदैन ।
स्व. नारायणगोपाल जस्ता प्रतिभा विरलै यस धारतीमा जन्मिन्छन् भन्नेतर्फ श्री ५ को सरकारले लेस मात्र पनि रूचि भएको सङ्केत देखा पर्दैन । विगत व्यवस्थाको बदख्वाँइ गर्नुबाहेक, कलाक्षेत्रको समुचित कदर गर्नुपर्छ भन्ने धारणासम्म पनि सरकारको छैन । सांस्कृतिक संस्थान, चलचित्र संस्थान र प्रज्ञाप्रतिष्ठानजस्ता एकाइहरूले देशलाई दिनसक्ने प्रत्यक्ष र परोक्ष प्रभावकारी योगदानतर्फ दृष्टि दिने फुर्सत छैन, विश्वविद्यालयजस्तो पवित्र संस्थालाई राजनीतिको अखाडा बनाएर आफ्नो कुत्सित खेल जारी राख्ने मात्र जसको एकमात्र उद्देश्य देखिन्छ भने, यस्तो अवस्थामा के देशले अर्को नारायणगोपाल जन्माउन सक्ला ???
यस प्रश्नको सकारात्मक जवाफ नै स्व. नारायणगोपालप्रति साँचो श्रद्धाञ्जली हुनसक्छ । नत्र उनको आत्मा यस प्रदूषित वायुमण्डलमा अनन्त अनन्तकालसम्म अतृप्त विचरण गरिरहने छ ।