• २०८० असोज १२ शुक्रबार

फिर्ती यात्रा

एजरा पाउन्ड

एजरा पाउन्ड

हेर ! तिनीहरू फर्किरहेका छन्
आह ! तिनीहरूको अफ्ठ्यारो हिँडाइ र सुस्त पाइला
हच्केका पाइलाहरू लडखडाइरहेछन्
र, उनीहरू डगमगाइरहेछन्
हेर ! उनीहरू एक- एक गरेर फर्किरहेछन् ।

जसरी हिउँ पर्न अकमकिँदै होस्
जसरी हावा बग्न अनकनाउँदै होस्
आँधीजस्तो निहुरिएका
केहीकेही अधमृतजस्ता
यिनीहरू ती देवता हुन्- विजयका
परम- पावन ।

देवता हुन यिनीहरू- जो सधैँ जित्ने गर्थे
तिनीहरूसँगै छन् चाँदीजस्ता
सेता सिकारी कुकुरहरू
जो आफ्नो नाकलाई तिखार्दै
खोज्दैछन् कुनै गन्ध- हावामा

पख ! पख !
यिनीहरू त साह्रै चनाखा र फूर्तिला हुनेगर्थे
कुनै पनि गन्ध थाहा पाउँथे- तत्कालै
हाम्रो ज्यान, हाम्रो प्राण हुनेगर्थे यिनीहरू

अहिले यिनका गलपट्टा खुकुलिएका छन्
र यी पट्टालाई थाम्नेहरू पनि
कमजोर र थकित भइसकेका छन् ।

अनुवाद: राजेन्द्र शलभ