• २०८२ आश्विन २३, बिहीबार

चौधरीको ‘सुदूरपश्चिमका थारू संस्कृति र लोककथा’ सार्वजनिक

काठमाडौँ

बालसाहित्यकार तथा अनुसन्धाता इन्द्र चौधरीको ‘सुदूरपश्चिमका थारू संस्कृति र लोककथा’ नामक अनुसन्धानात्मक पुस्तक लोकार्पण भएको छ ।
आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीका अवसरमा पुस्तक सार्वजनिक गरिएको हो । सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरेको पुस्तक धनगढीमा आयोजित उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मेघराज खड्का, प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीलगायतले संयुक्त रूपमा लोकार्पण गरेका हुन् ।

कार्यक्रममा उपकुलपति जोशीले सुदूरपश्चिमको मुख्य जातिका रूपमा रहेका थारूहरूको लोकसंस्कृति र लोककथासम्बन्धी पुस्तक प्रकाशन गर्न पाएकोमा खुशी व्यक्त गरे ।

पुस्तकका लेखक चौधरीले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले आफूलाई विश्वास गरी अध्ययनका लागि परियोजना कार्य दिएकोमा खुशी व्यक्त गरे। सले आफूलाई अध्ययन अनुसन्धानमा हौसला र प्रेरणा मिलेको उनको भनाइ छ ।
यस पुस्तकलाई तीन खण्डमा बाँडिएको छ । पहिलो खण्डमा थारू समुदायको परिचय, दोश्रो खण्डमा लोककथा र थारू लोककथाको संक्षिप्त इतिहास र तेस्रो खण्डमा थारू लोककथा रहेको छ ।

पुस्तक २० वटा लोककथा समावेश गरिएका छन् । ७६ वर्षीय लौघरी डगौरा, ७८ वर्षीया कालीमैया डगौरा र ५५ वर्षीया रामप्यारी डगौराबाट लोककथा संकलन गरिएको लेखक चौधरीले बताए। चौधरीको यो सातौँ कृति हो। उनका यसअघिका कृति पनि थारू र रानाथारू जातिको लोकसंस्कृतिसँग नै सम्बन्धित छन्। यस पुस्तकमा उदीयमान कलाकार दीपक चौधरीले आवरण तस्वीर बनाएका छन् ।