• २०८२ भाद्र ३०, सोमबार

पंगेनीले ’तीजको लहर आयो गाउँ शहर’ गीत सार्वजनिक

काठमाडौं ।

नेपाल सरकारको सहसचिव समेत रहेकी गायिका मनमाया पंगेनीले तीजको नयाँ गीत बजारमा ल्याएकी छिन् । उनकै शब्द तथा स्वर रहेको ‘तीजको लहर आयो गाउँ शहर’ बोलको गीतमा दीपकराज बीसीले संगीत भरेका छन् । आउँदै गरेको तीजलाई लक्षित गरी तयार पारिएको यो गीत मनमायाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतको भिडिओमा मनमाया तथा शिव पंगेनीले अभिनय गरेका छन् ।

तीज गीतमार्फत मनमायाले रित्तिँदै गएको गाउँको दुरावस्था, गाउँमा युवा नहुँदा बिरामी परेका बेला रगत समेत पाउन नसकिएको यथार्थ तथा वैदेशिक रोजगारीमा रहेका दाजुलाई बहिनीले देश फर्कन गरेको अपिल लगायतका विषय समेटेकी छिन् ।

‘तीज चेली र माइती सँगै हुने पर्व भएको र बाहिरी गरगहना होइन, चेलीका लागि माइतीको माया नै सबैथोक हो भन्ने सन्देश समेत गीतमार्फत दिन खोजेकी छु,’ मनमायाले भनिन् । ‘तिम्रो मायाको सागर’ मार्फत सांगीतिक क्षेत्रमा प्रवेश गरेकी मनमायाका ‘मेरा सबै खोसी लग्यो’, ‘स्वर्गजस्तो यो धर्तीलाई’, ‘सप्तरंगी फूल हौ तिमी’लगायतका गीत सार्वजनिक भइसकेका छन् ।