• २०८२ भाद्र २८, शनिबार

दिपा दाहालको कथासंग्रह ‘विजयिनी’ लोकार्पण

काठमाडौँ ।

दिपा दाहालको पहिलो कृति कथासंग्रह ’विजयिनी’ शनिबार विराटनगरमा सार्वजनिक गरिएको छ । कवि तथा लेखक कुन्ता शर्मा, उपप्राध्यापक डा. अस्मिता विष्ट र लेखक दिपा दाहालले संयुक्त रुपमा कृतिको लोकार्पण गरेका हुन् । कार्यक्रममा बोल्दै कवि तथा लेखक कुन्ता शर्माले ’विजयिनी’ विचार र शिल्प दुवै कोणबाट उत्कृष्ट कथाहरुको संगालो भएको बताइन् । कथाहरुमा समाजको दुरुस्त चित्रण भएको बताउँदै उनले दाहालले पहिलो कृतिमै गम्भीर लेखनको अभाष दिएको बताइन् । शर्माले कथाहरुमा बीपीका कथाहरुमा जस्तै समाजको सूक्ष्म र रोचक चित्रण गरिएको पनि उल्लेख गरिन् ।

उपप्राध्यापक डा. अस्मिता विष्टले दाहालका पात्रहरुले विभेद र हिंसाको यथास्थिति अस्विकार गर्ने विद्रोही भएको बताउँदै लेखकले पुरुष मनोविज्ञान र आदिवासी सँस्कृति समेत रोचक तरिकाले प्रस्तुत गरेको बताइन् । उनले यो पुस्तक बिशेषतः युवा पाठकले नेपाली समाजमा महिलाको अवस्था बुझ्न पढ्नै पर्ने कृति भएको उल्लेख गरिन् ।

आफ्नी हजुरआमाले सुनाएका कथाले आफूमा लेखकीय भाव जागृत भएको बताउँदै लेखक दाहालले आफूले कथामार्फत समाजको यथार्थतालाई विद्रोहको स्वर दिएको बताइन् । कार्यक्रममा आरोहण गुरुकुल विराटनगरका कलाकार प्रदीप दाहालले ’विजयिनी’ को दोसल्ला कथा वाचन गरेका थिए । ’विजयिनी’ लाई सांग्रिला बुक्सले प्रकाशन गरेको हो ।