• २०८२ आश्विन २२, बुधबार

राजेन्द्र वाग्लेको ‘अन्तिम छाल’ उपन्यास लोकार्पित

काठमाडौं ।

राजेन्द्र वाग्लेको ‘अन्तिम छाल’उपन्यास आज एक विशेष कार्यक्रमका बीच लोकार्पण भएको छ । सम्माननीय पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, पूर्वन्यायाधीश ईश्वरप्रसाद खतिवडा, साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, समालोचक प्रमोद प्रधान, उपन्यास लेखक राजेन्द्र वाग्ले, शारदा पत्रिका सम्पादक विमल भौकाजी तथा नायक सरोज खनालद्वारा सामूहिक रूपमा उपन्यास’ अन्तिम छाल’ लोकार्पण गरिएको हो ।

लोकार्पण हुनुअघि उपन्यासभित्र रहेको वाग्ले रचित एउटा गीत’ आगो बनेर बल्न सक्छु, तुफान बनेर चल्न सक्छु’ बोलको गीतलाई प्रमुख आमन्त्रित व्यक्तित्व सुशीला कार्कीले ल्यापटपको बटन थिचेर उद्घाटन गरेपछि भिडियो गीत प्रदर्शन गरिएको थियो । उक्त गीतका गायक तथा सङ्गीतकार चर्चित कलाकार सन्तोष श्रेष्ठ हुन् ।

साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा सम्पन्न सो कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले जनता न्यायालयका बारेमा जान्न चाहन्छन्, न्यायाधीशहरूको दिनचर्या बारे थाहा पाउन चाहन्छन् भन्दै उनले ती कुरा उपन्यास लेखक राजेन्द्र वाग्लेका उपन्यासभित्र रहेको बताइन् ।साथै, उपन्यासभित्र न्यायालयका विकृति र विसंगतिका कुराहरू पनि छन् उनले भनिन् ।

उपन्यासको मुख्य पात्र सौरभ स्वयम् लेखक नै हुन् कि जस्तो पनि लाग्छन् भन्दै उनले उपन्यासमा प्रयोग भएको भाषा, शब्दको चयन र प्रस्तुति राम्रो भएको बताइन् । कार्यक्रममा सर्वोच्च अदालतका पूर्व न्यायाधीश ईश्वरप्रसाद खतिवडाले आफ्नो शुभकामना मन्तव्यमा राजेन्द्र वाग्लेको उपन्यासभित्र जीवनको भोगाइ छ, उकाली र ओरालीको कुरा छ, दु:ख र सुखको कुरा छ भन्दै ६० प्रतिशत यथार्थ कुरा र ४० प्रतिशत जति काल्पनिक कुरा रहेको बताए । समालोचकले लेखकलाई आज लेखकको प्रमाणपत्र दिएको बताउँदै उनले वाग्ले अब सिद्धहस्त लेखक बन्न सकुन् भनेर शुभकामना पनि दिएका थिए ।

कार्यक्रममा समालोचक प्रमोद प्रधानले लोकार्पित उपन्यास ‘अन्तिम छाल’ माथि संक्षिप्त समीक्षात्मक टिप्पणी गरेका थिए । न्याय सेवामा लामो समय बिताएर अवकाश प्राप्त गरेका लेखक राजेन्द्र वाग्लेको उपन्यासभित्र न्यायालयभित्रका थुप्रै कुराहरू उल्लेख भएको बताउँदै समालोचक प्रधानले न्याय सेवा बारेको यो उपन्यास पृथक पहिचान भएको बताए । अरु धेरै विधामा उपन्यास लेखिएको भए पनि न्यायालयका बारेमा लेखिएको यस उपन्यासभित्र न्यायालयभित्र रहेको विकृति र विसंगति रहेको छ । २०४६ पछि र २०६२-६३ को अवधिमा भएका विविध घटनाहरूको चर्चा गरिएको छ । जुन कुराहरू बाहिर आउनुपर्छ त्यस बारेमा अब अरु विधा मार्फत् पनि लेखिनु पर्छ उनले बताए । ‘परिवर्तन’ शब्द बाहेक अरु सबै कुरा परिवर्तन हुँदारहेछन् भन्ने उनको तर्क थियो ।

सभापतिको आसनबाट बोल्दै सापस अध्यक्ष राधेश्याम लेकालीले लेखकहरूले हतारमा नलेख्न र नछपाउन अनि पुरस्कारका लागि नदौडन आग्रह गरेका थिए भने फुर्सदमा राम्रोसँग लेखिएको कृति यसैगरी सार्वजनिक गर्न र समीक्षा गराई अनुवाद गरेर अन्तर्राष्ट्रिय बजारमा पुर्याउनु सुझाव दिएका थिए । मन्तव्यका क्रममा उनले न्यायालयभित्र देखिएको विकृति र विसंगतिका बारेमा बेलाबेलामा पढ्न पाइने र सुन्न पाइने विषयमाथि पनि चर्चा गरेका थिए। कार्यक्रममा उपन्यास ‘अन्तिम छालका’का सम्पादक विमल भौकाजी तथा कलाकार सरोज खनालले पनि शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्वहरू लगायत मञ्चमा आसिन अन्य व्यक्तित्व तथा गायक, भिडियो निर्माता, पुस्तक प्रकाशन गृह लगायतलाई स्रष्टाका तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो भने आयोजकका तर्फबाट स्रष्टालाई सम्मान पनि गरिएको थियो । साहित्यिक पत्रकार सङ्घको आयोजनामा सम्पन्न सो कार्यक्रमका सह-आयोजकहरूमा भुँडीपुराण प्रकाशन तथा शारदा मासिक पत्रिका रहेका थिए। कार्यक्रमको सहजीकरण तथा सञ्चालन कवि ठाकुर बेल्बासेले गरेका थिए भने उनले प्रमुख आमन्त्रित व्यक्तित्व न्यायमूर्ति पूर्व प्रधानन्यायाधीश सुशीला कार्की पनि एक कवि तथा साहित्यकार हुन् भनेर परिचय गराएका थिए ।