• २०८२ मंसिर ५, शुक्रबार

जमुना भट्टराईको उपन्यास ‘मर्नुअघि’ सार्वजनिक

काठमाडौं ।

उपन्यासकार जमुना भट्टराईको ‘मर्नुअघि’ उपन्यासको लोकार्पण गरिएको छ । काठमाडौंमा सोमबार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास) नेपाल च्याप्टरले भट्टराईको ‘मर्नुअघि’ उपन्यासको लोकार्पण गरेको हो । अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको अध्यक्षतामा भएको लोकार्पण कार्यक्रममा अनेसासका केन्द्रीय महासचिव राजु सिटौला प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

अतिथि वक्ताका रूपमा अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकाली, समालोचक युवराज मैनाली, साहित्यकार महेश प्रसाईं, साहित्यकार डा. शान्ति गिरि, गीतकार डि आर राई, सम्पादक रमेश दाहाल तथा लक्ष्मण सिटौलाले ‘मर्नुअघि’ उपन्यासकार जमुना भट्टराईलाई हार्दिक बधाई तथा शुभकामना दिएका थिए ।

उपन्यासकार जमुना भट्टराईको कृतिमाथि साहित्यकार महेश प्रसाईंले खुलेर प्रशंसा गरे भने उपन्यासले बोकेको पठनीय र गरिमामय पक्षका बारेमा अध्यक्ष राजेन्द्र केसीले मुक्त कण्ठले कृति सफलताको शुभकामना दिए । उपन्यासकार जमुना भट्टराईले अमेरिकाको व्यस्त जीवन बाँचेर पनि नेपाली साहित्य सिर्जनामा यति गहकिलो कृति दिनु नेपाली साहित्यमा महिला लेखिकाको अभावलाई पूर्ति गरेको वक्ताहरूले बताए । कार्यक्रम सञ्चालन अनेसास नेपाल च्याप्तरकी महासचिव रन्जना निरौलाले गरेकी थिइन् ।