• २०८१ माघ २ बुधबार

कर्णाली उत्सव आजदेखि

काठमाडौँ, २७ फागुन २०७८

‘कुडा कर्णालीका’ नारा दिइएको कर्णाली उत्सवको तेस्रो संस्करण वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा शुक्रबारदेखि सुरु हुँदैछ । कर्णालीको पहिचान र सम्भावनालाई उजागर गरी ऐतिहासिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटकीय महत्त्वलाई राष्ट्रियरूपमा परिचित गराउन उत्सव आयोजना गरिएको संयोजक कमलराज लम्सालले बताए ।

आयोजक ऋति फाउन्डेसनले बिहीबार पत्रकार सम्मेलन गरी उत्सवमा विभिन्न विषयका दर्जन सेसन सञ्चालन गरिने जानकारी दिएको छ । उत्सवको सुरुमा प्रज्ञा- प्रतिष्ठानका सदस्य प्रा. दिनेशराज पन्तले ‘खस भाषाको लहरो’ विषयमा विद्वत् प्रवचन दिनेछन् । ‘विकासका लागि विचार’ विषयमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही बोल्नेछन् । उत्सवमा ‘उत्सवको उत्साह’, ‘पौकलो’, ‘कर्णाली भेरीको सुसेल्दो छ’ र ‘बजार विकास, हजार निकास’ सत्र पहिलो दिनमा सञ्चालन हुनेछ । उत्सवलाई कर्णालीलाई चिन्ने र चिनाउने अभियानका रूपमा लिइएको आयोजक समूहका सदस्य केवलप्रसाद भण्डारीले बताए ।

उत्सवको दोस्रो दिन पाँचवटा सत्र सञ्चालन हुनेछन्  । ‘झरो- उज्यालोको खरो’ मा गजेन्द्र महत, कुलमान घिसिङ र निशा रानाले बहस गर्नेछन्, जसको सहजीकरण महेश नेपालीले गर्ने भएका छन् । ‘लगानीमा लगाम’ मा चन्द्र ढकाल, चण्डीराज ढकाल, निरक केसी र तारा शाहीले बहस गर्ने आयोजकले जनाएको छ । त्यस्तै ‘आरन, अन्वेषण र आविष्कार’ मा महावीर पुन, डीबी नेपाली, सहवीर कामी, कविता पाण्डे सहभागी हुनेछन् । यस्तै ‘कर्णाली भेरी तीरैतीर:  भविष्यको पीर’ सत्रमा सृजु शर्मा, राधा वाग्ले, युवराज कार्की र डा. सुदीप ठकुरीले बहस गर्नेछन् भने ‘रैवार, रैवार’ मा वैकुण्ठ अर्याल, युवराज घिमिरे, टीकाराम यात्री र दीपा कोइरालाको बहस हुनेछ ।

तेस्रो दिनको सत्रमा ‘शून्य समय’ मा कर्णाली प्रदेशसभाका सदस्य देवी वली, सीता नेपाली र प्रदेशसभा- सचिव जीवराज बुढाथोकीको छलफल राखिएको छ भने ‘वादविवाद र संवाद’ मा गगन थापा र रामकुमारी झाँक्रीले बहस गर्नेछन् । ‘उमेरको उमङ्ग’ मा विद्यार्थी नेतृहरू पञ्चा सिंह, पुनम भट्ट, सुनीता बराल, आरती लामा र प्रकृति भट्टराईबीच संवाद हुनेछ भने ‘विकासको बाटो’ मा मधु मरासिनी, कर्णाली प्रदेशका आर्थिक तथा योजनामन्त्री विन्दमान विष्ट र डा. विमला राई पौडेलले बहस गर्नेछन् । उत्सवको अन्तिम सत्रमा कर्णाली चिन्तनबारे डा. विश्व पौडेलको प्रवचन समावेश गरिएको छ।