समाचार

काठमाडौँ ।
दायित्व वाङ्मय प्रतिष्ठान, नेपालद्वारा काठमाडौँमा आयोजित साहित्यिक समारोहमा साहित्यकार तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यमा गणेश ज्ञवालीद्वारा रचित गीतिकाव्य ‘कर्ण’ को लोकार्पण सम्पन्न भएको छ।कार्यक्रममा प्रमुख अतिथि प्रदीप ज्ञवालीले काव्य ‘कर्ण’ लाई लोकलय, सरल भाषा र पौराणिक गाम्भीर्यले भरिएको रचनाको रूपमा चित्रण गर्दै यसले वर्तमान सन्दर्भमा पनि विचारणीय विषयहरू उठान गरेको टिप्पणी गर्नुभयो। उहाँले कर्णजस्ता महाभारतकालीन पात्रप्रति लेखकले देखाएको आत्मीय दृष्टिकोण र मानवीय संवेदनालाई विशेष रूपमा उल्लेख गर्नुभयो ।
कार्यक्रमका सभापति तथा प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले प्रतिष्ठानले २२१ औँ कृति स्वरूप यस्तो गहन गीतिकाव्य प्रकाशित गर्न पाउनु गौरवको कुरा भएको बताउँदै कृतिकार ज्ञवालीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
समालोचक प्रा.डा. भागवत ढकालले कृतिको गहिरो समालोचना गर्दै यो गीतिकाव्यले कर्णको ऐतिहासिक अन्याय, आत्मसंघर्ष र महानता चित्रण गरेको बताउनुभयो। उहाँले काव्यभित्रको संवादात्मक लय, संवेदनात्मक व्यञ्जना र शिल्पगत प्रवीणतालाई प्रशंसनीय भन्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथिको रूपमा नेपाल सरकारका पूर्व मुख्य सचिव लीलामणि पौड्याल, समालोचक प्रा.डा. रामप्रसाद ज्ञवाली, समालोचक प्रा.डा. लेखप्रसाद निरौलालगायत वक्ताहरूले कृति ‘कर्ण’ को समकालीन सन्दर्भ, साहित्यिक अवदान र मानवीय पक्षमाथि प्रकाश पार्नुभएको थियो ।
कृतिकार एवम् सेवानिवृत्त सहसचिव गणेश ज्ञवालीले आफूले कर्णलाई जसरी बुझेँ, त्यसैगरी अभिव्यक्त गर्न खोजेको बताउँदै गहिरो पौराणिक पात्रलाई समकालीन मनोभूमिमा स्थापित गर्ने प्रयत्न गरेको स्पष्ट पार्नुभयो। उहाँले कृतिको मूल्याङ्कन पाठक र समालोचकबाट हुने अपेक्षा व्यक्त गर्दै दायित्व वाङ्मय प्रतिष्ठानलाई प्रकाशनका लागि धन्यवाद ज्ञापन गर्नुभयो। गीतिकाव्य ‘कर्ण’ गणेश ज्ञवालीको तेस्रो प्रकाशित कृति हो । यसअघि उहाँका ‘यो पानी कस्तो बेइमानी’ (निबन्ध सङ्ग्रह, २०६०) र ‘माटोको माया’ (कविता सङ्ग्रह, २०६५) प्रकाशित छन्। ‘कर्ण’ गीतिकाव्यले न केवल पौराणिक स्मरण गराउँछ, बरु विद्रोह, सहिष्णुता र मानवीय अस्मिताको सन्देश बोकेको सशक्त साहित्यिक सिर्जना बनेको छ ।