• २०८२ भाद्र २८, शनिबार

लालगोपालकृत चेतन– प्रवाहमा– सारेगमप ( लामो कविता) बारे कृति परिचर्चा कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको आयोजना , अनेसास केन्द्र तथा अनेसास परिवारको संयुक्त प्रयत्नमा अगस्ट दुई तारिकका दिन जुम हलमा कृति शास्त्रार्थ (परिचर्चा) कार्यक्रम सम्पन्न भयो । लालगोपाल सुवेदीद्वारा लिखित चेतन–प्रवाहमा सारेगमप (लामो कविता) माथि विमर्श गरिएको उक्त कार्यक्रममा सहभागी सबैलाई विशिष्ट अतिथिका रूपमा संबोधन गरी समभावपूर्वक सम्मान व्यक्त गरियो । छ दर्जनभन्दा बढी साहित्यकारको उपस्थितिमा आयोजना गरिएको उक्त कार्यक्रममा, अमेरिका, क्यानडा, अफ्रिका, अस्ट्रेलिया, बेलायत, जर्मनी, फ्रान्स, पोर्चुगल, नर्वे, बेल्जियम लगायतका देशका नेपाली साहित्यकारको सहभागिता रह्यो ।अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष निर्मलरमण पराजुलीबाट स्वागत मन्तव्यबाट सुरु गरिएपछि विभिन्न विशिष्ट व्यक्तित्वको शुभकामना मन्तव्य र कृति विवेचनात्मक मन्तव्य हरू प्रस्तुत गरिए ।

अनेसासमा सल्लाहकार, विधान निर्माण संयोजक आदि भूमिका निर्वाह गर्दै आएका वरिष्ठ समालोचक प्रा. डा. खगेन्द्रप्रसाद लुइटेल तथा अनेसास सल्लाहकार लीला लुइंटेलले कवि सुवेदीले छन्द कविता , फुटकर कविता, गीत, काव्य आदिमा गुणात्मकता थप्दै र लेखनलाई निरन्तरता पनि दिंदै काव्यलाई लामो कवितासम्मको गति दिएको तथ्य औल्याए । संस्थापक होमनाथ सुवेदीले लालगोपालका कृतिमाथि बाक्लै रूपमा समीक्षा छापिनुले कृति महत्त्वपूर्ण भएको बुझिन्छ भन्ने विचार व्यक्त गरे ।अनेसास केन्द्रका अध्यक्ष सर्वज्ञ वाग्लेले अनेसासका कारण डायस्पोरिक साहित्यमा गुणात्मकता बढ्दै गएको भाव प्रस्तुत गरे ।

अनेसास बीओटीका सभापति पदम विश्वकर्मा, बीओटी सल्लाहकार गीता खत्री, पूर्व अध्यक्ष पुरु सुवेदी, पूर्व सल्लाहकार रोहिणी शर्मा, अनेसास उपाध्यक्ष डिल्ली अम्माई, प्रशान्त उप्रेती (फ्रान्स ), राजेश सापकोटा (नर्वे), दीपक सुवेदी (अस्ट्रेलिया) लगायत वक्ताहरूले कृतिकारको व्यक्तित्व र अनेसासमा बढ्दै गएको गुणात्मकता बारे चर्चा गरे । वरिष्ठ समालोचक प्रा. डा. रमेश भट्टराईले ‘ चेतन– प्रवाहमा सारेगमप’ कृतिले खस जाति, खस भाषा , नेपाली साहित्य, संस्कृति , कला , भूगोलको कुरा मात्र नगरी समय–सापेक्ष राष्ट्रियता, पर्यावरण, प्रकृति र जैविक दोहन, सीमान्तीयता , लैङ्गिकता, विविध जातीय उत्पीडनजस्ता अहिले उभारमा आइरहेका जल्दाबल्दा बिषयलाई बहसमा ल्याएको तथ्य औंल्याए ।

वरिष्ठ साहित्यकार तथा नियात्राकार प्रतीक ढकालले चेतन–प्रवाहमा असीमित विषयवस्तुहरूको प्रयोग र निरविच्छिन्न एवम् अटुट लय प्रवाहका कारण नेपाली लामो कविताको इतिहासमै यो कृति मास्टरपिस बनेको धारणा व्यक्त गरे । कवि तथा समालोचक महेशपौड्यालले चेतन–प्रवाह शैलीबारे स्पष्ट पार्दै चेतन प्रवाहमा सारेगमप कृतिले वर्तमानभन्दा बढी अतीत गाथा र नेपाली जन र मनको विरह गाथालाई श्रङ्खलाबद्ध प्रस्तुति दिएको धारणा अभिव्यक्त गरे । उनले चेतन– प्रवाह शैलीमा जति पनि स– साना आख्यान, परिघटना, विषयवस्तु अटाउन सकिने र मनको यथार्थजस्तै कृतिको पनि अक्रमबद्ध अरैखिक शैलीमा पनि नदीजस्तो सारेगमपको लयात्मक तानले अटुट प्रवाहमा अविच्छिन्नताको कला भर्नु नेपाली काव्य परम्परामा नौल्याइँ र नयाँ उपलब्धि भएको आशय प्रकट गरी भावी लेखन क्षेत्रका बाटाहरू समेत मार्ग प्रस्तुत गरे ।

डायस्पोरा जगतमा रही साहित्य कर्म गर्दै रहेका साहित्यकार नारायण अधिकारीले कृतिभित्रका विषय र प्रवृतिगत वैविध्य औंल्याउँदै यस कृतिले भूगोल, इतिहास, संस्कृति, कला,साहित्य, जनजीवनका लयविहीनतामा लयमधुरताको खोजी गरेको निष्कर्षात्मक धारणा प्रस्तुत गरे । लेखकीय मन्तव्यका क्रममा कवि लालगोपालले आँखा चिम्लँदा पनि कुराहरू देखिन्छन्, आँखा खोल्दा पनि कुराहरू देखिन्छन् भन्दै ती भौतिक र अभौतिक कुरा दुबैलाई कवितामा अटाउनका लागि ‘चेतन– प्रवाहमा सारेगमप ‘शीर्षक चयन गरेको र विगतदेखि आजसम्मको नेपालका यावत कुराहरूको सम्पूर्णतालाई (विविध विषय) यो सानो कृतिमा एकत्वसाथ पोख्ने प्रयास गरेको तथ्य औंल्याए । हाम्रा संवाददाताको सारेगमप को प्रयोग किन गरिएको हो भन्ने प्रश्नको उत्तरमा वर्तमानमा राजनीति, साहित्य, संस्कृति, निर्माण, कला,धर्म, कानुन, जनजीवन, वाताावरण जुनसुकै क्षेत्रहरूमा असंगति होइन संगतिको खोजी गर्नु आजको आवश्यकता हो र हाम्रो मनोविज्ञानलाई शान्त रसमा भिजाएर त्यही विन्दुबाट आशावादको झण्डा फहराउँदै अबको कविता लेख्न अर्थात् अब कस्तो संसारको निर्माण गर्ने भन्ने जिम्मेवारी नव पुस्तामा हस्तान्तरण गर्नुपर्ने विचार कवितामा आफूले व्यक्त गर्न चाहेको तथ्य औंल्याए ।

स्मरणीय छ कृतिको अन्त्यमा बुद्धको आप्तवचन’ अप्प दीप्पो भव’ साभार गर्दै , सारेगमपलाई महेश योगीको ‘भावातीत ध्यान’मा विलीन गर्दै, अहम् , ईष्र्या, घमण्ड जस्ता अदृश्य वस्तुलाई दृश्यात्मक वस्तुहरूमा उभ्याएर तिनको आकार सानो सानो सानो बनाउँदै धुलिसात तुल्याएर अन्त्यमा हरेक पाठकलाई नयाँ कविता लेख्ने काागजसमेत उपलब्ध गराइएको छ ।कापीको पानाजस्तै खाली ठाउँमाथि के शीर्षक राख्ने भन्ने स्वतन्त्रता पनि पाठकलाई दिइएको छ । लामो कविताको शास्त्रार्थ ( विवेचना ) कार्यक्रमको सहजीकरण गर्दा हरेक वक्तालाई बोलाउने क्रममा हरेक पटक कृतिभित्रका घतिला कवितांश उच्चारण गर्दै कवि गीता कार्कीले कार्यक्रमको सिङ्गो वातावरण निकै सुमधुर बनाइन् ।लगभग तीन घण्टा लामो कार्यक्रम समेत पट्यारलाग्दो नभएको टिप्पणी सहभागी श्रोताहरूले गरे ।

समालोचक घनश्याम न्यौपाने परिश्रमी, त्रि. वि. भाषाविज्ञानका विभागीय प्रमुख कर्णाखर खतिवडा, समालोचक रजनी ढकाल, साहित्यकार रेणुका सोलु, निबन्धकार रन्जना निरौला एवम् अस्ट्रेलिया र अफ्रिकाका सहभागीले घर्कँदो मध्यरातलाई समेत ख्याल नगरी मन्त्रमुग्ध भएर कृति विवेचना श्रवण गरिरहेको दृश्य जुमको पर्दाबाट स्पष्ट रूपमा झल्किएको थियो । अन्यमा तीन घण्टा लामो समयमा अभिव्यक्त विचारहरू निकै संयमित भई ग्रहण गरिदिएर सभालाई सभ्य भव्य बनाइदिएकामा सहभागीहरूप्रति आभार प्रकट गर्दै अनेसास केन्द्रले विकेन्द्रीकरणको सिद्धान्त आत्मसात गर्दै विश्वव्यापी कार्यक्रमको संयोजन गर्ने अवसर नेपाल च्याप्टरलाई दिइएकोमा धन्यवाद दिएर सभापतिको आसनबाट अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के. सीले सभा विसर्जन गरे ।