• २०८२ आश्विन २३, बिहीबार

इम सोल नेईका दुई कविता

इम सोल नेई

इम सोल नेई

१. निलो पुतली

“आकाश र धर्ती मेरो कफिन हो, र सूर्य, चन्द्रमा र ताराहरू
मेरो चिहानमा चढाइने उपहारहरू हुन्”
झुआङजीले एक पटक भनेका थिए ।
मैले उसलाई ईर्ष्या गरें ।
मैले त्यो रेशमको कीरालाई ईर्ष्या गरें
जसले त्याग्छ आफ्नो मासुको कडा कोयोलाई
बन्नको लागि आत्माको पुतली ।

मैले कुब्लर–रोसलाई ईर्ष्या गरें
जसले मरिरहेका बच्चाहरूको हेरचाह गर्थिन्
बोक्दै एउटा नरम झुसिल्कीरा, जसलाई पल्टाउँदा
परिणत हुन्थ्यो एउटा पुतलीमा
जो एउटा सानो चमत्कारै हुन्थ्यो उनका जवान बिरामीहरूका लागि ।

तर मलाई अझ बढी उत्प्रेरित गर्ने कुरा त
उनको आफ्नै अन्त्येष्टिको अन्तिम क्षण थियो-
उनका बच्चाहरूले कफिनको अगाडि एउटा सानो बाकस खोले
छोड्दै पुतलीहरूलाई हावामा ।

र जब विलाप गर्नेहरूले आफ्ना खामहरू खोले
नीला पुतलीहरू बाहिर उडे
उठ्दै आकाशतिर ।

के गर्ने हामीले यस्तो सुन्दरताको ?

★ एलिजाबेथ कुब्लर–रोसः स्विट्जरल्याण्डमा जन्मिएकी मनोचिकित्सक र थानाटोलोजी (मृत्यु र मृत्युको अध्ययन)मा विश्व–प्रसिद्ध विषेशज्ञ हुन् ।

२. रातो प्रकाशको ब्रह्माण्ड

हलुवाबेदको रूखले आफ्ना हाँगाहरूमा राता लालटिन बाल्छ
यसका काला शिराहरूले लामो उमेर बितेको दर्शाउँछ ।

पृथ्वीमा, गहिरो गाडिएको, यसको ऊर्जा बारम्बार खर्च हुन्छ,
आराम गर्छ हरेक वर्ष- यो रूख ।

रातो फल भएका पातला हाँगाहरू सजिलैसँग चुँडिन्छन्
तर तिनीहरू निस्सन्देह रूपमा मातृत्व भावका हुन्छन्को- मल र बलियो ।

जब बादल गर्जिन्छ र मुसलधारे वर्षा हुन्छ,
भित्रैसम्म भिजेको बोक्रा कालो खैरो रंगमा फेरिन्छ-
स्वर्गका मानिसहरूका छाला जस्तै ।

जब हरेक पटक सम्झना घुमाउरो बाटोमा घुम्छ
बाल्यकालका रंगहरू फट्फटाउँछन् कथाको पुस्तकमा प्वाँखहरू जस्तै

रातो- तर आवेगको रातो होइन
पहेंलो रंगको-तर युवावस्थाको होइन
ब्रह्माण्ड भित्रको एउटा ब्रह्माण्ड
जो रातो छ, हृदयको केन्द्रमा पुगिरहेको छ
आह, कति उज्यालो छ यो !


इम सोल नेई