• २०८१ श्रावाण ११ शुक्रबार

श्रीओम श्रेष्ठ ‘रोदन’

राजेन्द्र शलभ

राजेन्द्र शलभ

२०१९ सालको लक्ष्मीपूजाका दिन
ललितपुर, झम्सिखेलमा जन्मेको हुँ
त्यहीँको टीका विद्याश्रमबाट
३५ सालमा एसएलसी दिए पनि
३६ सालमा मात्र पास भएँ
घरको आर्थिक अवस्थाका कारण
३४/३५ सालदेखिनै आफ्नै टोलमा पसल थापेको थिएँ
एसएलसी सकेपछि पसलसँगै
कोचिङ् क्लास सुरू गरेर ट्युसन पनि पढाएँ
यसैसँगै आफ्नो रहरले नाटक पनि गर्थें
त्यसैले पढाइतिर पूरा ध्यान दिन पाइनँ
खेल्ने, रमाउने र कमाउने तिरनै बढी ध्यान दिनुपथ्र्यो
सर्टिफिकेट पढ्दैगर्दा नै हो
३८ सालमा काम गर्न पाल्पा गइयो
एउटा अडिटरको सहायक भएर
त्यहाँ दुईवर्ष काम गरेर फर्केपछि
४० सालमा नेपाल बैंकमा खरदारको जागिर खाएँ
अनि सुब्बामा बढुवा भएर ४८ सालसम्म काम गरेँ ।

यही बीचमा ४५ सालदेखि नै
‘नयाँ मार्ग’ मा नियमित स्तम्भ लेख्थेँ
साहित्य, कला र संस्कृतिका नाममा
३६ सालमा नै मेरो पहिलो कविता छापियो
अनि लेखनमा मेरो रूचि बढ्दै गयो
४५ सालदेखि नियमित स्तम्भ बाहेक
‘चलचित्र’ पत्रिकामा विशेष प्रतिनिधि भएँ
धेरै पत्रिकाको सम्पादन पनि गरेँ
अरू काम भन्दा लेखन नै प्रिय हुँदै गयो
यही समय अर्थात ४८ सालमा
गोरखापत्रले ‘मधुपर्क’ का लगि उपसम्पादक माग्यो
त्यहाँ पनि फ्रि कम्पिटिसनमा लडेँ
र सातौँ तहमा उपसम्पादकका रूपमा काम गर्नथालेँ
यो भन्दा पहिले ४५ सालमै मेरो
कवितासङ्ग्रह प्रकाशित भइसकेको थियो
४७ सालमा सात जना कविहरूका सात- सातवटा कविता
र सात जना स्थापित कविहरूको भूमिका राखेर
‘सरगम’ सम्पादन/प्रकाशन गरियो ।

मधुपर्कमा नियुक्ति पाएपछि नै हो
मेरो वास्तविक साहित्यिक यात्रा सुरू भएको
खुसीको कुरा के छ भने ३६ सालतिर
गोरखापत्रलाई पाठक- पत्र लेख्ने गरेको
श्रीओम रिटायर्ड हुनुभन्दा अघि तीन वर्षसम्म
त्यही गोरखापत्रको प्रधान- सम्पादक भयो ।
काठमाडौँ बाहिर धेरै ठाउँहरूको यात्रा गरियो
सुगम- दुर्गम र विदेशसम्मको यात्रा
ती सबै यात्रा साहित्य वा कलाकै कारणले भए ।
ए ! बिहाको कुरा गर्नुपर्दा
मैले प्रेमविवाह गरेको हुँ
हामी सँगै पढ्दै थियौँ डिप्लोमामा
उनी चेकोस्लाभिया पढ्न गइन्
तर त्यहाँ द्वन्द्वका कारणले आठवर्ष लाग्यो
उनी फर्केर आएपछि अर्थात
प्रेम भएको १० वर्षपछि बल्ल हाम्रो विवाह भयो
छोरीले मास्टर्स सकी, छोरा सानो छ ।

अहिले प्रकाशित ‘अभिबन्ध्य’ (व्यक्ति निबन्धसङ्ग्रह)
मेरो तेह्रौँ कृति हो र निबन्धका रूपमा सातौँ
यसबाहेक ‘प्रसङ्गवश’ (अन्तर्वार्तासङ्ग्रह)
दुईवटा लघुकथा सङ्ग्रह, दुईवटा कवितासङ्ग्रह
र नियात्रा/निबन्ध गरेर नै दर्जन नाघेका हुन् ।
म काठमाडौंको रैथाने नेवार
तर मेरो बोली सुनेर कसैले पत्याउँदैन
हुन त म नेवारी त्यति जान्दिनँ
बरू नेपाली भाषामै दखल भयो र रमाइयो
यसको कारण के भने बुवाको जागिरले गर्दा
बाल्यकाल तराईमै बित्यो
र यहाँ पनि त्यस्तो खासै नेवारसंग सङ्गत भएन
त्यसैले नेवारको कुनै पनि संस्था/गुठीमा म छैन
म पनि सङ्कुचित हुनुभन्दा राष्ट्रिय हुनु नै मन पराउँछु
रोदन लेख्न थाल्नुको पनि कथा छ
जहिले पनि पुरस्कार पायो वा केहीमा नाम छापियो भने
श्री काटेर ओम श्रेष्ठ मात्र छापिने
र मलाई ओम मात्र भनेको मन नपर्ने भएर
रोदनको अर्थ नबुझेनि देवकोटाको लेखमा
भेटेको शब्द आफ्नो नामसँगै राख्न थालेँ
र कमसेकम ओम श्रेष्ठ ‘रोदन’ भने पनि
म अरूभन्दा फरक हुने भएँ- ‘श्रीओम रोदन’ ।

अब अलिकति सञ्चारकर्मको कुरा गरौँ
५० सालमा रेडियो नेपालबाट ‘भ्वाइस टेस्ट’ पास गरेँ
केही बिज्ञापनहरूमा ‘भ्वाइस ओभर’ गरेँ
५२ सालमा नेपालमा एफएम रेडियो सुरु हुँदा
म पनि ‘गुडनाइट एफएम’मा आबद्ध भएँ
‘अध्यात्म ज्योति’ एफएममा आध्यात्मिक कार्यक्रम चलाएँ
त्यसपछि टाइम्स एफएम र इमेजमा पनि बोलेँ
इमेजमा बिहान ६ बजे एक्लैले समाचार भन्न सुरु गरेँ
यसरी एफएममा न्युज भन्ने, गीतिकथा चलाउने
साहित्यिक कार्यक्रम ‘सारश्वत’ चलाउने जस्ता
केही रेकर्ड राख्ने कामसँगै बिहान ६ बजे
र राती १२ बजेसम्म बोल्ने काम गरियो
दिउँसोचाहिँ अफिस जानुपथ्र्यो ।
यसबाहेक ३६ सालदेखि नै रङ्गमञ्चमा पनि सक्रिय थिएँ
त्यतिवेला नै टिकटमा कार्यक्रम गरियो
रङ्गमञ्चमा बढी सक्रिय भएपछि
४० सालमा ‘युनाप’ युवा नाट्य परिवारको गठन गरियो
त्यसमध्ये ‘कुमारी’ र तीन दिदीबहिनीको अभिनय अझै सम्झिन्छु
नाटक लिएरै गाउँगाउँ डुलियो/भारत नि गइयो
त्यो वेला संस्थाको अध्यक्ष मात्र होइन
माइकिङ् गर्ने, टिकट बेच्ने, पोस्टर टाँस्ने आदि हरेक काम गरियो
यसबाट के सिकियो भने काम ठूलो-सानो हुन्न
र खटेर काम गरियो भने सफल भइन्छ, भइन्छ ।

यो सबै जे गरेँ आफ्नै रहरले गरेँ
सबै काम जे- जे गरेँ रमाएर गरेँ
तर संस्कृत नजानेकोमा भने पछुतो छ
साथीहरूको सङ्गतले धेरै कुरा बुझे पनि
आफैँले संस्कृत पढ्न पाए हुन्थ्यो जस्तो लाग्छ
जे भएपनि अहिलेसम्म सार्वजनिक जीवन बाँचियो
अब पनि सिर्जनामै र परहितमै बाँच्न मन छ


राजेन्द्र शलभ
[email protected]