पर्वतारोहीहरु किन हिमाल चढ्छन् ?
किन शान्त तलाउको हावा खान छोडी
पुग्छन् अक्सिजन विहीन ठाउँ
जिन्दगीकै जोखिमपुर्ण यात्रा गर्न ?
खेलाडीहरु किन उफ्रिन्छन् ?
किन घरभित्र मस्त सुत्न छाडी
दौडिन्छन् प्रत्येक बिहान व्यायाम गर्न
त्यही घाइते शरीर बोकेर ..?
साधुहरु किन एकान्तमा बस्छन् ?
किन घर परिवारको माया मारी
सांसारिक सुख भोग त्यागी
धाउँछन् अनकन्टार जङ्गलतिर ?
किन कुनै पर्वतारोही
आफ्ना औँलाहरु गुमाउँदा पनि
छोड्दैन उसले हिमाल चढ्न ?
किन कुनै खेलाडी
हात खुट्टा भाँचिदा पनि
छोड्दैन उसले कसरत गर्न ?
किन कुनै साधु
मरणासन्न बिरामी पर्दा पनि
छोड्दैन ध्यान गर्न ?
बालकले सोधिरह्यो यिनै प्रश्नहरु
खोजिरह्यो जीवनभर तिनका उत्तर
जुन दिन उसले उत्तर पायो
त्यस दिन उ कवि भैसकेको थियो !
संसार नेपाली
[email protected]