• २०८२ आश्विन २६, आईतवार

शारदा मासिक पत्रिकाको ‘हस्तलिखित कविता अङ्क’ लोकार्पण

काठमाडौं ।

नेपाली साहित्यको ९१ वर्ष पुरानो प्रतिष्ठित मासिक पत्रिका ‘शारदा’ले यसपटक साहित्यिक इतिहासमै एक अनौठो र स्मरणीय प्रयोग स्वरूप ‘हस्तलिखित कविता अङ्क’ प्रकाशित गरेको छ । ‘डट्पेन÷कलमले लेख्न करीब बिर्सिसकेको यो डिजिटल जमाना’मा ६७ जना कविहरूका हस्तलिखित रचना सङ्कलन गरेर अङ्क प्रकाशित गरिएको समाचार सम्पादक विमल भौकाजीले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्नुभएको हो ।

वि.सं. १९९१ मा सुब्बा ऋद्धिबहादुर मल्लको सम्पादनमा काठमाडौंबाट प्रकाशन प्रारम्भ भएको ‘शारदा’ले कवि शिरोमणि लेखनाथ पौड्यालदेखि राष्ट्रकवि माधवप्रसाद घिमिरे, महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाट्य सम्राट् बालकृष्ण सम, युगकवि सिद्धिचरण श्रेष्ठ, भवानी भिक्षुजस्ता कालजयी स्रष्टाहरूको सिर्जना प्रकाशित गर्दै आएको गौरवपूर्ण इतिहास बोकेको छ ।सामाजिक सञ्जालमा भौकाजीले लेख्नुभएको छ “मैले ६७ जना कविहरूको आफ्नै शानदार हस्तलिखित कविताहरू सङ्कलन गरी अङ्क निकालेँ”। यस कार्यलाई साहित्यिक वृत्तले उच्च सम्मानका साथ लिएको देखिएको छ ।

शारदाको इतिहासमै पहिलोपटक प्रकाशित यस ‘हस्तलिखित कविता अङ्क’लाई साहित्यिक संस्कृतिको संरक्षण र भावनात्मक अभिव्यक्तिको प्रत्यक्ष प्रमाणका रूपमा लिइएको छ । प्रकाशित कविहरूमा पुष्कर लोहनी, विनोद नेपाल, सुनील पुरी, उषा शेरचन, अशेष मल्ल, किशोर पहाडी, कृष्ण बाउसे, सुमन थापा संगम, मणि लोहनी, भागीरथी श्रेष्ठ, प्रदीप सापकोटा, अनुराधा ढकाल, डा. विप्लव ढकाल, डा. रूपक श्रेष्ठ लगायत समकालीन साहित्यका सशक्त हस्तीहरू समावेश हुनुहुन्छ ।

पत्रिकाको पृष्ठ ७१ मा सम्पादक भौकाजीद्वारा लिखित सम्पादकीय ‘कैफियत’ समावेश गरिएको छ, जसमा अङ्क प्रकाशनको उद्देश्य र पृष्ठभूमि स्पष्ट पारिएको छ । यस विशेष अङ्कमा समावेश कविताहरू साहित्यिक मौलिकताको मात्र नभई भावनात्मक छाप र लिपिबद्ध संस्कृतिको महत्व दर्शाउने अमूल्य प्रयासका रूपमा हेरिएको छ । विशेष ध्यानाकर्षण: यस अङ्कको एक तस्बिरमा ‘शब्दपथ’का प्रधान सम्पादक किशोर पहाडीको हस्तलिखित कविता देख्न सकिन्छ, जुन सम्पूर्ण प्रयासको प्रतिनिधित्व गर्ने नमुना बन्न पुगेको छ । शारदाको यो ऐतिहासिक अङ्क नेपाली साहित्यमा हस्तलिपिको पुनरागमनका रूपमा चिनिने विश्वास गरिँदैछ ।