समाचार
भाषा, साहित्य, कला तथा संस्कृतिको विकासका लागि मोरङमा ‘कोसी साहित्य–कला प्रतिष्ठान नेपाल’ संस्थाको गठन गरिएको छ। बेलबारी बहुमुखी क्याम्पस, बेलबारी, मोरङमा आयोजित एक कार्यक्रममा मोरङका विभिन्न पालिकाका भाषा, साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा काम गरिरहेका व्यक्तित्वहरूको भेलाले उक्त साहित्यिक संस्थाको गठन गरेको हो ।
लेखक तथा अनुसन्धाता केशु विरहीको अध्यक्षतामा गठित तदर्थ समितिमा विष्णु भण्डारी आचार्य (उपाध्यक्ष), नवराज पोखरेल ‘नवशिला’ (सचिव), गीता कुलुङ राई (सहसचिव), चिरञ्जीवी काफ्ले ( कोषाध्यक्ष) रहेका छन् । त्यस्तै ३ जना सदस्यपछि थप्ने गरी गठित १३ सदस्यीय समितिका सदस्यहरूमा प्रिन्स प्रमोदकुमार ढकाल, मनोस विश्वकर्मा, सिजन श्रेष्ठ, नवीन थापा क्षेत्री, लक्ष्मीप्रसाद फुयल आदि रहेका छन् ।
उक्त साहित्यिक भेलामा वरिष्ठ साहित्यकार हर्कमान तामाङ, भाषाविद् अमृतप्रसाद आचार्य, सुकुना बहुमुखी क्याम्पसका पूर्व प्रमुख प्रेमप्रसाद भट्टराई, अग्रज स्रष्टा रामविक्रम थापा, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, विराट साहित्य समाजका कार्यवाहक अध्यक्ष विदुर सुवेदी, भानु साझा पुस्तकालयका अध्यक्ष पुरन याक्खा, बेलबारी प्रज्ञाप्रतिष्ठानका उपाध्यक्ष धनजित पराजुली, सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष डा. छवि वैरागी घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै रमेशचन्द्र अधिकारी, गीताप्रसाद श्रेष्ठ, यादव भट्टराई, दुर्गा न्यौपाने रूपाखेती, शान्ता भट्टराई, एकराज भट्टराई लगायतका स्रष्टा तथा कलाकारहरूको उपस्थिति रहेको थियो । हरेक साहित्यिक संस्थामा केही व्यक्ति मात्र हावी हुने, सङ्घसंस्थालाई सीमित घेरामा कैद गर्ने, एउटै व्यक्तिले धेरै ठाउँको नेतृत्व ओगट्ने तर काम भने नगर्ने, कुनै पनि संस्थामा व्यक्तिको योगदानभन्दा पनि उसको राजनीतिक आस्था मुख्य आधार बनाइने परम्परा तोड्दै योगदान र क्रियाशीलताका आधारमा सबैलाई समेट्ने उद्देश्यले संस्थाको स्थापना गरिएको नव गठित तदर्थ समितिका अध्यक्ष केशु विरहीले बताए ।
