• २०८२ आश्विन ७, मंगलवार

‘गीता मन्थन’ र ‘ओदान’ दुई कृतिहरू लोकार्पित

काठमाडौं ।

साहित्यकार विश्वराज अधिकारीद्वारा लिखित चिन्तनकृति ‘गीता मन्थन’ तथा डा. कुसुमाकर शर्मा गौतम, खेमराज पोखरेल र अधिकारी लिखित संयुक्त लघुकथाकृति ‘ओदान’ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । सोमबार सर्वनाम थिएटरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नाट्यकर्मी अशेष मल्ल, कवि विश्वविमोहन श्रेष्ठसहितका व्यक्तिले कृति लोकार्पण गरे ।

कृति सार्वजनिक गर्दै प्रमुख अतिथि मल्लले गीता आफैँमा एउटा अद्भूत ग्रन्थ भएको उल्लेख गर्दै गीता सबैले पढ्नु पर्ने बताए । उनले ४० वर्षअघि नै गीताको दर्शनकाबारेमा बीपी कोइराला र कृष्णप्रसाद भट्टराईबाट सुनेको प्रसंग स्मरण गर्दै निकै पछि गएर मात्र गीताको महत्त्वबारे थाहा पाएको उल्लेख गरे । प्रमुख अतिथि मल्लले गीता अध्ययनले मानसिक शान्ति दिने बताए ।

कवि विश्वविमोहन श्रेष्ठले अधिकारीको साहित्यिक सक्रियताको चर्चा गर्दै अमेरिकामा रहेर पनि नेपाली साहित्यको सेवाप्रति उनको समर्पण सराहनीय भएको बताए । कार्यक्रममा रामचन्द्र महतो कुशवाहाले अधिकारीले बज्जिका भाषामा पनि पुस्तक प्रकाशनमा ल्याएर ठूलो गुन लगाएको चर्चा गर्दै बज्जिका भाषामा उनको योगदानबारे बोले ।

कुशवाहाले मलंगवा नगरपालिकाद्वारा साहित्यकार अधिकारीलाई प्रदान गरिएको ‘बज्जिका सम्मान २०८१’ समेत हस्तान्तरण गरे । कार्यक्रममा साहित्यकार डा. दीनबन्धु शर्माले सार्वजनिक कृति ‘गीता मन्थन’माथि टिप्पणी गर्दै गीता मानव सभ्यताको बौद्धिक सम्पति भएको उल्लेख गरे । उनले सार्वजनिक कृति गम्भीर तर पठनीय भएको बताए ।

कार्यक्रममा साहित्यकारहरू प्रा.डा. मुकेशकुमार चालिसे, श्रीओम श्रेष्ठ रोदन, डा. हिमलाल श्रेष्ठ, ममता मृदुलले कृति र कृतिकारबारे बोले ।अमेरिकामा पनि प्राध्यापन गर्दै आएका सर्जक अधिकारीले गीता आफैंमा एउटा साहित्यिक पुस्तक भएको बताउँदै ‘गीता मन्थन’मार्फत् आफ्ना विचार साझा गरेको बताए ।