• २०८२ कार्तिक १९, बुधबार

‘गरिमा’ मासिक पत्रिकाको ४०१औँ अंक बजारमा

काठमाडौं ।

साझा प्रकाशनबाट प्रकाशित हुँदै आएको ‘गरिमा’ मासिकको ४०१औँ अंक बजारमा आएको छ । सोमबार भानु जयन्तीको अवसर पारेर साझाले आयोजना गरेको कार्यक्रममा संस्कृतिविद् हरिराम जोशी, कवि शेखर गिरि, डा. तुलसी भट्टराई, डा. विष्णुविभु घिमिरे, उषा शेरचन, प्रा.डा. रमेश भट्टराई लगायतले पत्रिका सार्वजनिक गरे ।

वि.सं. २०३९ पुसदेखि विष्णुविभु घिमिरेको सम्पादनमा प्रकाशन आरम्भ भएको ‘गरिमा’ २०७९ कार्तिक महिनामा ४०० अंक प्रकाशित भए उप्रान्त प्रकाशनमा आउन सकेको थिएन । साहित्यकार शेखर गिरीको अध्यक्षतामा नयाँ निर्वाचित सञ्चालक समितिले मनोजादित्य न्यौपानेलाई गरिमाको सम्पादकीय जिम्मेवारी सुम्पिएपछि यसको पुनः प्रकाशन सुरु भएको हो ।

गरिमालाई नवीन भावबोध, कला सञ्चेतना र सामयिक स्वरको प्रतिनिधि मासिक पत्रिका बनाउने प्रयत्न रहेको सम्पादक मनोजादित्यको भनाइ छ । नेपाली मन, नेपाली पन र नेपाली जीवनको जीवन्त साहित्यिक पत्रिकाको रूपमा पाठकहरूमाझ रहेको गरिमाको लोकप्रियतालाई खस्किन नदिने उनले बताएका छन् । उक्त अवसरमा आयोजित कविगोष्ठीमा कविहरूले आआफ्ना रचना वाचन गरे ।