गजल

सिलगढी ।
हास्यव्यङ्ग्यकार गिता लेप्चा राईको पहिलो हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह ‘ब्याक्बाइटिङ क्वीन’ लोकार्पण गरिएको छ । सिलगढी स्थित दार्जिलिङ मोडको सिक्स्टी प्लस एसोसिएसको सभाकक्षमा आइतबार सम्पन्न एक समारोहमा कृति लोकार्पण गरिएको हो । कार्यक्रमको अध्यक्षता हास्यव्यङ्ग्यकार कृष्ण प्रधान र संस्था अध्यक्ष पि. एस. घिमिरेका साथै प्रमुख अतिथि युवराज काफ्ले रहनुभएको थियो भने विशिष्ट अतिथिमा बि. बि. मुखिया रहनु भएको थियो ।
दीप प्रज्वलन गरी शुरू गरिएको कार्यक्रममा दिवङ्गत स्रष्टाहरूको स्मरणमा एक मिनेटको मौनधारण गरिएको थियो । कार्यक्रममा संस्था अध्यक्ष पी. एस. घिमिरेबाट सु-स्वागतमका शब्द राखिएपछि समीक्षक ऋषि राईले कृतिको समीक्षा र चम्पासरी युवा नाट्य मञ्चका अध्यक्ष कृष्ण बस्नेतले कृतिकार नगिता लेप्चा राईको परिचय प्रस्तुत गर्नुभएको थियो । प्रमुख अतिथिको सङ्क्षिप्त सम्भासनपछि उहाँबाटै कृति लोकार्पण गरियो । त्यसको लगत्तै कृति लोकार्पण भएको घोषणा कार्यक्रमका अध्यक्ष हास्य व्यङ्ग्यकार कृष्ण प्रधानले गर्नुभयो । लोकार्पणमा कार्यक्रमका अध्यक्ष, संस्था अध्यक्ष, प्रमुख अतिथि विशिष्ट अतिथि लगायत कृतिकारको परिवार पक्षबाट श्रीमान किशन लेप्चा, आमा सिजु सुब्बा, पापा कुमार सुब्बा, छोरी नेहारीका लेप्चा, कृतिकार स्वयम् र अन्य साहित्यानुरागीहरू उपस्थित थियो।
लोकार्पित कृति ‘व्याक्बाइटिङ क्वीन’ भित्र ३१ वटा निबन्धहरू सङ्ग्रहीत छन् । डा. गोविन्दराज भट्टराई र फित्कोकौलीका सम्पादक नरनाथ लुइँटेलका शुभेच्छा शुभकामना मन्तव्य सहित कृष्ण प्रधानको समीक्षात्मक भूमिका रहेको छ । सङ्ग्रहको शीर्ष निबन्ध ‘व्याक्बाइटिङ क्वीन’लाई फित्कौली डटकमले २०८० को चैत्र १३ गते प्रविष्ट गरेको थियो । त्यसो त सङ्ग्रहमा परेका झण्डै आधाभन्दा बढीजसो व्यङ्ग्य निबन्धहरू फित्कौली डटकममा प्रविष्ट भइसकेका छन् । सम्पादक लुइँटेलले शुभेच्छा जाहेर गर्ने क्रममा भन्नु भएको छ– ‘विषयवस्तुमा छिरेर सामान्य र मसिना कुरालाई उठाउँदै आफू वरिपरिको सामाजिक जीवनका विसङ्गत यथार्थमाथि प्रहार गर्न नगिता निक्कै सिपालु भइसकेकी छिन् । निबन्धहरू सुरुचिपूर्ण, रसिला र हँसिला पनि छन् । यथास्थानमा व्यङ्ग्यको ‘टेक्निक’ राम्रोसँग निर्वाह भएको देखिन्छ ।’
त्यसै गरी ‘भ्रष्टाचारको भारी र पाखण्ड्याइँको पहाड टेक्दै हिँड्नु परेको अवस्था र त्यस्ताप्रति सिर्कना हान्ने, तिनका लुगा खोलेर सिस्नाले डाम्ने र बाजेको मुटु छाम्ने काममा नगिता सिपालु र नीर्भिक रहेको’ बताउँदै नगितालाई नथाकी लेखिरहन डा. गोविन्दराज भट्टराईले शुभेच्छा व्यक्त गर्नु भएको छ । यस कृतिलाई समकालीन साहित्य प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो ।