... र शलभ

एकाबिहानै दुःखद खबर सुनियो
गन्तव्यमा दौडिरहेको बस
त्रिशूलीमा खसेर बेपत्ता भो ।
अकालमा धेरैले मृत्यु वरण गरे
मान्छेहरूले भने
भवितव्यमा परेछन्
दैवको लीला !
समाचारपत्रले मुख्य पृष्ठमा
एउटा हृदय विदारक तस्बिर छाप्यो र लेख्यो
सडक दुर्घटनामा पैदल यात्रीको बीभत्स मृत्यु
मान्छेहरूले भने
बिचरा ! नियतिले चुँडेर लगेछ
दैवको लीला !
अथाह सपनाहरू बोकेर
आकाशमा उडिरहेको जहाज
भीरको खोँचमा गएर ठोकियो
सयौँ सपनाहरू चकनाचुर भए
मान्छेहरूले भने
हुने हुनामी टारेर टर्दैन’
दैवको लीला !
भीषण बाढीले
एउटा पुरै बस्ती नै बगायो
बस्तीसँगै सयौँ भविष्यहरू उजाडिए
जान्ने बुझ्नेहरूले भने
मान्छेहरू अधर्मी हुँदै गए
दैवको लीला !
एवम् रितले
कोही धरापमा परे
कोही प्रकोपमा परे
कोही महामारीले मरे
मर्नेहरू अकालै मरेर गए
बाँच्नेहरू लाचार तमासे बनिरहे
आफ्नो- आफ्नो भाग- भोग र
प्रारब्धलाई दोष दिँदै चित्त बुझाए
विपत्तिको कहर निरन्तर चलिरह्यो ।
मान्छेहरू चेतना विहीन थिए
त्यो देशमा सरकार थिएन
त्यहाँ सबै कुरा दैव मार्फत नै हुन्थ्यो ।
किशन पौडेल
हेटौंडा