कविता
काठमाडौँ ।
भूटानी शरणार्थी नेता बलराम पौड्यालद्वारा लिखित खोजमूलक पुस्तक ‘पर्दापछाडिको भूटान’ तथा त्यसको अङ्ग्रेजी संस्करण ‘भूटान बिहाइन्ड द कर्टेन’ ललितपुरको यलमाया केन्द्रमा सार्वजनिक गरिएको छ । टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा लेखक पौड्यालसँगै अधिकारकर्मी तथा पत्रकार कनमणि दीक्षित, देवेन्द्र भट्टराई र सुशील प्याकुरेलले पुस्तक सार्वजनिक गरेका थिए ।
नारायण फुयाल शर्मा र भिष्मप्रसाद सङ्ग्रौलाको सम्पादनमा तयार भएको अङ्ग्रेजी संस्करण सङ्ग्रौलाकै अनुवाद हो । कार्यक्रममा शरणार्थी तथा राजबन्दी मुद्दामा विमर्श हुँदै वक्ताहरूले भूटान सरकारद्वारा नेपालीभाषीमाथि भएको ज्यादतीको न्यायिक समाधानको माग गरे । उनीहरूले अझै नेपालमा ६ हजारभन्दा बढी शरणार्थी अन्योलमा रहेको, र भूटानका जेलहरूमा कैयौं नेपाली राजबन्दी रहेको बताए ।
अमेरिकाबाट निष्काशित भूटानी शरणार्थीहरूको अवस्था झनै जटिल बन्दै गएको उल्लेख गर्दै वक्ताहरूले नेपाल सरकारलाई गम्भीर कूटनीतिक पहल गर्न आग्रह गरे । कार्यक्रममा भिष्मप्रसाद सङ्ग्रौलाले सरोकार समूह गठनको प्रस्ताव राखेका थिए, जसमा उपस्थित अधिकारकर्मी तथा बुद्धिजीवी एकमत देखिए । लेखक पौड्यालले द्विपक्षीय वार्ता पुनः सुरु हुनुपर्नेमा जोड दिँदै २०२५ सालभित्र समस्या समाधानको आशा व्यक्त गरे ।
