कविता

काठमाडौँ ।
राणा शासन प्रणालीको अन्त्यपछि २०१५ सालमा भएको पहिलो संसदीय निर्वाचनमा अछाम र बाजुरा क्षेत्रबाट सर्वाधिक मत प्राप्त गर्ने सांसद दिलबहादुर कुँवर (बूढथापा) को जिवनीमा आधारित स्मृतिग्रन्थ राजधानीमा सार्वजनिक भएको छ ।
कांग्रेसका नेता तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा शुक्रबार आयोजित समारोहमा पुस्तक विमोचन गरेका थिए । अछाममा मालपोत कार्यालयको स्थापनाको माग गर्न उनले २०१४ सालमा राजा महेन्द्रको सुदूरपश्चिमको डोटीमा आयोजित शाही सवारीमा रहेका राजाको घोडाको लगाम समातेर विद्रोह गरेको घटना चर्चितमध्येको एक हो । यसबाहेक राणाकालमा बडाहाकिमलाई कालोमोसो दलेर सिलगढीबाट निकाला गरेर त्यस क्षेत्रमा न्याय, शिक्षा र भूमिसुधारका क्षेत्रमा उनले गरेका काम चर्चित छन् ।
‘पिजाती २०१४ सालमा अछाम जिल्लामा निर्वाचित नेपाली कांग्रेसको प्रथम सभापति हुनुहुन्थ्यो,’ उनका जेठा छोरा बलबहादुर कुँवरले भने,‘०१५ सालमा भएको निर्वाचन क्षेत्र नम्बर ७२ अन्तर्गत अछाम र बाजुरा जिल्लाबाट सुदूरपश्चिम क्षेत्रबाटै सर्वाधिक मत ९ हजार ६ सय ५ ल्याएर विजयी हुनु भएको थियो । सबैभन्दा रोचक कुरा के थियो भने त्यो चुनावमा राजाको पक्षमा खडा गरिएको गोर्खा परिषद् दलका तर्फबाट काठमाडौंबाट अछाम र बाजुरा क्षेत्रमा निर्वाचनमा भाग लिन भएका जगदीशशमशेर राणाले दिलबहादुर कुँवरसँग पराजय भोग्नु परेको थियो ।’
कांग्रेसले २०१७ सालमा सम्पन्न गरेको महाधिवेशनमा बीपी कोइरालाको अध्यक्षतामा ३२ सदस्यीय केन्द्रीय कार्यसमिति गठन भएको थियो । उक्त कार्यसमितिमा कुँवर सदस्यमा चुनिएका थिए । राजनीतिबाहेक दिलबहादुर कुँवरले अछाममा भाषा पाठशाला, बयलपाटामा पहिलो माध्यमिक विद्यालय स्थापना गरेका थिए । पुस्तक प्रकाशन गर्ने परिवारजनले यो कृति राणाकालीन समयको सुदूरपश्चिमको दुर्गम जिल्ला अछाम, बाजुराको अध्ययन गर्न नयाँ पुस्ताका लागि ज्यादै उपयोगी हुने भनेको छ ।