• २०८२ आश्विन ६, सोमबार

वायुसेवा निगमको वार्षिकोत्सवमा कविता प्रतियोगिता सम्पन्न

काठमाडौँ ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आफ्नो ६७ औं वार्षिकोत्सवका अवसरमा कविता प्रतियोगिता गरेको छ ।

निगममा कार्यरत बहालवाला कर्मचारी र पूर्वकर्मचारी सहभागी प्रतियोगितामा प्रमिला लुईँटेल प्रथम, विनय पौडेल द्वितीय र भाष्कर खनाल तृतीय भए । नारायण पौडेल र सौगात वाग्लेले सान्त्वना पुरस्कार पाए । प्रतियोगितामा निगमका २३ जना कर्मचारीले कविता वाचन गरेका थिए ।

विजेता कविलाई प्रमुख अतिथि एवं निगमका कार्यकारी अध्यक्ष साहित्यकार युवराज अधिकारीले नगद पुरस्कार, प्रमाणपत्र र मायाको चिनो प्रदान गरेर पुरस्कृत गरे । उनले हालै सार्वजनिक गरिएको आफ्नो कविता संग्रह ‘युद्ध युद्ध नै हुन्छ’ बाट एक कविता वाचन गरेका थिए ।

प्रतियोगिताको निर्णायकमा साहित्यकार डा।नवराज लम्साल, प्रा. डा. देवी नेपाल र कल्पना काफ्ले रहेका थिए ।