• २०८१ श्रावाण ११ शुक्रबार

पोयमाण्डू (Poemandu) काव्यउत्सव कार्यक्रम निरन्तरताको घोषणा

भारतीय दुतावास अन्तरगत रहेको भाषा तथा संस्कृति प्रभागको तत्वावधानमा हुँदै आएको काव्य विशेष कार्यक्रम पोयमाण्डू (Poemandu) प्राविधिक तथा कोरोनाका कारण नियमित हुन सकेको थिएन । उक्त कार्यक्रमले निरन्तरता पाउने भएको छ ।

काठमाडौंमा आयोजित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र तथा राष्ट्रिका साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भएको नेपाल भारत कवितावाचन कार्यक्रमका अवसरमा पोयमाण्डू काव्य उत्सव राष्ट्रिका साहित्य प्रतिष्ठानको सहकार्यमा निकट भविष्यमै पुनः प्रारम्भ गर्ने घोषणा गरिएको छ ।

वरिष्ठ साहित्यकार डा. तुलसी प्रसाद भट्टराईको प्रमुख आतिथ्य तथा भारतीय दुतावासका प्रथम सचिव नवीनकुमार, सांस्कृतिक सहचारी सत्यन्द्र दहिया समेतको उपस्थितिमा भएको पोयमाण्डू काव्यउत्सवमा अग्रज, स्थापित तथा नयाँ पुस्ताका बहुभाषिक कविहरूको काव्य पाठ सुन्ने र वाचन गरिएका कविताको सङ्ग्रह प्रकाशन गर्ने योजनालाई सार्वजनिक गरिएको छ । नेपाली, हिन्दी, उर्दू तथा अन्य मातृभाषाका कविहरूको सहभागीता पोयमाण्डूको विशेषता रहने छ ।

राष्ट्रिका साहित्य प्रतिष्ठानले आधुनिक दोहाका कबीरले परिचित कवि नरेश शांण्डिल्यलाई काठमाडौंँमा सम्मान समेत गरेको उक्त कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरेले पोयमाण्डूले दुईदेश बिचको भाषिक, साहित्य एवं सांस्कृतिक सम्बन्ध प्रगाढ रहने विचार राखेका थिए ।