• २०८२ आश्विन ८, बुधबार

कोइरालालाई ‘सोमनाथ घिमिरे’ र प्रधानलाई ‘सत्यमोहन जोशी’ पुरस्कार

काठमाडौँ ।

पत्रकार बीपी कोइराला र साहित्यकार श्याम प्रधानलाई नगद राशिसहितको पुरस्कारबाट सम्मान गरिएको छ । सञ्चार मञ्च प्रालि र गिद्धे प्रेसले आइतबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा कोइरालालाई ‘गिद्धे प्रेस सोमनाथ घिमिरे राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८२’ र प्रधानलाई ‘अमर स्रष्टा सत्यमोहन जोशी सिर्जना पुरस्कार–२०८२’ प्रदान गरिएको हो ।

पत्रकारिता र सामाजिक कार्यमा डेढ दशकभन्दा लामो समयदेखि र्पुयाएको योगदानको मूल्यांकन गर्दै कोइरालालाई सम्मान गरिएको आयोजकले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले यस्ता कार्यक्रमले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको योगदानलाई जीवन्त राख्ने बताए।

‘यस्ता अभियानले सत्यमोहन जोशीको योगदानलाई जीवन्त बनाउँछ र पुरस्कृत व्यक्तिको पनि उचित मूल्यांकन हुन्छ,’उनले भने । कार्यक्रममा डा.तुलसी भट्टराईले पुरस्कृत स्रष्टा प्रधान यस्ता पुरस्कारका लागि योग्य प्रतिभा भएको बताए । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति विष्णुविभु घिमिरेले साहित्य र पत्रकारितालाई जोड्ने गिद्धे प्रेसको काम उदाहरणीय रहेको उल्लेख गरे ।

वरिष्ठ पत्रकार सोमनाथ घिमिरेले आफ्नो नाममा पुरस्कार स्थापना भएकोमा आश्चर्य व्यक्त गर्दै वर्तमान समयमा नेपाली पत्रकारिता जोखिममा रहेको बताए । पुरस्कार ग्रहण गर्दै साहित्यकार प्रधानले यति ठूलो नामसँग जोडिएको पुरस्कारले साहित्यकर्ममा थप हौसला मिलेको सुनाए । कार्यक्रममा ११ जना प्रजातन्त्र सेनानीका परिवारलाई समेत सम्मान गरिएको थियो ।