वसन्त वेला

काठमाडौं ।
शुरभि साहित्य प्रतिष्ठानको आज बसेको बैठकले २०८२ सालको ‘सुरभि–मुना–पुष्कर चालिसे छन्द कविता पुरस्कार’ कवि तथा महाकाव्यकार रमेश खकुरेललाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलका अनुसार, यो पुरस्कार यसै वर्षदेखि अर्पण गर्न सुरु गरिएको हो । पुरस्कार अन्तर्गत रु. २५ हजार नगद, दोसल्ला र सम्मानपत्र प्रदान गरिनेछ ।
पुरस्कारका लागि गठित प्रतिभा चयन समितिमा संयोजक गोविन्द घिमिरे वेदमणि तथा सदस्यहरूमा मेनका पोख्रेल आचार्य र परसुराम पराशर रहनुभएको थियो । पुरस्कार आगामी असार २१ गते एक विशेष साहित्यिक समारोहमा प्रदान गरिनेछ । सोही अवसरमा छन्द विशेष कवि गोष्ठी तथा प्रतिष्ठानले नियमित रूपमा सञ्चालन गर्दै आएको मासिक कथावाचन कार्यक्रम पनि आयोजना गरिने जनाइएको छ । यो पुरस्कारले नेपाली छन्द कविता विधामा योगदान दिने स्रष्टाहरूको हौसला बढाउने विश्वास गरिएको छ ।