• २०८१ चैत १२ बुधबार

बरु

ईश्वर पोखरेल

ईश्वर पोखरेल

घर किन्दाको ऋण छँदैथियो, त्यसमाथि आफैँ बिरामी भएपछि धान्न सक्ने अवस्थै रहेन । अनि श्यामले घर बेच्यो । ऊ तन्दुरुस्त भएर फेरि जीवन संघर्षमा फर्किन चाहन्थ्यो । तर उपचारका लागि ठूलो धनराशीको आवश्यकता थियो । घर बेचेपछि श्यामले सोच्यो- ‘सहकारीको हिसाब चुक्दा गर्छु, त्यो गर्नै पर्छ । अनि आर्थिक अवस्था अलिक कमजोर भएका साथीहरुसंग लिएको ऋण तिर्छु, तिनीहरू आफैँ पनि आर्थिक संकटमा छन् । बाँकी जे जति रहन्छ, त्यसले उपचार गर्नुपर्ला ।’

श्यामले घर बेचेको कुरा एक कान, दुई कान भएर फैलिएछ । सबैभन्दा पहिले भाउजू आउनु भयो । भाउजूलाई श्याम गम्भीर संकटमा छ भन्ने थाहा नभएको होइन । तर भाउजूले भन्नु भो- ‘बाबु घर बेच्नु भएछ । त्यो बाँकी पैसा अब मिलाइ हाल्नुहोला ।’ श्याम केही बोल्न खोज्यो तर बोल्नभन्दा उसलाई पैसा गन्न सहज लाग्यो । आजै साड्दाइ आउनु भो । पैसा कै कुरा निस्कियो । श्यामले साड्दाजुको पनि तिरयो ।

यही मेहेरोमा श्यामले अरु केही आफन्तको पैसो फस्र्यायो, जसलाई श्यामको अवस्थाको बारेमा भलिभाँती जानकारी थियो । थैलीमा थोरै मात्र बाँकी रहेपछि श्यामले सहकारी सम्झियो । त्यो अहिलेसम्म ‘मेरो पैसा ले’ भनेर नजिकका मान्छे जसरी धर्ना बस्न आएको थिएन । श्यामलाई बरु सहकारी चै आफन्त जस्तो लाग्यो ।