समाचार

काठमाडौँ ।
दक्षिण कोरियामा रोजगारी गरी फर्किएर नेपालमा सफल व्यवसाय सञ्चालन गरेका ५० नेपालीको सफल जीवनकथा समेटिएको पुस्तक ‘तपाईं पनि मालिक बन्न सक्नुहुन्छ’ सार्वजनिक भएको छ । नेपालस्थित गणतन्त्र कोरियाली दूतावासको पहलमा शिवप्रसाद पोखरेलले लेखेको पुस्तक उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपालका लागि कोरियाली राजदूत पार्क थेयङ र कोइका नेपाल प्रमुख खोङ मुहनले संयुक्त रूपमा विमोचन गरे ।
कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले वैदेशिक रोजगारीको अनुभव र सीपलाई स्वदेशमै व्यवसायमा रूपान्तरण गर्न सकेको उदाहरणप्रति प्रशंसा गर्दै आगामी दिनमा अरूले पनि यसबाट प्रेरणा लिन सक्ने विश्वास व्यक्त गरे । यस किसिमको पुस्तकले न केवल प्रेरणा दिन्छ, दुई देशबीचको सम्बन्ध मजबुत बनाउन पनि भूमिका खेल्छ, उनले भने ।
राजदूत पार्क थेयङ र कोइका प्रमुख मुहनले पनि पुस्तकले नेपाल–कोरिया सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे । पुस्तकमा १९९० दशकमा औद्योगिक प्रशिक्षार्थीको रूपमा कोरिया गएकादेखि सन् २००७ पछि इपीएस प्रणालीमार्फत गएका नेपाली कामदारहरूका कथा समेटिएका छन् । उनीहरूले कोरियामा आर्जन गरेका सीप, पूँजी र अनुभवलाई स्वदेशमै प्रयोग गर्दै कृषिक्षेत्र, उत्पादन, सेवा र शिक्षाजस्ता क्षेत्रमा व्यवसाय सञ्चालन गरी सफल भएका छन् ।
कुल ५० जनाको जीवनकथा समेटिएको पुस्तकमा उत्पादनमूलक क्षेत्रमा २०, कृषिमा १६, सेवामूलक क्षेत्रमा ९ र शिक्षण क्षेत्रमा ५ जना उद्यमीको अनुभव समावेश गरिएको छ । कार्यक्रममा सुरेशबहादुर क्षेत्री र धर्मराज जोशीले आफ्ना व्यावसायिक यात्राका अनुभव सुनाउँदै सफलताको मूलमन्त्र धैर्यता, लगानी र कठिन परिश्रम भएको बताए । सो अवसरमा लुम्बिनी प्रदेशका ११ वटा व्यवसायमाथि तयार पारिएको विशेष भिडियो सामग्री पनि प्रस्तुत गरिएको थियो ।