• २०८२ आश्विन २, बिहीबार

श्रेष्ठको बालकवितासङ्ग्रह ‘भावनाका लहरहरू’ सार्वजनिक

काठमाडौँ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभामा आयोजित एक कार्यक्रममा ओखलढुङ्गाकी कवि रेणुका श्रेष्ठद्वारा रचित ‘भावनाका लहरहरू’ बालकविता सङ्ग्रहको लोकार्पण गरिएको छ । कार्यक्रमका प्रमुख अथिति, सदस्य चेतनाथ धमलाले गर्नुभएको थियो । प्राज्ञ धमलाले भावनाका लहरहरूमा समाज भनेको विविधताको सौन्दर्य हो । कृतिले बालबालिकाको बालमनोविज्ञानलाई आत्मसात् गर्दै उत्साह प्रदान गरेको उल्लेख गर्नुभयो ।कृति समाजका साहित्यिक ,सांस्कृतिक र सामाजिक लगायतका पक्षमा बालबालिकाको भावना अनुरूप चित्रित भएको कुरा ललितपुरको इमाडोलमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि धमलाले बताएका हुन् । उनले भावनाका लहरहरू बालकविता सङ्ग्रह बालबालिकाका लागि उपयोगी, सरल र सटीक रहेको बताए । कवयित्री रेणुका श्रेष्ठको पहिलो कृति नै विधागत रूपमा स्तरीय रहेको उनले बताए ।

कार्यक्रममा अतिथि स्रष्टाहरू गणेशकुमार श्रेष्ठ, दिव्यदेव गिरी र गोपाल भित्रीकोटीले शुभकामना मनतव्य राख्नुभएको थियो । कार्यक्रमका सभाध्यक्ष तथा भावनाका लहरहरू बालकवितासङ्ग्रहका सर्जक रेणुका श्रेष्ठले आफूले बालबालिकाको मनोभावना अनुसार कविता रच्ने प्रयत्न गरेको बताउनु भयो । श्रेष्ठले आफ्ना पिता साहित्यकार बाबुराम श्रेष्ठ र उपन्यासकार बहिनी पार्वती श्रेष्ठको प्रभाव र प्रेरणाले कविता लेखनको थालनी गरेको बताइन् । भावनाका लहरहरू माथि साङ्गोपाङ्गो कृति समीक्षा कवि पार्थिवराज पाण्डेले गर्नुभयो । कार्यक्रममा स्वागत मन्तव्य उपन्यासकार पार्वती श्रेष्ठले राख्नुभयो । यसैगरी सटीक रूपमा कार्यक्रमको सञ्चालन ओखलढुङ्गा पत्रकार समाजका सदस्य, आदर्श खबर मासिकका सञ्चालक टीकादास श्रेष्ठले गर्नुभयो । उक्त कृतिको प्रकाशन समाजसेवी गोपालकुमार श्रेष्ठले गरेका हुन् । शिक्षण पेसामा आवद्ध रेणुका श्रेष्ठको यो कृति पहिलो हो ।