• २०८२ आश्विन २२, बुधबार

गजल प्रवद्र्धन केन्द्रको घोषणा र गजलसंग्रह ‘साधना’ विमोचन

काठमाडौं ।

नेपाली गजललाई अन्तर्राष्ट्रिय स्तरसम्म र्पुयाउने लक्ष्यका साथ हालै स्थापना भएको गजल प्रवद्र्धन केन्द्र, नेपालको औपचारिक घोषणा शनिबार राष्ट्रिय वाणिज्य बैंकको दरबारमार्ग स्थित सभा कक्षमा सञ्चालन भएको समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईज्यूले उद्घाटन गरि सम्पन्न भएको छ । सोही अवसरमा ७५ नेपाली गजलकारहरूद्वारा लिखित संयुक्त गजलसंग्रह ‘साधना’ पनि विमोचन गरिएको छ ।

गजल लेखनको प्रशिक्षण, प्रकाशन र सङ्गीतबद्ध गर्ने योजनासहित यस केन्द्रलाई भूपाल राईज्यूले “उच्च सफलतातर्फ अग्रसर” भन्नुभएको थियो । कुलपति भूपाल राईले पहिलो युवा गजलकार मोतीराम भट्टको नाममा ‘मोती गजल पुरस्कार’ स्थापना गर्ने केन्द्रको मागको स्वागत गर्दै, यसका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रज्ञाप्रतिष्ठानले गजल प्रवद्र्धन केन्द्रको अडान, योजनाहरू र गतिविधिमा पूर्ण समर्थन गर्ने वचन प्रदान गरेको छ ।

केन्द्रको संरक्षक डा घनश्याम न्यौपाने परिश्रमीज्यूले भन्नुभयो “२० वर्ष अघि देखेको यो सपनालाई केन्द्रले संस्थागत रूप दिन लागेकोमा खुशी लागेको छ । अब गजल विभिन्न नेपाली भाषाका समुदायसम्म पुग्ने समेत आशा गरिन्छ ।” संरक्षक डा.  परिश्रमीज्यूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । ‘साधना’का सम्पादक विमुन्स पौडेल, ध्रुव प्रसाद गजुरेललाई कदरपत्र प्रदान गरिएको थियो । कलाकारहरू सन्तोष श्रेष्ठ, सङ्गीत – पूजन मिश्र, टीका सुदिस निरौला, किशोर कोइराला, अरुण खड्का, शर्मिला तिमल्सिना, सुधीर थापा, उत्तम विचार, वासुदेव ठकुरी, कल्पना भट्टराई, संगीता खरेल, राजेन्द्रकुमार बज्राचार्यले तरन्नुममा गजल प्रस्तुत गर्नुभएको थियो । सभापति गजल प्रवद्र्धन केन्द्र, नेपालको अध्यक्ष अरुणकुमार श्रेष्ठ रहनुभएको थियो भने कार्यक्रम सञ्चालन केन्द्रका कोषाध्यक्ष विमुन्स पौडेलले गर्नुभएको थियो ।

स्वागत मन्तव्य उपाध्यक्ष डा. ठाकुर मोहन श्रेष्ठले गर्नु भएको थियो भने महासचिव एल. पी. पराजुलीले गजल प्रवद्र्धन केन्द्रको उद्देश्य र कार्ययोजना बारे प्रष्ट पार्नु भएको थियो । त्यसै गरि सल्लाहकार डा. देवी पन्थीले साहित्यमा धेर्यपूर्वक लाग्नेले सफलता पाउने विचार व्यक्त गर्नु भयो । यो कार्यक्रम नेपाली गजलको विश्वस्तरीय पहिचान र विकासका लागि एक नयाँ युगको सूत्रपात भएको आयोजकहरू बताउँछन् ।