• २०८२ कार्तिक १३, बिहीबार

प्रज्ञा–प्रतिष्ठानमा सुरेलभाषाको साहित्य विषयक विमर्शसहित २३ ओैँ मातृभाषा साहित्य शृङ्खला सम्पन्न

काठमाडौँ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा आयोजित नियमित ‘मातृभाषा साहित्यको २३ओैँ शृड्खला’को समुद्घाटन नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले ब्यानर वाचन गरेर गर्नुभएको थियो । उहाँले सङ्घीय, प्रादेशिक र स्थानीय प्रज्ञा–प्रतिष्ठानबिच समन्वय र कार्यविभाजन स्पष्ट नहुँदा एउटै कामको पुनरावृति भइरहेको बताउनु भएको थियो । लोपोन्मुख भाषाको जर्गेना गर्ने काममा स्थानीय सरकारको सक्रियता हुनुपर्ने कुरा सदस्य सचिव सुवेदीले बताउनुभएको थियो ।

प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (पद्यर काव्य) विभाग प्रमुख बाबा बस्नेतले मातृभाषाको विकासमा मातृभाषा साहित्य श्रृङ्खला महत्त्वपूर्ण रहेको बताउनु भएको थियो । कार्यक्रमका सभाध्यक्ष एवम् प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा) विभाग प्रमुख राजन मुकारुङले आदिवासी जनजातिका भाषा, साहित्य र संस्कृतिको उजागर गर्न मातृभाषा साहित्य शृङ्खलाले महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभएको थियो । उहाँले आगामी शृङ्खलादेखि दुईवटा मातृभाषा र साहित्यका बारेमा कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभएको थियो ।

कार्यक्रममा ‘सुरेल भाषाको साहित्य’ विषयक प्रस्तुति डम्बर अर्पणको रहेको थियो । उक्त प्रस्तुतिमाथि बयान सिंह, डा. सोम धिताल, समिर मुखिया र टेकबहादुर गुरुङले सहभागीका तर्फबाट जिज्ञासा राखेका थिए । अतिथि कवि जयन्ती सत्याल स्पन्दनले खसभाषा, जगबहादुर बुढाले काइके मगरभाषा र बयानसिं राईले चाम्लिङ भाषामा कवितावाचन गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले गर्नुभएको थियो ।