समाचार

नवलपरासी ।
आख्यानकार जयराम तिमल्सिनाद्वारा लिखित पहिलो उपन्यास ‘धीमहि’ नवलपरासीस्थित दि नारायणी रिसोर्टमा आयोजित विशेष कार्यक्रममा ‘पाठकको अदालतमा जयराम तिमल्सिना’ शीर्षक अन्तर्गत विमर्श गरिएको छ । कार्यक्रममा साहित्यकार एलबी क्षेत्रीले न्यायाधीशको भूमिका,समालोचक रमेश प्रभातले सहजकर्ताको भूमिका, साहित्यकार लक्ष्मी बराल र सूर्यप्रकाश कँडेलले वक्ताको रूपमा सहभागिता जनाउनुभएको थियो ।
कँडेलले उपन्यासमा पात्रविन्यास सशक्त रहेको बताउँदै, परिवेशको पक्ष भने केही कमजोर देखिएको टिप्पणी गर्नुभयो । उपन्यासले आध्यात्मिक अनुभूति दिने तर स्थान र समयको स्पष्टता कम रहेको तर्क प्रस्तुत गर्नुभयो ।
बरालले कृतिमा महिला पात्रहरूलाई न्याय दिइएको तर पुरुष पात्रहरू अलि ओझेलमा परेको धारणा राख्नुभयो।लेखक तिमल्सिनाले उपन्यासमा बाल्यकालका अनुभूतिहरू, मिथक र कल्पना मिसिएका ऐतिहासिक संवेदनाहरू समावेश गरिएको बताउनुभयो। उहाँले ‘धीमहि’लाई आख्यानिक कल्पनाको अभ्यास भएको स्पष्ट पार्नुभयो ।
कार्यक्रमको समापनमा न्यायाधीशको भूमिकामा रहनुभएको एलबी क्षेत्रीले उपन्यासमा दीपेन्द्र पात्रको आत्महत्याको कारण खुलाइएको नदेखिएको, तर सुयोग र दीपेन्द्र मुख्य स्तम्भ पात्र भएको विश्लेषण गर्नुभयो। ‘धीमहि’ कृति ध्यान र समर्पणमा टुंगिएको, तर लेखनमा केही कमजोरीहरू पनि देखिएको उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा साहित्य अनुरागी र पाठकको बाक्लो उपस्थिति रहेको आयोजकले जनाएको छ । विमर्शले लेखक र पाठकबीचको अन्तर्सम्बन्ध बलियो बनाउने अभ्यासको नमूना प्रस्तुत गरेको थियो ।