• २०८२ आश्विन ७, मंगलवार

मधुपर्क सम्मान २०८२ भव्यताका साथ सम्पन्न

काठमाडौँ ।

मधुपर्कको वार्षिकोत्सव तथा मधुपर्क सम्मान २०८२ भव्यताका साथ सम्पन्न गरिएको छ । अनुपम फुडल्याण्ड बत्तिसपुतलीमा आयोजित कार्यक्रममा मधुपर्कको ५८ औँ वार्षिकोत्सव तथा मधुपर्क साहित्य सम्मान २०८२ बाट पद्यतर्फ कवि ज्ञान उदास, गद्यतर्फ आख्यानकार ध्रुव सापकोटा तथा खुला प्रतिभातर्फ आख्यानकार पद्मावती सिंह पुरस्कृत एवम् सम्मानित गरिएको छ  । पुरस्कारको राशि जनही नगद रू पचास हजार रहेको छ ।

मधुपर्कका सम्पादक त्रिभुवनचन्द्र वाग्लेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिका रूपमा डा. राजेन्द्र विमल रहेका थिए । अन्य विशिष्ट व्यक्तित्वहरूमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, पुरस्कार एवम् सम्मान छनौट समितिका संयोजक कृष्ण गौतम, गोरखापत्रका सम्पादक जुनारबाबु बस्नेत तथा बन्दीपुरका सामाजिक अभियन्ता नमस्तेलाल श्रेष्ठ समेतको मन्चमा उपस्थिति रहेको थियो।

साहित्यिक सहोदरहरूलाई सम्मान गर्न पाएकोमा आफै सम्मानित भएको महसुस गरेको बताउँदै प्रमुख अतिथि डा. विमलले मधुपर्कसँगको आफ्नो सम्बन्ध आमा छोराको जस्तै रहेको प्रष्ट्याए । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले मधुपर्क नेपाली साहित्यको पाठशाला भएकोले गौरवपूर्ण इतिहास बोकेको मधुपर्कमा रचना छापिएपछि साहित्यकार मानिने चलन अहिलेसम्म कायम रहेको बताए ।

आफूले जिम्मेवारी सम्हालेपछिको यो चौथो वार्षिकोत्सव भएको र आगामी दिनमा मधुपर्कलाई डिजिटलमा लगेर सबैको पहुँचमा पुर्याउने तयारी भइरहेको उल्लेख गर्दै मधुपर्कको पृष्ठ पनि थपिने सुवेदीले बताए । पुरस्कार एवम् सम्मान समितिका संयोजक कृष्ण गौतमले छनौट प्रकृयाबारे बोल्दै शुभकामना मन्तव्य पनि राखेका थिए ।

आफ्नो स्वागत मन्तव्यमा सम्पादक त्रिभुवनचन्द्र वाग्लेले साहित्यकारहरूकै मायाले गर्दा मधुपर्कको अस्तित्व रहेको हुँदा साहित्यकारहरूको सम्मान गर्दा मधुपर्कको नै सम्मान भएको बताए । कार्यक्रममा सम्मानित व्यक्तित्वहरू ध्रुव सापकोटा, ज्ञान उदास तथा पद्मावती सिंहले पनि आ–आफ्ना मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण तथा सञ्चालन मधुपर्कका सहसम्पादक लक्ष्मी खतिवडाले गरेकी थिइन् ।