• २०८१ माघ १ मङ्गलबार

प्रवासी नेपालीमा आफ्नो भाषाप्रतिको उदासीनता 

  विष्णु पगेनी

विष्णु पगेनी

नेपाली भाषा किन चाहियो र हाम्रा छोराछोरीलाई ? अब नेपाल फर्केर जाने होइनन् क्यारे ? यदाकदा नेपाली भाषी नेपालीहरूमा सुनिने वाक्यहरू हुन् यी । ठीकै छ नि, नेपाली नजाने नि अङ्ग्रेजीमा अव्बल छ क्यारे मेरो छोरो÷छोरी । यस्ता कुरा बढो गर्वका साथ सुनाउछन् अभिभावकहरू नेपाली समारोहहरूमा । समय, परिस्थिति,  अनुभव, घटना–परिघटना आदिले आफ्ना भाषा, संस्कृति र संस्कारको आवश्यकताको आभास अझ बढी हुँदोरहेछ । विश्वका अन्य देशहरूबाट विश्वको ठूला देश भनिएका क्यानडा, अस्ट्रेलिया, अमेरिका तथा अन्य देशहरू छिरेका नागरिकहरूले आफ्नो भाषा र संस्कृतिप्रति देखाएको उदासी देख्दा लाग्छ हामी नेपालीहरू आफ्ना भाषा, संस्कृति र रीतिरिवाजको उत्थानमा कतै चुकेका त छैनौँ ? अथवा हामीले यसको आवश्यकतालाई बुझ्न नसकेका त होइनौँ ?  हाम्रा पुर्खाहरूको भाषा, संस्कृति र परम्पराको हामीलाई यति धेरै माया छ । के हाम्रा छोराछोरी अनि नातिनातिनाले पनि यसलाई यति नै माया गर्लान् त ? के विदेशमा रहेका हामी नेपालीका अर्को पुस्ताले हाम्रो भाषा र संस्कृति अवलम्बन गर्ला ? वा हाम्रो पुस्तापछि यो सबै हराएर जाला ? मेरा मनमा सदा पिरोलिरहने प्रश्नहरू हुन् यी । मलाई लाग्छ मेरो मात्र होइन, तपाईं–हामीजस्ता विदेशिएका लाखौँ नेपालीहरूको मनमा उब्जिने प्रश्न हुन् यी । यो निकै सोचनीय अनि गहन प्रश्न हो । अझ त्यसमाथि तलका यी दुई घटनाले मलाई नेपाली भाषा र संस्कृतिको विषयमा अझ बढी सोच्न वाध्य तुल्याएको छ ।
केही समय पहिले एउटा नेपाली साथीहरूले सानो भोजको आयोजना गर्नुभएको थियो आफ्नै घरमा । म त्यहाँ पुग्दा कार्यक्रम सुरु भइसकेको रहेछ । सबै जना आ–आफ्नै धुनमा व्यस्त देखिनुहुन्थ्यो । पुरुषवर्ग चर्काचर्की स्वरमा नेपाली राजनैतिक र जल्दाबल्दा घटनामाथि बहस गर्दैथिए भने महिलावर्ग बजारमा सस्तो आएका फेसनका सामनहरूको विषयमा छलफल गर्न व्यस्त थिए । एकजना आमा ती महिलाहरूकै बीचमा केही बुझेको हो कि नबुझेको शैलीमा टाउको हल्लाएर बसिरहनुभएको थियो । ती महिलावर्ग बोल्न त नेपालीमै बोलिरहेका थिए  तर आधा अङ्ग्रेजी र आधा नेपाली मिसाएर ।
आमाको अवस्था हेर्दा लाग्दथ्यो– ‘नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छा बाउको अनुहार’ भनेजस्तै । उठेर कतै जान पनि सक्नु हुन्थेन, बसूँ  भने पनि उनीहरूका कुरा बुझ्नै गाह्रो ।  कोठामा गीत पनि बजिरहेको र मानिसहरूको चर्का आवाजले कोठा अझ कोलाहलपूर्ण भएको  थियो । महिलावर्गसँग मेरा पनि अनौपचारिक कुराकानी भए । हल्का नास्ता खाइवरी बस्ने सोफा भरिभराउ भएकाले  परतिरको सोफामा बसिरहेकी थिएँ, उनै आमा टुप्लुक मेरोनजिकै आएर बस्नुभयो ।   ‘नानी त ढिलो आउनुभयो त भोजमा ?’ ‘अघि सात बजेसम्म काम थियो आमा त्यो भएर अलि ढिला भयो ।’ मैले नै सोधेँ– ‘अनि कस्तो लागिरहेछ त आमा विदेश ?’ ‘ठीकै भन्नुपर्यो नानी !’ अलि निराशजनक भावमा जवाफ आयो आमाको । ‘किन ठीकै भन्नुभएको आमा ?  राम्रो छैन र ?’  ‘खोइ राम्रो माने राम्रै होला नि नानी ।’ ‘अनि, साच्चै ! कति भयो रे आमा यता आउनुभएको ?’ मैले प्रसङ्ग मोड्दै प्रश्न गरेँ । ‘पाँच महिना भयो नानी ।’ सोचेभन्दा अलि छिट्टै आमाको उत्तर आइहाल्यो । ‘म त चाँडै नै फर्किन पाए हुन्थ्यो नानी ।’ फेरि थप्दै बोल्नुभयो आमा । साउतीमार्दै आमा बताउँदै हुनुहुन्थ्यो– ‘छोरो किन फर्कने अहिल्यै भन्छ नानी तर आफूलाई एक दिन पनि यहाँ बस्न मन छैन । साह्रै शून्य लाग्छ नानी यहाँ त !’ आमा अनवरत बोलिरहनुभएको थियो, म सुनिरहेकी थिएँ । ‘छन त सबै कुराको सुबिदा छ नानी यहाँ । नुहाउनलाई तातो पानी, जाडोमा हिटर, गर्मीमा एसी, चिल्ला गाडीमा छोराबुहारीले जहाँ भन्यो त्यहीँ लान्छन् ।’
‘खानलाई पनि गाह्रो छैन । जे भन्यो त्यही एकैछिनमा तयार हुने । माछा, मासु, जुस, पिज्जा, मम, चाउमिन केके हुन् केके ।’ ओढिरहेको पछ्यौरा मिलाउँदै, कुरा थप्दै हुनुहुन्थ्यो आमा– ‘तर के गर्नु नानी ! यहाँ त दिन कटाउनै गाह्रो । एक दिन पनि एक हप्ताजस्तो लाग्छ । छोराबुहारी काममा गइहाल्छ । आफू झ्यालको सिसाबाट बाहिर हेर्दै बस्यो, दिनै जाँदैन ।’ मैले बीच्चैमा सोधिहालेँ– ‘हजुरका त नातिनातिना पनि त छन् नि, होइन र आमा ? नातिनातिनासँग अलि भुल्नु भो होला नि ?’ ‘केको नातिनातिनासँग भुल्नु नि नानी ! उनीहरू त मेरो नजिकै आउँदैनन् । उनीहरू त अङ्ग्रेजीमै कुरा गर्छन्, बाआमासँग पनि । दाजुबहिनी पनि अङ्ग्रेजीमै बोल्छन् । मैले कहाँ बुझ्नु नि तिनेरका कुरा ? म बैठक कोठामा छु भने त त्यो कोठामै आउँदैनन् नानी तिनेरु त !’ यति भन्दैगर्दा आमाका आँखाका आँसु प्रस्टै बाहिर देखिन्थे तर आमा सकभर आफ्नो आँसु लुकाउने प्रयासमा हुनुहुन्थ्यो । किन हो कुन्नि आज आमा आफ्ना सम्पूर्ण व्यथा पोख्दै हुनुहुन्थ्यो । सायद उहाँलाई लागेको थियो त्यो कोलहालमा उहाँका छोरा बुहारीले उहाँका कुरा सुनेका थिएनन् । लाग्थ्यो आमा आज मनका सारा पीडा पखाली मन हल्का पार्न चाहनुहुन्थ्यो । आमा अनवरत बोलिरहनुभएको थियो । हामीलाई नि मन हुँदो हो नि नानी, आफ्ना नातिनातिनालाई सुमसुम्याउन, गफ गर्दै हात समाउँदै डुल्न जान, मीठामीठा  परिकार पकाएर खान दिन, तर नानी यी सब सपना मात्रै भए । के गर्ने ? आफ्नै नातिनातिना पनि पराईजस्ता भए । बरु हाम्रा गाँउघरतिर छिमेकका नातिनातिना हजुरआमा भनेर मीठो गरी बोलाउँछन् ।
सन्चोबिसन्चो सोध्छन् । केही पकाएर दियो भने मीठो मानी खान्छन् ।’
बोल्दाबोल्दै आमाका आँखाबाट बरबरी आँसु खसे आमाले पत्तै नपाउने गरी । ‘कति रहर थियो नातिनातिना भेट्ने, मीठा गफ गर्ने । नातिनातिना त यहीँका विदेशीजस्तै भएछन् नानी । तिनलाई त हाम्रो भाषा, संस्कृति केही पनि सिकाएनछन् छोराबुहारीले । अस्ति पूर्णिमामा नातिनीलाई टीका लागाइदिएको रिसाउँदै उत्तिखेरै धारामा गएर पखाली । टीका भनेको नि थाहा छैन, चाडबाड भनेको पनि थाहा छैन । केही मतलब छैन नेपाली चाडबाडको उनीहरूलाई नानी । बरु त्यो हलोइन हो कि के भन्दा रहेछन् नि नानी ! तिहाराँ देउसी खेलेजस्तै घरघराँ चकलेट उठाउन जाने, त्यो आउन लाग्यो भनेर खुसी भा’छन् केटाकेटी भन्थ्यो छोराले ।’ आमा बोल्दै हुनुहुन्थ्यो, मेरो आँखा घडीमा पुग्यो । बेलुकाको एघार बजिसकेको रहेछ । पुरुषवर्ग र महिलावर्गको उठ्ने छाँटकाँट थिएन । आफ्नो भोलिपल्ट पनि बिहानै काम थियो । घरबेटी साथीलाई आफू भोलि सबेरै काममा जानुपर्ने कुरा बताएँ अनि बेलुकाको खान खाइवरी आमासँग बिदा मागेर घर फर्किएँ । घर आएपछि धेरैबेर निदाउन सकिनँ आमाको अनुहार अनि उहाँका पीडाभित्र लुकेका तीतो यथार्थ दिमागमा नाचिरह्यो ।
यसैगरी अर्को एउटा घटना पनि उल्लेख गर्न सान्दर्भिक सम्झे यहाँ । अलि समय पहिले काममा बिदा भएकाले फुर्सदिलो दिन थियो । घरनजिकैको पार्कको कुर्सीमा यतिकै बसिरहेकी थिएँ– ‘यता आऊ नानी लडिन्छ !’ कतैबाट आएको नेपाली आवाज कानमा ठोक्किन पुग्यो ।  झट्ट फर्केर हेरिहालेँ आवाज आएतिर ।
रातो ब्लाउज, रातो साडी लगाएकी अन्दाजी ६५–७० वर्षकी बूढीआमाले एउटा सानी नानीलाई बोलाइरहनुभएको रहेछ । उहाँका नजिकै नेपाली दौरा, सुरुवाल र  ढाकाटोपीमा सजिएका आन्दाजी ७५–८० वर्षका वृद्ध बुबा पनि अर्की नानीलाई पिङमा मच्चाइदिइरहनुभएको थियो ।  उमेरको हिसाबकिताब लगाउँदा सजिलै भन्न सकिन्थ्यो, हजुरबा–नातिनीको सम्बन्ध । हजुरबुवाचाहिँ ‘पुग्यो अब झर’ भन्दै हुनुहुन्थ्यो  तर नातिनीचाहिँ‘ नाइँ हजुरबुवा म अझै खेल्छु’ भन्दैथिइन् । हजुरबुवा नातिनीको त्यो कुराकानी रमाइलो मान्दै म परबाट हेर्दैथिएँ । उनीहरू एकअर्कामा निकै खुसी देखिन्थे । यस्तो दृश्य  नदेखेको पनि धेरै भइसकेको थियो मेरा लागि । विरानो  सहरमा नेपाली बोलेको सुन्नपाउनु पनि हाम्रा लागि ठूलै कुरा हुनेगर्छ । अघिदेखि मलाई नियालिरहेकी बूढीआमाले पत्तो पाउनुभयो कि,  किन हो झ्याट्टै सोधिहाल्नुभयो– ‘नानी तपाईं नेपाली हो ? तुरुन्तै जवाफ दिइहालेँ– ‘हो आमा ! कति भयो बुवा यहाँ आउनुभएको ?’ मतिर हेरिरहेका बुवालाइ सोधेँ । ‘चार महिना भयो नानी’ बुबाका सहज जवाफ आए । ‘अनि अब कहिले फर्कंदै हुनुहुन्छ त नेपाल ?’ ‘दुई महिनापछि नानी !’ उता नातिनीसँग खेलिरहेकी हजुरआमाबाट जवाफ आयो यसपालि भने । कुराकानीकै क्रममा थाहा भयो– छोराबुहारी दुवैको काम भएको र आज शुक्रबार भए पनि नातिनीहरूको विद्यालयमा पीडी डे (प्रोफेसनल एक्टिभिटी डे) परेर बिदा भएकाले नातिनीहरू लिएर उहाँहरू पार्क आउनुभएको रहेछ । ‘हजुरका नातिनीहरू त प्रस्टै नेपाली बुझ्दा र बोल्दा रहेछन् त आमा !’ ‘यिनीहरूले त बोल्छन् बा, त्यसैले त दिन काट्न सजिलो भा’ छ नि ।’ मख्ख परेको भावमा आमाको उत्तर आयो– ‘यिनीहरूले गर्दा नै चार महिना पनि कसरी वित्यो पत्तै भएन बा ! अझ यो सानी नातिनी त बेलुका पनि मसँगै सुत्छे । साह्रै चाख गर्छन् यी नातिनीहरूले नानी । दुई महिनापछि कसरी छोडेर जाने हो ? सम्झिँदा नि पेट पोल्छ मेरो त ।’ यतिभन्दै गर्दा एकछिनअघिसम्मको आमाको त्यो हँसिलो अनुहारमा कताकता बादल मडारिएजस्तो देखिन्थ्यो । यस्तै धेरै कुराकानी भयो उँहाहरूसँग । साँझ परिसकेको थियो । उहाँहरूसँग बिदा मागेर म घरतिर हान्निएँ ।
यी बूढा बा, आमा र अलि पहिला भेटिएकी ती बूढीआमामा धेरै कुराको फरक पाएँ मैले ।
यी दुई घटना त केवल उदारहण मात्र हुन् । यस्ता नेपाली आमा–बुबा विदेशी भूमिमा थुप्रै देख्न र भेट्न पाइन्छ आजभोलि । यी सबै देख्दा मनभित्र थुप्रै प्रश्नहरूले डेरा जमाउन पुग्छन् । के बुवाआमालाई विदेशमा घुम्न बोलाउँदैमा हाम्रो कर्तव्य पूरा भयो त ? हामीले बुवाआमा यहाँ आएर कति खुसी हुनुभयो भन्ने कुरालाई उत्तिकै ध्यान दिनु जरूरी छैन र ? अब हामी विदेशमा बसेर बुवाआमालाई घुम्न बोलाउने प्रत्येकले सोच्नुपर्ने बेला भएको छैन र ? आफ्ना सन्तानले नेपाली भाषा जानेमा घुम्न आउनुभएका अभिभावकहरूलाई कति राम्रो वातावरण र रमाइलो हुँदोरहेछ भन्ने कुरालाई माथिका उदाहरणहरूले प्रस्ट पारिसकेका छन् ।
त्यसैले आफ्ना सन्तानलाई नेपाली भाषा सिकाउनु र सिक्ने वातावरण बनाउनु आजको अत्यन्त महत्वपूर्ण विषय हो । विदेशमा आएर यो आठ–दस वर्षको अन्तरालमा मैले देखेको अत्यन्तै टड्कारो विषय हो नेपाली भाषा–संकृतिप्रतिको हाम्रो हेलचक्य्राइँ । नेपाली साथीभाइको जमघट होस् या कुनै कार्यक्रम होस् यो विषय अत्यन्त गहनरूपमा उठ्ने गर्छ तर व्यावहारिकरूपमा भने हामी त्यति धेरै अग्रसर छैनाँै कि जस्तो लाग्छ । हाम्री छोरीले कम्तीमा विदेशीसँग बिहे नगरी दिए हुने, वा जे भए पनि बुहारी त नेपाली नै ल्याउन पाए हुने– प्रायःजसो नेपाली साथीभाइबाट सुनिने वाक्य हो यो । जे भए पनि हामीलाई हाम्रा सन्तानले आफ्नो संकृति, रहनसहन, भाषा र संस्कार नभुलिदिए हुन्थ्यो जस्तो लाग्छ । नेपालबाट आमाबुवाको फोन आउँदा नेपालीमा कुरा गरिदेओस् । कोही नेपाली साथीभाइ घरमा आउँदा नमस्ते गरिदेओस् । उहाँहरूसँग एकछिन भए पनि बसेर कुरा गरिदेओस् । हामी सबैको यही इच्छा छ । हामी कसैले पनि आफ्ना छोराछोरी पश्चिमा समाजको  कतिपय नराम्रा र भद्दा संस्कृतिमा हिँडेको देख्न्न चाहदैनौँ ।
नेपाली भाषा र संस्कृतिमा यस्तो शक्ति छ, जसले मानिसलाई अनुशासित र संस्कारित बनाउँछ । विदेशीले जस्तो आफ्ना बाबुआमाको नाम काढेर ‘यो गर, त्यो गर’ भनेर पक्कै अह्राउँदैन । स्वत्रन्त्र जीवन बाँच्न दिने नाममा आफ्ना सन्तानहरूलाई बढी स्वतन्त्रता प्रदान गरी कुलतमा फस्न दिँदैन । म यो मान्न तयार छैन– हामी विदेशमा बस्ने नेपालीहरू यी सम्पूर्ण कुराहरूबाट बेखवर छौँ । यसका लागि केही नेपाली साथीभाइहरूले अत्यन्त राम्रा पहल पनि गर्नुभएको छ । आफ्ना सन्तानलाई कसरी नेपाली भाषा र संस्कृति सिकाउने भन्ने कुरामा उहाँहरू निकै सचेत रहेको पनि पाइन्छ । यस्तै विभिन्न ठाउँहरूमा नेपाली साथीभाइहरूकै पहलमा नेपाली पाठशालाहरू पनि सञ्चालन भएका छन् । नेपाली भाषा र संस्कृतिको उत्थानका लागि वेलावेलामा कार्यक्रमहरू पनि हुँदैआइरहेको कुरालाई हामीले नकार्न मिल्दैन । तर विडम्बना के मान्नुपर्दछ भने यो सङ्ख्या अत्यन्त न्यून छ । हामी अधिकांश विदेशमा बस्ने नेपालीहरू यो कुरामा सजग छैनौँ र हुन् पनि चाहदैनौँ । हामी आफ्ना सन्तानले नेपाली भाषा जानेन मात्र भन्छौँ तर त्यसका लागि उचित वातावरण बनाउदैनौँ । इन्टरनेटमा कुनै खेल खेलेर घन्टौँसम्म बरालिने छोराछोरीलाई आफूसँगै राखेर नेपाली कार्यक्रम देखाउने, गीतसङ्गीत सुनाउने काम गर्न त्यति जाँगर चल्दैन हामीलाई ।  के दसैँ, तिहारजस्ता ठूला चाडपर्वमा एकदिन भए पनि बिदा लिएर आफ्ना सन्तानहरूसँगै बसेर चाडपर्व मनायौँ त हामीले ?  हो, हाम्रो देशमा जस्तो विदेशमा जुनसुकै धर्म र जातजातिका चाडपर्वमा बिदा त पाइँदैन । तर मैले धेरै नेपाली साथीभाइ भेटेकी छु, जो बिदा मिलाउन सम्भव हुदाँहुदै पनि आफूहरू पनि काममा जानुहुन्छ र छोराछोरीलाई पनि विद्यालय पठाउनुहुन्छ– चाहे त्यो दसैँ–तिहारजस्ता ठूला चाडबाड नै किन नहुन् । यस्तो लाग्छ, उहाँहरूलाई त्यसप्रति कुनै सरोकार नै छैन । मेरो प्रश्न छ– तपाईंहरूलाई किन विदेशीका हरेक चाडपर्वलाई त्यति धेरै महत्व दिनुहुन्छ, जति तपाईं आफ्नो चाडपर्वलाई दिन सक्नुभएको छैन ? अनि पिरोलिनुहुन्छ– मेरा सन्तानले नेपाली भाषा र संकृति जानेनन् भनेर ? विदेशमा बसे पनि, नेपालमै भए पनि हामीले अरूको धर्म, संस्कृति अनि रहनसहनलाई सम्मान गर्नुपर्छ । त्यसका विषयमा जान्नु पनि पर्छ तर आफ्नो भाषा, धर्म र संस्कतिको अस्तित्व नै मेटिने गरेर आँखा चिम्लेर लागिपर्नुचाहिँ कत्तिको जायज हो ? महत्वपूर्ण कुरा त के हो भने हामीले यी कुराहरूलाई कहिल्यै पनि गहिरिएर सोचेनौँ । अझ म यो दाबीका साथ भन्नसक्छु अधिकांश विदेशिएका नेपालीहरूले घरमा सन्तानसँग नेपाली भाषा बोल्दैनौँ । हामीले घरमा अङ्ग्रेजी भाषामै कुराकानी गरेपछि हाम्रा सन्तानले कसरी नेपाली भाषा सिक्न सक्छन् ? कतिपय हामीलाई समस्या छ, आफ्ना नानीलाई सानैमा बच्चा–बच्ची हेर्ने ठाउँ (डे–कियर) मा राख्नुपर्ने वाध्यता र उनीहरूको विद्ययालयमा पनि अङ्ग्रेजी माध्यमबाट पढाइ हुनेहुँदा उनीहरू अङ्ग्रेजीमा नै बोल्न सजिलो मान्छन् ।
अर्को कुरा हाम्रा दोस्रो पुस्ताका थुप्रै छोराछोरी विदेशमै जन्मिएका हुन् । यस्ता बालबालिकालाई नेपाली भाषा सिकाउनु चुनौतीपूर्ण नै छ । हो चुनौती छ, यसमा सहमत हुनैपर्छ, तर चुनौती छ भनेर हामीले यसका लागि पहल नै गरेनौँ भने त्यो हाम्रो कमजोरी होइन र ? हामीले जतिसक्दो घरमा अङ्ग्रेजी भाषा बोल्दै नबोलेर उनीहरूलाई नेपाली सिकाउन प्रयास गर्यौं भने त्यति नै छिटो नेपाली भाषा सिक्न सक्दछन् । विशेष गरेर नानीहरूलाई कुनै पनि कुरालाई राम्रोसँग बुझाउनुपर्दा मेरो घरमा पनि म अङ्ग्रेजी नै प्रयोग गर्छु । तर घरको साँझ–बिहानको भाषा भने नेपाली नै हुन्छ । तपाईंहरू केही कुरा छोराछोरीलाई बुझाउनबाहेक सधैँ घरमा नेपाली नै बोलिदिनुहोस् त, तपाईंको बच्चाले नेपाली शब्द धेरैभन्दा धेरै सिक्दछ । जति बढी शब्द सुन्छ, उति उसमा नेपाली शब्द भण्डार भरिँदै जान्छ र बिस्तारै उसले नेपाली भाषा बोल्नसक्ने हुन्छ । भलै खाना खाने वेलैमा किन नहोस्, उनीहरूले अङ्ग्रेजीमा सोधेका जिज्ञासाहरूलाई नेपालीमा उल्था गरेर बताइदिनुहोस् । अनि कम्तीमा आफ्ना श्रीमान्÷श्रीमती आफ्ना बच्चाहरूका अगाडि घरमा नेपालीमा बोलिदिनुहोस् । अझ दिनको केही मिनेट भए पनि आफ्ना सन्तानलाई नेपाली भाषा सिकाउनका लागि छुट्ट्याउनुहोस् त परिणाम अझ राम्रो निस्कनेछ ।
नेपालका विभिन्न चाडपर्व आउँदा त्यसको महत्व र विशेषताबारे आफ्ना छोराछोरीहरूलाई बताइदिनुहोस् । भाषा–संस्कृति हाम्रा सम्पत्ति हुन भन्ने बोध गराइदिनुहोस् । फुर्सद निकालेर नै भए पनि नेपाली हास्य टेलिचलचित्र, नेपाली कार्यक्रमहरू र गीत–सङ्गीत आफ्ना छोराछोरीहरूसँगै बसेर हेरिदिनुहोस् र नाचिदिनूस् । नेपालीहरूले पहल गरेर चलाएका नेपाली विद्यालयहरूमा आफ्ना सन्तान पठाइदिनूस् । त्यस्ता कार्यहरूका लागि अलिकति भए पनि सहयोग गरेर योगदान दिनुहोस् । फुर्सद मिलाएर वेलावेलामा भए पनि आफ्ना छोराछोरी लिएर नजिकैको मन्दिर गइदिनुहोस् ।
जब तपाईंहरूले व्यावहारिकरूपमै यी कामहरू गर्नुहुनेछ, तब तपाईंले थाहा पाउनु हुनेछ कि तपाईंको सन्तानले कसरी भाषा र संस्कृतिलाई कति छिट्टै टपक्कै टिप्नेछ । जब हामी यस विषयलाई व्यावहारिकरूपमा परिवर्तन गर्न प्रयास गर्छौं नि, सम्भव छ दोस्रो पुस्तामा भाषा र संकृतिको विकास गन । वेलैमा हामी यस विषयमा सचेत नहुने हो र हामी अहिलेकै अवस्थामा रहने हो भने मैले दुःखका साथ यो भन्नुपर्छ– बिस्तारै हाम्रो भाषा, धर्म, संकृति र परम्परा हाम्रो पुस्ताभन्दा पछाडि लोप हुँदैजानेछ ।
……………………..
मेरिल्यान्ड, अमेरिका ।