समाचार

विराटनगर ।
साहित्यकार तारानाथ पोखरेलको चौथो कृति ‘विविधावली’ को विराटनगरमा लोकार्पण गरिएको छ । विराट साहित्य संगम विराटनगरमा आयोजित एक कार्यक्रममा कृतिको लोकार्पण गरिएको हो । ८० पृष्ठको यस कृतिमा कविता, मुक्तक, गजल र लघुकथाहरू समेटिएका छन् ।
कार्यक्रममा साहित्यकार बलराम पोखरेल, अधिवक्ता विपुलेन्द्र चक्रवर्ती, अग्रज साहित्यकार खेम नेपाली, साहित्यकार भूषण ढुंगेल, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका महाप्रबन्धक विजयहरि शर्मालगायतले संयुक्त रूपमा ‘विविधावली’को लोकार्पण गर्नुभएको थियो । विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समालोचक हरि कट्टेलले कृतिको समीक्षा प्रस्तुत गर्नुभएको थियो ।
कट्टेलले ‘विविधावली’मा राष्ट्रप्रेम, नारीवादी चेतना, प्रकृति प्रेम, जातीय विभेद, वर्तमान राजनीतिक अवस्था, आर्थिक, धार्मिक र सांस्कृतिक विकृतिलाई समेटिएको बताउनुभयो । उहाँले प्रत्येक सिर्जनामा राष्ट्रप्रेम र प्रकृति प्रेमको सशक्त उपस्थिति रहेको उल्लेख गर्दै संग्रहमा शृंगारिताको उत्कृष्ट प्रयोग भएको समेत बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि तथा अन्य वक्ताहरूले ८५ वर्षको उमेरमा पनि पोखरेलमा देखिएको साहित्य सिर्जनाको युवा जोशको प्रशंसा गर्नुभएको थियो । कवि एवं पत्रकार मीनकुमार नवोदितले यसलाई प्रशंसनीय भनेर उल्लेख गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार रामबाबु दाहाल, भवानीशंकर पोखरेल, गोपाल निर्भीक लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
पोखरेलका यसअघि ‘सितारा’ गजलसंग्रह (२०७१), ‘तिम्रो यादमा’ गजलसंग्रह (२०७६) र ‘खेल रहेछ जिन्दगी’ मुक्तकसंग्रह (२०७९) प्रकाशित भइसकेका छन्। ‘विविधावली’ पोखरेलको साहित्यिक यात्रामा थप एक महत्वपूर्ण कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ ।