लघुकथा

“देशको हरेक कार्यको निर्णय लिने अधिकार जनता स्वयंले पाएका छन् ।” जन नेताले भाषण छाँटे । सभामा गरीबनाथ देखि धन बहादुर सम्मको उपस्थिती थियो ।
जन नेताले जनमत लिएर शासनको वागडोर सम्हाले । केही हप्ता कुर्सीमा बस्ने,उठ्ने , खाने,सुत्ने,भाषण गर्ने,आम्दानी खर्चका श्रोतको खोजी अध्ययन अनुसन्धान र प्रयोग गर्दैमा बित्यो ।
त्यसपछि जनताको सेवा गर्न सभा बोलाए ।
नेताहरुको एकमत – “जनताको घरदैलोमा पुगी समस्याको समाधान गर्ने ” भएकोले कार्यान्वयनकोलागि साधन र श्रोतको कमी देखिन आएकोले पहिलो सुधार स्वरुप नेताको सुबिधामा पाँचसय प्रतिशत बढाउनु पर्ने बाध्यता आईपरेको घोषणा गरियो । माग्नेले अनसन सुरु गरी सकेका थिए । आकस्मिक बैठक बसी निर्णयमा पुगे – “छिमेकमा माग्नेको चाप बढेकोले सो को प्रभाव नपरी छाडेन,अध्यावधि गर्न –
“माग्ने सुधार आयोग गठन गरिएको छ ।”
समस्याहरुको मुलजढनै आर्थिक मन्दी भएको अर्थविद्ले ठोकुवा गरे ।
धन बहादुरको भेला गराईयो ।
निचोढ –“सबै चिजको मूल्य बेलगाम छोडेमा – मुनाफा धेरै हुने उधोग खोलिदै जाने रोजगारमा थप हुने राजस्वमा वृद्धि हुने समष्टिमा आर्थिक विकास तीव्रगतिले अगाडि बढ्ने”
– निस्किएकोले दोश्रो सुधार अन्तरगत हरेक वस्तुको मूल्य जबरजस्ती वृद्धि गरिने घोषणा गरियो । माग्ने, बेरोजगार, कर्मचारी को हड्ताल, जुलुस , जन नेताहरु हरेक भाषणमा भनिरहेका थिए – “दीर्घकालिन सुधार अन्तरगत मात्र दुईवटा निर्णय गरेका छौं । अरु क्रमशः जनताको दृष्टिमा जन नेता हुकुम शमसेर र जन नेताको दृष्टिमा जनता आतंककारीमा परिवर्तन हुनलागेको प्रतीत हुदै थियो ।
चेतन काफ्ले