समाचार

काठमाडौँ ।
गायक घनश्याम खत्रीले ‘आमा’ गीतमा सुमधुर आवाज दिएका छन् । एउटी आमाको दुःखलाई खुशीमा परिणत गर्ने सन्तानको रहर गीतमा प्रस्तुत गरिएको छ। गीतले हरेक नेपाली युवाको रहरलाई टपक्क टिपेको छ ।
तिम्रो पनि मन होला खुशी संसार हेर्न
आमा तिम्रो सक्या छैन फाट्या चोली फेर्न
हे…. मेरी आमा
नरुनु है धर्केर, हाम्रा हाँस्ने दिनहरू आउलान् फर्केर ।
मदन ढकालले लेखेको गीतको दोस्रो अंशले एउटी आमाले सन्तानलाई हँसाउन आफूले हाँस्न बिर्सेको प्रसंग जोडिएको छ । आमा सम्बोधित गीतका यो अंशमा पुग्दा मन चसक्क हुन्छ। गीतमा प्रायः सबै नेपाली आमाको यथार्थता छ । ‘आमा’ गीतमा निराशा र आदर्श मात्र छाटिएको छैन, आशा पनि समेटिएको छ। अँध्यारोपछि अवश्य उज्यालो आउँछ, संघर्षबाट सफलताको मुख देख्न पाइने विश्वास गीतमा छ।
आमा महान हुन् । सन्तानको खुट्टामा धुलो लाग्ला कि भनेर आफू घण्टै धुलो र मैलोमा हिंड्छन् । आमाको महिमा अपरम्पार छ । भगवानको अर्को रूप आमाको यथार्थ गीतमा बडो मार्मिक ढंगले प्रस्तुत गरिएको छ । त्यही आमाको कर्तव्यको भारी छोड्ने दिन नआउँदा सन्तानको पीडा पनि यही गीतमा व्यक्त हुन्छ । गीतको चलदृश्यमा गायक घनश्याम खत्री आफैले अभिनय गरेका छन् ।
गीतको चलदृश्यमा आमाका संघर्षका कथाहरू, सन्तानले देखेका सपना र आशाहरू जोड्दै साहुको ऋण तिर्ने, घर बनाउने र ओत लगाउने सपना बोक्दै परदेश लागेको दृश्यले नेपाली युवाको यथार्थ व्यक्त गरेको छ । अनमोल बस्नेतले संगीत संयोजन गरेको गीतको लय गायक खत्री आफैले सिर्जना गरेका हुन भने मरुभूमि नारायणले खिचेको गीतको चलदृश्यको निर्देशन गीतकार ढकालले गरेका छन् ।
स्रष्टा, गायक तथा गीतकार प्रकाश समीरको अनुसार गायक खत्रीका दशैं र तिहारमा, छैन सोचेझैं (गुल्मेली हुम कर), नाच बरिलै (तीज गीत) पिपलपाते ओठ, जोडी मजुर लगायतका गीत सार्वजनिक भइसकेका छन् भने जोडी मजुर सर्वाधिक चर्चामा समेत रहेको थियो ।