लघुकथा

मोरङ ।
कवि शेरबहादुर खपाङ्गी मगरको कवितासङ्ग्रह ‘तरेलीका पिपिराहरू’ को मोरङको बेलबारीमा लोकार्पण गरिएको छ । बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा आयोजित एक समारोहबीच कृतिको लोकार्पण गरिएको हो ।
कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई प्रमुख अतिथि रहनुभएको थियो भने साहित्यकार तथा अग्रज स्रष्टा हर्कमान तामाङ, जनगायिका मधु गुरुङ, बेलबारी बहुमुखी क्याम्पसका प्रमुख भूपेन्द्रप्रसाद कोइराला, सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष एवम् कवि डा. छवि वैरागी घिमिरे, लेखक तथा साहित्यकार केशु विरही, प्रलेस मोरङका अध्यक्ष यज्ञराज सुवेदी सुसेली लगायतका स्रष्टा र साहित्यप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा धनजीत पराजुली, तिला लेकाली, रेखा सुवेदी, विष्णु भण्डारी, जेबी थुलुङ र नवराज पोखरेल ‘नवशिला’ जस्ता स्रष्टाहरू पनि सहभागी हुनुहुन्थ्यो ।
लोकार्पित कृतिमाथि बेलबारीका अग्रज स्रष्टा एवम् राजनीतिकर्मी इरान राईले आफ्नो मूल्याङ्कन प्रस्तुत गर्नुभएको थियो । उहाँले खपाङ्गीको कवितामा रहेको भावुकता र शिल्पलाई प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा आयोजक संस्थाका उपाध्यक्ष गोविन्द हुक्पा चोङबाङले शुभकामना मन्तव्य राख्नुभएको थियो भने बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहसचिव विमला सुवेदीले गर्नुभएको थियो ।
‘तरेलीका पिपिराहरू’ कवि खपाङ्गीको पहिलो कवितासङ्ग्रह हो । सङ्ग्रहमा समेटिएका कविताहरूले प्रकृति, जीवन र समाजका विभिन्न पक्षहरूलाई कोमलता र मार्मिकताका साथ चित्रण गरेका छन् । साहित्यप्रेमीहरूले यस कृतिलाई उत्साहपूर्वक स्वागत गरेका छन् र आगामी दिनमा पनि यस्ता साहित्यिक कार्यक्रमहरूको आयोजना गर्नुपर्नेमा जोड दिएका छन् ।