• २०८१ भाद्र २५ मङ्गलबार

सापकोटाको “चिसो बाफ” विमोचन

काठमाडौं ।

काठमाडौँको मण्डला नाटकघरमा गोपी सापकोटाको उपन्यास “चिसो बाफ” विमोचन संपन्न भएको छ । कार्यक्रममा प्राज्ञ अमर न्यौपाने, समालोचक  ज्ञानु अधिकारी, पत्रकार दीपक सापकोटा र उपन्यासकार गोपी सापकोटाले संयुक्त रुपमा उक्त उपन्यास विमोचन गरेका थिए । प्रकाशकको तर्फबाट नरेन्द्रकुमार नगरकोटीद्वारा कार्यक्रम संचालन गरिएको थियो । विमोचनका क्रममा अतिथिहरू दीपक सापकोटा, ज्ञानु अधिकारी र अमर न्यौपानेले ‘चिसो बाफ’लाई सरल भाषामा लेखिएको प्रयोगधर्मी उपन्यास भनेर चिनाएका थिए ।

उपन्यासको पहिलो अध्याय पढेर नै मनमस्तिष्क बिथोलिएर केही बेर पढ्न रोकिएको कुरा तीनै जना वक्ताहरूले स्वीकार गरे । ‘चिसो बाफ’मा लाससँग सम्भोग गरिएको प्रसङ्ग भएको कुरा भन्दै प्लास्टिकको रुखको विम्बप्रति पनि वक्ताहरूआकर्षित भए । उपन्यासकार गोपी सापकोटाले नेपालमा लेखिने एकै खालका उपन्यासहरूबाट छुट्टै खालको उपन्यास आफूले लेख्ने प्रयास गरेको र अलिकति फरक केही लेख्छु भनेर ‘चिसो बाफ’ लेखेको हुँ भनेर स्पष्ट पारेका थिए ।

करीब एक घण्टा अवधिको उक्त कार्यक्रममा साहित्यकारहरू पुष्कर लोहनी, सुमन वर्षा, मुरारि सिग्देल, गोपीकृष्ण ढुङ्गाना, किशोर पहाडी, छविरमण सिलवाल, डि आर राई, मधुसुदन घिमिरे आदि सहितका कवि तथा लेखकको उपस्थिति रहेको थियो ।