डा. नवराज केसीको ‘शून्यको मूल्य’ पुस्तक सार्वजनिक गरिएको छ । कर्णालीका आममानिसहरूले भोगेका कुराहरु यसमा चित्रित गरिएको छ । कर्णालीका मानिसले उपचार गराउने क्रममा भोग्नु परेका दुःख र संघर्ष यस पुस्तकमा समेटिएको छ । उक्त पुस्तक लेख्न ५ देखि ७ वर्ष लागेको बताउने डा. केसीले यस पुस्तकलाई सिर्जनात्मक गैरआख्यान भन्ने गरेका छन् । सुर्खेतमा जन्मिएका डा. केसीले कर्णालीमा चिकित्सकको रुपमा रहँदा बिरामीहरूसँगको संवादपछि पुस्तक लेखनको प्रेरणा पाएको प्रतिक्रिया दिएका छन् ।
अभावका बाबजुत बिरामीहरूले त्यसबाट उन्मुक्ति पाउन गरेका संघर्ष र साहसका कथा यस पुस्तकमा समेटिएको छ । डा. केसीका अनुसार बिरामीहरूका समस्या सुनेर सुरुमा केही छोटा कथा लेखेको तर पर्याप्त नभएपछि फेरि खोजी गरेर पुस्तक तयार पारेका हुन् ।
सुर्खेतस्थित प्रादेशिक अस्पतालमा करिब आठ वर्ष काम गरेका केसीले ‘शून्यको मूल्य’मा बिरामीहरुले जीवनयापनको क्रममा गरेका संघर्ष सिर्जनात्मक रुपमा उतारेका छन् ।