• २०८२ आश्विन २८, मंगलवार

‘तेञ्जिङ–हिलारी’ पुरस्कार ‘शेर्पा’का लेखकद्वय प्रदीप बस्याल र अंकित बाबु अधिकारीलाई

काठमाडौँ ।

गैरआख्यान पुस्तक ‘शेर्पा’ का लेखकद्वय प्रदीप बस्याल र अंकित बाबु अधिकारीले तीन विधाका तेञ्जिङ- हिलारी पुरस्कारमध्ये ‘खोज तथा अनुसन्धान’विधाबाट सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा बिहीबार नेपाल सरकारबाट उनीहरु सम्मानित भएका हुन् ।

‘खोज तथा उद्धार’का लागि संयुक्त रूपमै इटालीका हेलिकप्टर पाइलट क्याप्टेन माउरिजियो फोलिनी र लङ लाइन उद्धारक लाक्पा नुर्बु शेर्पालाई र संसारका १४ अग्ला हिमाल आरोहण गर्ने निमा रिन्जी शेर्पाले‘ कीर्तिमानी आरोही’ विधामा यो पुरस्कार प्राप्त गरे । ७२औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका दिन नेपाल सरकारले प्रदान गर्ने पर्वतारोहण क्षेत्रको सर्वोच्च सम्मान ‘अन्तर्राष्ट्रिय सगरमाथा’ पुरस्कार भने बिनाअक्सिजन संसारका सबै १४ अग्ला हिमाल आरोहण गर्ने पहिलो आरोही मिङ्माजीले पाए ।

सगरमाथालाई केन्द्रमा राखेर बस्याल र अधिकारीले लेखेको पुस्तकलाई तीन वर्षअघि बेलायतको ह्याचेटरअक्टोपस बुक्सले प्रकाशन गरेको हो । यस पुस्तकमा सर्वोच्च शिखरको चुचुरोसम्म पुग्ने र र्पुयाउने क्रममा हुने साहसिक कर्म र जीवनयापनको कथा समेटिको छ ।

यसमा समावेश कथाले पाठकलाई शेर्पा संस्कृतिसँग परिचित मात्र गराउँदैन, जीवन र मृत्युको धारमा उनीहरूको अस्तित्वबारे समेत बताउने प्रकाशकले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । इटलियन र चेक भाषामा समेत प्रकाशित भएको यो पुस्तक सन् २०२५ मा नेपालीमा सार्वजनिक हुँदै छ ।