• २०८२ भाद्र २८, शनिबार

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘कविता उत्सव – २०८२’ सम्पन्न

काठमाडौँ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानले संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा १८ औँ राष्ट्रिय गणतन्त्र दिवसका सन्दर्भमा आयोजित ‘कविता उत्सव–२०८२ को पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो । प्रमुख अतिथि पाण्डेले देशमा लोकतन्त्र र गणतन्त्र ल्याउन कविका कविता र साहित्यकारका सिर्जनाले जनतालाई जागृत गराएको इतिहास छ । लोकतन्त्र र गणतन्त्रको विकल्पमा अर्को व्यवस्थाको खोजी गर्नु भनेको गोलचक्रमा फस्नु हो । संवैधानिक वा सक्रिय कुनै प्रकारको राजा आउने सम्भावना छैन । यस्तो चेष्टा गरेर जनताको अधिकार हनन गर्न खोज्नु आफैँ गोलचक्रमा फस्नु हो र राजा ल्याउने भन्ने कुराले कसैको हित नहुने धारणा मन्त्री पाण्डेले व्यक्त गर्नुभएको थियो । गणतन्त्रमा जे जे समस्या र जटिलता छन् तिनको परिष्कार गर्दै अघि बढ्नका निम्ति कविताको माध्यमद्वारा जनमत सिर्जना गर्न लागि पर्नुपर्ने समय आएको उहाँको धारणा थियो ।

गणतन्त्रमा केही भएन भन्ने भाष्य निर्माण हुनु चिन्ताजनक रहेकाले प्राज्ञिक र बौद्धिक तहतप्काले त्यस मिथ्यालाई चिर्नुपर्ने बताउनु भएको थियो । कवि मनले अपराध नभइकन निष्ठा र इमानको बाटो रोज्ने गर्छ । कवि हृदय भएका मानिसले संवेदनशीलता बुझ्ने भएकाले लोकतन्त्र र गणतन्त्रको समृद्ध समाज निर्माणका लागि अपरिहार्य रहेको मन्त्री पाण्डेको भनाइ थियो । साथै बाचित कविताहरूले गणतन्त्रको मर्म र मूल्यबोध गरेको बताउँदै संसदमा अभौतिक सम्पदाको विधेयक प्रस्तुत भएको बताउनु भएको थियो । उहाँले संस्कृति, पर्यटन र हवाई ऐन र नीति निर्माण गर्न आफू लागि परेको बताउनुभएको थियो । कार्यक्रमका विशेष अतिथि तथा भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले मनतव्यको सट्टा भोजपुरी भाषाको गीत ‘दिलसे सोच’ प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमका सभाध्यक्ष तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले धन्यवादसहित समापन मनतव्यका क्रममा पहिलोपटक दर्शन एवम् दोस्रोचोटि दुखान्त र प्रहसनको रूपमा इतिहास दोहोरिने सम्भावना भएपनि टिकाउनु नहुने बताउनुभएको थियो । उहाँले गणतन्त्र भएकाले नै हामीले बोल्न पाएका छौँ । गणतन्त्रविरुद्ध सडकबाट उठेको आवाज विल्कुलै युग सापेक्षित छैन । अहिले संसारभरि गणतन्त्रको लहर चलिरहेको बताउँदै ‘कविता उत्सव’मा वाचित कविताको लेखन, भाषा र शैली जे भएपनि आजको गणतान्त्रिक चेतलाई आत्मसात् गरेको बताउनु भएको थियो ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (काव्य विभाग) प्रमुख बाबा बस्नेतले आजका कविहरूले परिवर्तन र अग्रगमनलाई आत्मसात् गर्दै कविता रच्नुले गणतन्त्रको विकल्प अरू कुनै व्यवस्था नभएको बताउनु भएको थियो प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा. कौशिला रिसालले उद्घोषणका क्रममा विभिन्न जनआन्दोलन र जनयुद्धको जगमा जनताको सङ्घर्षबाट प्राप्त भएकाले गणतन्त्रका पक्षमा कवि र लेखकहरू उभिनु भनेको महत्त्वपूर्ण कुरा रहेको बताउनुभएको थियो ।

‘गणतान्त्रिक कविता उत्सव’–२०८२मा प्रज्ञा–प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य तथा प्रसिद्ध कवि श्रवण मुकारुङलगायत १९ जना कविले आ–आफ्नो मातृभाषामा कविता वाचन गरेका थिए । जसमध्ये कविहरू प्रोल्लास सिन्धुलीय, केशव सिलवाल, शकुन्तला जोशी, मिश्रामाया गुरुङ, विना थिङ, केवल बिनावी, रिमा के.सी, अनिल श्रेष्ठ र सुरज रानाले नेपाली भाषामा कविता वाचन गरेका थिए । यसैगरी मैथिलीभाषामा रुपा झा, नेपाल भाषामा रजनिमिला महर्जन, खसभाषामा ओम रिजाल, थारुभाषामा भूमिका थारु, डोट्याली भाषामा कर्णदयाल सोराडी, तामाङभाषामा मुक्तान थेबा, थुलुङ भाषामा महेन्द्र थुलुङ राई र लिम्बूभाषामा भीमा खजुमले गणतान्त्रिक चेतनाले ओतप्रोत भएका कविता वाचन गर्नुभएको थियो ।

संयुक्त जनआन्दोलन २०६२ र ६३ को जगमा भएको निर्वाचनद्वारा गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेष्ठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरेको थियो । यसपछि नेपालमा गणतन्त्र दिवस मनाउन थालिएको हो । यसै दिनदेखि २३८ वर्ष लामो पारिवारिक शाह वंशीय राजतन्त्रको अन्त्य भएको थियो । यस व्यवस्था प्राप्तिका लागि लेखक, साहित्यकार, कलाकारसहित हजारौँ जनताले बलिदान गरेका थिए ।