• २०८२ आश्विन ६, सोमबार

कविडाँडा साहित्य समाज वार्षिकोत्सवमा तीन साहित्यकार पुरस्कृत तथा सम्मानित

चितवन ।

कविडाँडा साहित्य समाज चितवनले आफ्नो २२ औँ वार्षिकोत्सवको अवसरमा तीन जना साहित्यकारलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ । शनिबार कविडाँडाको कार्यालय कैलासनगरमा आयोजित एक समारोहमा कवि गोविन्दराज विनोदी, कवि लकास पौडेल र गजलकार अविरत सुमन (सुमन घिमिरे)लाई सम्मानित गरिएको हो ।

कविडाँडा कृति पुरस्कार- २०८१ बाट कवि विनोदीको अलङ्कार इन्द्रेनी काव्यलाई सम्मान गरियो भने कविडाँडा देव- खिना स्मृति पुरस्कार- २०८२ बाट कवि पौडेल र कविडाँडा वाङ्मयी युवा प्रतिभा पुरस्कार- २०८२ बाट गजलकार सुमन सम्मानित हुनुभएको हो । तीनै पुरस्कारहरू जनही १५ हजार १ सय ६० रुपैयाँ राशिका रहेका छन् जुन दोसल्ला, सम्मानपत्र र नगद सहित प्रदान गरिएको थियो । कार्यक्रममा एलबी क्षेत्रीले सभापतित्व गर्नुभएको थियो भने रामबाबु घिमिरे र लालमीना फाउन्डेसनकी संस्थापक मीना लामिछाने प्रमुख अतिथि रहनुभएको थियो । उहाँहरूले नै सम्मानित व्यक्तित्वहरूलाई सम्मान प्रदान गर्नुभएको थियो ।

समारोहमा कवि सुरेन्द्र अस्तफलले सम्मानित स्रष्टाहरूको परिचय गराउँदै उहाँहरूको साहित्यिक योगदानको चर्चा गर्नुभएको थियो भने कवि भूपिनले कविताको महत्त्व र सान्दर्भिकता माथि विद्वत् प्रवचन प्रस्तुत गर्नुभएको थियो । चितवन साहित्य परिषद्का अध्यक्ष जगन्नाथ पण्डित, साहित्य सङ्गम चितवनका अध्यक्ष प्रकाश चापागाईं र कवि एकदेव रिमालले शुभकामना मन्तव्य व्यक्त गर्दै कविता वाचन गर्नुभएको थियो । समाजका उपाध्यक्ष सीताराम कोइरालाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण सचिव लेखराम सापकोटाले गर्नुभएको थियो ।