कविता

काठमाडौँ ।
लिम्बुवान अध्ययन केन्द्रले स्वर्गीय कृष्ण विक्रम नेम्बाङलाई ‘विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार २०८१’ प्रदान गर्ने भएको छ । साथै, केन्द्रले एक करोड रूपैयाँको प्राज्ञिक कोषको घोषणा पनि गर्दैछ। पान्थरका स्व. नेम्बाङको ‘लिम्बू इतिहासः तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्ध’ कृतिलाई एक लाख रूपैयाँ पुरस्कार प्रदान गरिनेछ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँला र कोषदाता विष्णुदत्र् आङ्बुहाङ परिवारका सदस्यहरूले जेठ १० गते शनिबार आयोजित एक समारोहमा स्व। नेम्बाङका परिवारलाई पुरस्कार प्रदान गर्नुहुनेछ । उक्त कृतिमा लेखकले याक्थुङ लिम्बू जातिको इतिहास पहिचान गर्न लिम्बूहरूसँग जोडिने तिब्बती, लेप्चा, कोच, सेन र रायसँगको सम्बन्धलाई उजागर गर्नुभएको छ । वि. सं. १९९८ मा जन्मिएका नेम्बाङको २०८० मङ्सिर ३ गते निधन भएको थियो । यसै समारोहमा लिम्बुवान अध्ययन केन्द्रले ‘विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक कोष’ लाई ५० लाखबाट बढाएर एक करोड र्पुयाउने घोषणा गर्नेछ । यस कोषबाट वर्षेनी दुईजना महिला–पुरुष अध्येतालाई अनुसन्धानवृत्ति, एक अध्येतालाई विद्वतवृत्ति र प्रत्येक दुई–दुई वर्षमा एक प्रकाशित कृतिलाई प्राज्ञिक पुरस्कार प्रदान गरिने विज्ञप्तीमा जनाएको छ ।
लिम्बुवान अध्ययन केन्द्रका अनुसार यो प्राज्ञिक कोषको स्थापनाले याक्थुङ लिम्बु र लिम्बुवानसम्बन्धी अध्ययन अनुसन्धानमा क्रियाशील विद्वानहरूलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। समारोह ललितपुरको १४ तिखेदेवलको सयल बाटिकामा दिउँसो २ बजे सुरु हुनेछ । सञ्चारकर्मी तथा प्राज्ञिक व्यक्तित्वहरूलाई कार्यक्रममा उपस्थित भई यस प्राज्ञिक अभियानलाई सफल बनाउन अनुरोध गरिएको छ । लिम्बुवान अध्ययन केन्द्र किरात याक्थुङ चुम्लुङको एक विषयगत सङ्गठन हो । यसको स्थापना २०७० साल पुस १४ गते भएको थियो । यो अध्ययन केन्द्र एक विशुद्ध प्राज्ञिक संस्था हो । यसले लिम्बुवानका आदिवासी ज्ञान, सीप र इतिहास तथा सांस्कृतिक, सामाजिक, भाषिक, आर्थिक, शैक्षिक एवम् मौखिक परम्परा मुन्धुम लगायतका विविध पक्षहरूमा बहस, अध्ययन, अनुसन्धान र प्रकाशनको कार्य गर्दै आएको छ ।
लिम्बुवान अध्ययन केन्द्रको याक्थुङ लिम्बु र लिम्बुवान सम्बन्धी सबै क्षेत्र र विषयहरूमा सबै पक्ष, व्यक्ति र निकायहरूसँग सहकार्य वा साझेदारीमा अध्ययन, अनुसन्धान र प्रकाशन गर्ने उद्देश्य अनुसार लिम्बुवाननको हाङ्पाङ, ताप्लेजुङ स्थायी थातथलो भई हाल क्यानडामा रहनु भएका विष्णुदत्र् आङ्बुहाङ परिवारको सहकार्यमा वि. सं. २०७३ सालमा अध्ययन केन्द्रको एक विनियमावली बनाई सोही अनुसार रू. ५० लाखको ‘विष्णुत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक कोष’ स्थापना गरिएको थियो ।