• २०८२ भाद्र २९, आईतवार

नेपाल खेलकुद प्रतिष्ठान खोटाङद्वारा कवि कुन्ता शर्मा सम्मानित

नेपाल खेलकुद प्रतिष्ठान खोटाङले ‘दोस्रो बृहत् खोटाङ,हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव –२०८२’ को अवसर पारेर कवि कुन्ता शर्मा र जिल्ला समन्वय समिति खोटाङका पूर्व प्रमुख बबि चाम्लिङलाई सम्मान गरेको छ । खेलकुद प्रतिष्ठानले सुनसरीकी कवि शर्मा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका पूर्व जिसस प्रमुख चाम्लिङलाई जनही ११ हजार १११ नगदसहित सम्मान गरेको हो ।

नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले नेपाली साहित्यको क्षेत्रमा र्पुयाएको योगदानको कदर गर्दै कवि शर्मालाई र पूर्व कार्यक्रम संयोजक भएकाले चाम्लिङलाई सम्मान गरेको बताए । नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले कवि शर्मालाई र सहायक प्रमुख जिल्ला अधिकारी सागर साहले चाम्लिङलाई दोसल्ला ओढाएर ताम्रपत्रसहित सम्मान गरेका हुन् । खोटाङ, दिक्तेलको खोटाङ बहुउद्देश्यीय कभर्डहलमा आयोजित महोत्सवमा कवि तथा कवयत्रीहरूले आ-आफ्नो रचना वाचन गरेका थिए ।

महोत्सव अन्तर्गत गत वैशाख–२७ गते खुला महिलारपुरुष हाफ म्याराथनसहित विभिन्न दौड प्रतियोगिता आयोजना गरिएको थियो । हाफ म्याराथनको दुवै उपाधि विजेता नेपाली सेनाका पूर्णलक्ष्मी न्यौपाने र सञ्जय श्रेष्ठले जनही ७७ हजार ७७७ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र जितेका छन् ।  यस्तै, वैशाख–३० गते ३१ गते भएको राष्ट्रिय बुद्धिचाल र टेबलटेनिस प्रतियोगितामा राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि पूर्वनेपाल च्याम्पियन ललितपुरका बद्रीलाल नेपालीले जितेका थिए। उपाधि विजेता नेपालीले नगद २५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

खुला राष्ट्रिय टेबलटेनिस प्रतियोगिता अन्तरगत सिनियर पुरुषतर्फ एभिएम टेबलटेनिस क्लब ललितपुरका सुजन गदाल प्रथम, जुनियर महिलातर्फ एभिएम टेबलटेनिस क्लब ललितपुरकै साइरा शाक्य र जुनियर पुरुषतर्फ एभिएम टेवलटेनिस क्लब ललितपुरकै जयस्नु महर्जन प्रथम भएका थिए । राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका उपाधि विजेता गदालले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

खेलकुदको माध्यमबाट खोटाङला क्षेत्रमा परिचित गराउन महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सवका लागि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको थियो ।