On the turning of life
विराटनगर ।
खोटाङ सामाजिक सेवा मञ्च, विराटनगरको नियमित साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । भाषा, साहित्य, कला उन्नयन उपसमितिको आयोजनामा सेवा मञ्चको आफ्नै सभा हलमा आयोजित कार्यक्रममा दुई दर्जन भन्दा बढी लेखक तथा कलाकारहरूले आआफ्ना रचनाहरू वाचन गर्नुभएको थियो ।
कार्यक्रममा विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेल प्रमुख अतिथि रहनुभएको थियो । अग्रज स्रष्टाहरू बलराम पोखरेल, गायत्रीप्रसाद चापागाईं, प्रा. डा. हरिहर भण्डारी, सङ्गम अभियान साहित्यिक पत्रिकाका प्रधान सम्पादक रामबाबु दाहाल, मैथिली कवि शिवनारायण सिङ्गल, लेखक तथा अनुसन्धाता केशु विरही, नेपाली लेखक सङ्घ कोसी प्रदेश अध्यक्ष गोकुलप्रसाद अधिकारी लगायतको उपस्थितिले कार्यक्रमलाई थप रौनक थपेको थियो ।
२०५३ सालमा नेपाल प्रज्ञा–प्रतिष्ठानबाट पुरस्कृत कवि गोकुल अधिकारीले आफ्नो विशेष कविता वाचन गर्नुभएको थियो । उहाँले पुरस्कार पाउँदाको अनुभूति सुनाउँदै साहित्य क्षेत्रमा आफ्नो यात्राको बारेमा प्रकाश पार्नुभएको थियो । शम्भु भट्टराई, प्रेमप्रसाद रिजाल, गोविन्द ढुङ्गाना, पुष्पा सायरा, डोमी कामत, लोचनप्रसाद सङ्ग्रौला, चन्द्रकान्त भट्टराई, दिङ्ग्लाली कान्छो, हरिप्रसाद बराल, गोपालप्रसाद भट्टराई, नवराज पोखरेल ‘नवशिला’, अञ्जु अश्रु, शैलेन्द्र घिमिरे, मञ्जु घिमिरे दाहाल, नानुमैया दाहाल, निर्मला कोइराला, उमेश लुइटेल, प्रिन्स प्रमोद ढकाल, जेबी खत्री, जेनिस खत्री, प्रयाग न्यौपाने लगायतका कलाकारहरूले रचना वाचन गरेर कार्यक्रमलाई सफल बनाउनुभएको थियो ।
कवि रोहिणी रसिकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम खोटाङ सामाजिक सेवा मञ्च भाषा, कला, साहित्य उन्नयन उपसमितिका संयोजक बाबुराम पोखरेलको अध्यक्षता र लक्ष्मी रायमाझीको सञ्चालनमा सम्पन्न भएको थियो । संस्थाले विगत चार वर्षदेखि हरेक महिनाको पहिलो शनिवार नियमित रूपमा यस्ता साहित्यिक कार्यक्रम गर्दै आइरहेको छ ।
