• २०८२ कार्तिक १८, मंगलवार

लोकरक ब्यान्ड नेपथ्यको ‘कर्नालीका छाइला’ सार्वजनिक

काठमाडौँ ।

लोकरक ब्यान्ड नेपथ्यले कर्णालीको सुसेली र सुस्केरालाई लामो अन्तरालपछि फेरि श्रोतासमक्ष प्रस्तुत गरेको छ । गीतको सूत्र फेला परेपछि दुई दशकसम्म लगातार त्यस भेगलाई पछ्याउँदै गायक अमृत गुरुङले तयार पारेको सिर्जना अर्थात् ‘कर्नालीका छाइला’ शनिबार राजधानीमा सार्वजनिक गरिएको हो ।

प्रकृतिसँग मिलेर सुदूर जनजीवनले विकास गरेका भाकाहरूलाई आफ्नो आवाज बनाउने ब्यान्डको अभ्यासबाटै जन्मेको यो पछिल्लो गीतमा श्रव्यदृश्य सर्जक भूषण दाहालले तयार पारेको म्युजिक भिडियो छ । गीत भर्खर सार्वजनिक भए पनि नेपथ्यलाई पछ्याउँदै आएका धेरैले यसबारे दुई दशक अगावै जानकारी पाइसकेका थिए । ब्यान्डको गीत खोजी प्रयासमा उभिएको वृत्तचित्र ‘भेँडाको ऊनजस्तो’ मा गायक अमृत र त्यस गीतका सङ्कलक नारायण वाग्लेले यसलाई उतिबेलै गुनगुनाएका थिए । शनिबारको कार्यक्रममा वृत्तचित्रको त्यो दृश्य पनि देखाइएको थियो ।

विशेष गरी सल्यान र आसपासका जिल्लामा प्रचलित लोकधुन ‘टप्पा’ मा उभिएको यस गीतलाई अमृतले त्यसै भेगमा पुगेर तयार पारेका हुन् । पुरानो नेपाली चलचित्र ‘माइतीघर’ मा अटाएको लोकप्रिय गीत ‘काला कुर्तैले छ मैने जागिरै खायाँ’ यसै ‘टप्पा’ धुनमा आधारित छ ।

‘कर्नालीका छाइला’ तयार पार्दा भने अमृतले लोकभाकाको मूललाई समातेर आफ्नै मौलिक शैलीमा विकास गरेका छन् । अमृतका अनुसार ‘भेँडाको ऊनजस्तो’ एल्बममा अटाएको ‘सा कर्णाली’ गीत भेटिएकै बेला यस गीतको मुखडा पनि फेला परेको थियो । ‘सन् २००१ मा डोल्पातिरबाट आएका अङ्गद हमाल र यसका सङ्कलक लक्ष्मीकान्त उपाध्यायको मुखबाट यो गीत पहिलोपटक सुन्ने मौका पाएको थिएँ,’ अमृतले शनिबारको समारोहमा खुलाए, ‘यसबीच सन् २००८ मा एकपटक यस गीतलाई रेकर्ड गरिसके पनि चित्र् बुझेन र बाकसमा थन्क्याइदिएँ ।’

त्यसपछि पनि यसलाई दिमागमा बोकेरै धेरैपटक कर्णाली भेगको यात्रा गरेको र पोहोर सल्यानका केही ग्रामीण साङ्गीतिक बैठकमा सरिक भएपछि यो रूप दिन मानसिक हिसाबले आफू तयार भएको उनले प्रस्ट पारे । अमृतका अनुसार यो गीत सङ्कलन गर्दा स्थानीय जनजिब्रोका लाइनहरू पर्याप्त भेटिएका थिए । ‘टप्पा’ का सीमितताले गर्दा तिनै लाइनलाई बलियो आधारसहित धुनमा समेट्न सबैभन्दा बढी मेहनत गर्नुपरेको थियो ।