• २०८२ आश्विन २७, सोमबार

खण्डकाव्यकार सोमप्रसाद भट्टराईको ‘अतीतदर्पण’ लोकार्पण

‘राइडर्स महफिल’ले कवि सोमप्रसाद भट्टराईको ‘अतीतदर्पण’ खण्डकाव्यको लोकार्पण गरेको छ । सुन्दरहरैंचा उद्योग वाणिज्य सङ्घको सभाहलमा खण्डकाव्यकार भट्टराईको उक्त कृतिको लोकार्पण गरिएको हो । राइडर्स गजल महफिलमा रूपक वनवासी (काठमाडौं), रश्मि असफल (झापा), टीका खड्का राष्ट्रप्रेमी (मोरङ) र सुमन रेग्मी (सुनसरी) को बेजोड प्रस्तुति रहेको थियो ।

महफिलमा प्रस्तुत हुनेले तीन चरणमा ६ गजल सुनाएका थिए । २०७७ सालमा स्थापना भएको राइडर्स महफिलको सातौं शृङ्खलाका रूपमा रहेको गजल महफिलमा रहेको महफिलका संयोजक यादव भट्टराई बताउँछन् । भाषाविद् एवम् वरिष्ठ साहित्यकार पं पुरुषोत्तम भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पूर्व सांसद एवम् वरिष्ठ साहित्यकार हर्कमान तामाङ, भाषाविदत्रय मेदिनीप्रसाद बराल, अमृतप्रसाद आचार्य र मोहनप्रसाद काफ्ले, कवि तथा समीक्षक दीपकप्रसाद न्यौपाने, सुकुना बहुमुखी क्याम्पसका पूर्व प्रमुख प्रेमप्रसाद भट्टराई, सुन्दरहरैंचा कला साहित्य विकास समितिका अध्यक्ष छवि वैरागी घिमिरे, इन्द्रपुर जेसिसका संस्थापक अध्यक्ष कृष्णबाबु ढकाल लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

लोकार्पित कृतिमाथि कवि तथा समीक्षक टीका आत्रेयले समीक्षा प्रस्तुत गरेकी थिइन् । आत्रेयले कवि सोमप्रसाद भट्टराईका रचनामा आफू हुर्किएको भूगोलको इतिहास आएको बताइन् । उनले कवि भट्टराईसँग कलात्मक तरिकाबाट विषयवस्तु प्रस्तुत गर्ने क्षमता रहेको बताइन् । कार्यक्रममा स्रष्टाहरू विवश बलिभद्र कोइराला, केशु विरही, तिला लेकाली, धनजीत पराजुली, शिशिर भट्टराई, नीरज कोइराला, रामप्रसाद खरेल, नवराज पोखरेल ‘नवशिला’, पुरन याक्खा, विनोद विवश घिमिरे, प्रिन्स प्रमोद ढकाल, दीप मङ्ग्राती, दुर्गा खरेल, यादव भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ९७ वर्षीय पं. पुरुषोत्तम भट्टराईलाई सम्मान गरिएको थियो । सुन्दरहरैँचा राइडर्स महफिलका सल्लाहकार चूडामणि घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कवि भरत गुरागाइँ बरबरिकले गरेका थिए ।