• २०८२ आश्विन २७, सोमबार

नुवाकोटमा बागमती प्रदेश स्तरीय प्रज्ञा नारी काव्य सङ्गोष्ठी सम्पन्न

नुवाकोट र जिल्लामा नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजना, नुवाकोट साहित्य प्रतिष्ठान नेपालको सह-आयोजना तथा देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान नुवाकोटको सहयोगमा बागमती प्रदेश स्तरीय प्रज्ञा नारी काव्य सङ्गोष्ठी तथा साहित्य समारोह शनिबार नुवाकोट आदर्श बहुमुखी क्याम्पस, बट्टारमा भव्य रूपमा सम्पन्न भएको छ ।

देशका सातै प्रदेशमा साहित्यिक चेतना विस्तार गर्ने नेपाल प्रज्ञा प्रतिष्ठानको योजना अन्तर्गत बागमती प्रदेशको प्रतिनिधित्वस्वरूप महिला स्रष्टा केन्द्रित यस विशेष कार्यक्रमको यस वर्षको काव्य सङ्गोष्ठी नुवाकोटमा आयोजना गरिएको हो । कार्यक्रमको अध्यक्षता नुवाकोट साहित्य प्रतिष्ठानकी उपाध्यक्ष जानुका दाहालले गर्नुभयो । प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, विशिष्ट अतिथि प्राज्ञ काव्य विभाग प्रमुख बाबा बस्नेत रहनुभएको थियो ।

कार्यक्रममा साहित्यकार तथा नुवाकोट साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष श्रीराम श्रेष्ठ, संविधानसभा सदस्य राज्यलक्ष्मी पाडे श्रेष्ठ, नेका जिल्ला सभापति राजु थापा, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य तारा बहादुर कार्की, लेखक संघकी सल्लाहकार सन्ध्या पहाडी, कान्तिपुर टिभीका पत्रकार मणि लोहनी, गोरखापत्रका तुलसी हरी कोईराला र अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के. सी. अतिथिका रूपमा सहभागी रहनुभएको थियो ।

कार्यक्रममा लीला लुइटेलले “बागमती प्रदेश नारी कविहरू” विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो, जसमा डा. अनुपमा रेग्मी र प्रमीला दाहाल ‘परी’ले टिप्पणी गर्नुभएको हो । कविता वाचन सत्रमा बागमती प्रदेशका १३ जिल्लाबाट प्रतिनिधित्व गर्दै ३० जना महिला कवयित्रीहरूले आफ्ना रचनाहरू प्रस्तुत गर्नुभयो ।

सहभागी स्रष्टाहरूमा लक्ष्मी रुम्बा, भैरवी भुगोल, बिमला दाहाल, रजनी कार्की, सम्झना गौतम, धनमाया राई, तारा तामाङ, एलिसा ढुङ्गाना, उषा तिवारी, डा. शशी थापा पण्डित, दुर्गा किरण अधिकारी, ललिता दोषी, सुशीला खड्का ‘हसिना’, द्वारिका कुँईकेल, पञ्चकुमारी परियार, सुफल थपलिया, जलेश्वरी श्रेष्ठ, बिना थिङ, भगवती बस्नेत, बेन्जु शर्मा, शान्ति रिसाल, पार्वती अधिकारी ‘पारु’, सुष्मा रेग्मी, दीक्षा लामा, आयुसा आचार्य, कल्पना खरेल, इन्दिरा निरौला र शान्ता कटवालले आफ्ना सशक्त कविता प्रस्तुत गर्नुभएको हो ।

कार्यक्रमको सञ्चालन नुवाकोट साहित्य प्रतिष्ठानकी सचिव भगवती खनाल ‘सुनाखरी’ले गर्नुभएको थियो । आयोजक संस्थाहरूका अनुसार यस्ता कार्यक्रमहरूले नारी सृजनशीलता प्रवद्र्धन गर्दै प्रदेश स्तरीय साहित्यिक चेतना विस्तारमा प्रभावशाली योगदान पुर्याउने उदेश्य राखेको जनाएको    छ ।